८ वैशाख २०८१ शनिबार
समाज

बालविवाह रोक्न किशोरीको घरमा हरियो झण्डा

बालविवाह कम गर्न पुर्चौडी नगरपालिका–४ की किशोरी सुनिता भट्टको घरमा गाडिएको झण्डा । तस्बिरः नागरिक

बैतडी– पुर्चौडी नगरपालिका–४, भटनाकी सुनिता भट्टको घरमा हरियो झण्डा गाडिएको छ। बालविवाह रोकथामको लागि नगरपालिकाले सुनिता जस्तै नगरका सबै किशोरीहरुको घरमा हरियो झण्डा गाडेको हो।

२० वर्ष  नपुगेका किशोरी रहेका नगरपालिकाका १० वटै वडाका एक हजार घरमा  हरियो झण्डा गाडेको हो। बालविवाह गर्नु अपराध हो, बिहेवारी २० वर्ष पारी, सानै उमेरमा बिहे गरे बिग्रन्छ घरबारी’ लगायतका चेतनामुलक नारा लेखिएका झण्डा गाडिएका छन्। हरियो झण्डा भएका घरमा २० वर्ष मुनिका किशोरी भएकाले उमेर नपुगी बिहे गर्न नहुने चेतना दिने नगरपालिकाले जनाएको छ।

बालविवाहले जस्तो हानीकरक चलन कम गर्न हरियो झण्डा लगाउने अभियान चलाइएको हो। बालविवाहबाट हुने असरका बारेमा जागरुक गराउन यस्तो तरिका अपनाएको हो। किशोरी भएको घरमा हरियो झण्डामा लेखिएको सन्देश देख्दा जो कोहीलाई पनि बालविवाह नगर्न सचेत गराउने आस गरिएको छ। उमेर नपुग्दै बिहे भएमा शारीरिक मानसिकलगायतका अन्य समस्या आउने सक्ने र बालविवाहले समाजमा पार्ने असरका बारेमा चेतनामुलक क्रियाकलाप गर्न सके बालविवाह न्यूनीकरण हुन सक्ने देखिएको छ।

नगरपालिकाले बालविवाह न्यूनीकरण गर्न विभिन्न अभियान चलाएको छ। नगरपालिकाले किशारीहरु मार्फत् बालविवाह जस्ता हानीकारक चलनबारे सचेतनात्मक क्रियाकलाप सञ्चालन गरेका छन्। बालविवाह मुक्त नगरपालिका बनाउन नगरपालिकाले जनचेतना अभिवृद्धि गर्ने विभिन्न क्रियाकलाप गर्दै आएको छ। तर उमेर नपुग्दै बालविवाह गर्ने चलन नहटेकाले झण्डा गाडने अभियान चलाएको नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख सरिता अवस्थीले बताइन। प्रत्येक वडामा किशोरी वृत समुह गठन गरी बालविवाह न्यूनीकरणको लागि किशोरी परिचालन गरिएको छ। किशोरी सञ्जालका सदस्यलाई बालविवाह न्यूनीकरण सम्बन्धी तीन दिने तालिमपछि झण्डा गाडिएको नगरपालिकाकी उपप्रमुख जानकी बमले बताइन।

बालविवाह न्यूनीकरणको लागि अभिभावक र स्वयम् किशोरीकिशोरी  अग्रसर भएर लागे मात्र न्यूनीकरण हुन सक्ने बालविवाह न्यूनीकरणको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताए। जिल्लामा बालविवाह न्यूनीकरण  सम्बन्धी अभिमुखीकरण, अन्तरपुस्ता संवादलगायतका क्रियाकलाप गरेर बालविवाह न्यूनीकरणको पहल थालिएको छ। बालविवाहबाट हुने हानी कानुनी प्रावधान तथा सजायबारे जानकारी गराइ जिल्लाका अन्य स्थानीय तहले पनि कशोरी भएका घरमा झण्डा गाडने अभियान चलाए बालविवाह न्यूनीकरणमा मद्धत पुग्ने जिल्ला अधिकृत शाहीले बताए।

तर नगरपालिकाका सबै घरमा झण्डा नगाडेकाले प्रभावकारिता नदेखिएको वडा नं. १ का वडाध्यक्ष गणेशबहादुर गडालले बताए। नगरले हाम्रो वडालाई एक सय झण्डा मात्र दियो,’ उनले भने, १६ देखि १९ वर्ष उमेर समुहका वडामा धेरै घर छन्, सबै घरमा राख्न सके मात्र प्रभावकारी हुन्थ्यो।’ किशोरी भएका सबै घरमा झण्डा गाड्न सके बढी प्रभावकारी हुन सक्ने स्थानीय बताउँछन्। सचेतनात्मक क्रियाकलाप र निगरानी बढाउन सके मात्र बालविवाह न्यूनीकरण हुन सक्ने जानकारहरु बताउँछन्।

गाउँमा कानुनी प्रावधान, सजायको व्यवस्थासँगै यसबाट हुने शारीरिक, मानसिक र आर्थिक समस्याबारे सचेत गराएर अन्धविश्वासका नाममा हुने कुरीति नियन्त्रण गर्न सकिने  पुर्चौडी नगरपालिका–४, भटनाका स्थानीय जनककिशोर भट्टले बताए।

यसअघि जिल्लाका विभिन्न क्षेत्रमा बालविवाह न्यूनीकरणको लागि धार्मिक अगुवा, धामी, झाक्री, पुजारीलाई समेत तालिम दिइएको थियो। धामी, पुजारीले बालविवाहका बेफाइदाबारे जानकारी गराउँदा सर्वसाधारणमा राम्रो प्रभाव पर्ने भएपछि धार्मिक अगुवालाई अघि सारिएको हो। चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ  बालविवाह गर्ने क्रम रोकिएको छैन। छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ। देशमै बालविवाह बढी हुने पाँच जिल्लामध्ये बैतडी पनि एक  हो। ६ वर्षअघि ‘बालिका दुलही होइनन’ राष्ट्रिय सञ्जालले साबिकका पाँच गाविसमा गरेको सर्वेक्षणले ५९ दशमलव ४ प्रतिशतको १७ वर्ष नपुग्दै बिहे भएको देखाएको थियो।

प्रकाशित: २९ वैशाख २०७६ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App