६ वैशाख २०८१ बिहीबार
अर्थ

तयारी खाजामा पनि विदेशकै भर!

काठमाडौं- चाडपर्व खाने–पिउने रमाउने बेला हो। घरमै मेहनत गरेर मिठा परिकार बनाउनु आफैंमा मजा छ। सफा र स्वस्थ पनि। यति हुँदाहुँदै पनि बजारमा पाइने तयारी परिकारले उपभोक्ताको मन तान्छ। कति परिकार देशमै उत्पादन हुन्छन् भने धेरैजसो विदेशबाट आयात हुन्छन्।

स्वेदशमै उत्पादन गर्न सकिने तयारी खाजा ठूलो मात्रामा विदेशबाट ल्याइने गरेको छ। उदाहरणका रुपमा बिस्कुट, कुकिज, चिज, जुस, ससेज, दालमोट, चाउचाउ जस्ता उत्पादनलाई लिन सकिन्छ।

स्वदेशमा लगानीको वातावरण नहुनु, विद्युतको अभाव, दक्ष कामदार नपाउनु, सरकारले उद्योग विकासमा सहयोग नगर्दा उद्योगहरू फस्टाउन नसकेको व्यवसायी बताउँछन्। 'देशको अस्थिर राजनीतिक वातावरणले पनि साना–ठूला उद्योगमा प्रत्यक्ष असर गरेको छ,' जगदम्बा फुड्सका निर्देशक हर्ष गर्गले भने। उनका अनुसार पछिल्लो समय उत्पादनमा उच्च 'ग्रोथ' हुन सकेको छैन।

सर्वसाधारण जनताले प्रयोग गर्ने खाद्यान्नलाई सरकारले कर लगायत सुविधामा विशेष सुविधा दिनुपर्ने व्यवसायी बताउँछन्। स्थानीय स्तरमा उत्पादन हुने तयारी खाजा चाउचाउ, बिस्कुट जस्ता उत्पादनमा कर हटाएका विदेशीसँग प्रतिस्पर्धा गरेर स्वदेशी उत्पादन बढाउन सकिने गर्गले बताए।

नेपाली बिस्कुट उत्पादनको स्तर राम्रो भए पनि विदेशबाट वार्षिक अबर्ौं बिस्कुट आयात हुने गरेको छ। स्वदेशी बजारको माग पूरा गर्न विश्वका विभिन्न २८ देशबाट नेपालमा उक्त परिणामका बिस्कुट आयात हुने तथ्यांक छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आर्थिक वर्ष २०७२/७३ तथ्यांक अनुसार १ अर्ब ५० करोड रुपैयाँको बिस्कुट आयात भएको छ।

व्यवसायीका अनुसार साना स्तरका बाहेक ठूला लगानीका १५–२० वटा विस्कुट उद्योग छन्। नेपालमा गुणस्तरीय बिस्कुट नभएका बेला यी उद्योगले बिस्कुट उत्पादन र गुणस्तर बढाएको व्यवसायीको विश्वास छ। नेपालमा स्थापित केही कम्पनीले अन्तर्राष्ट्रिय स्तरका बिस्कुट उत्पादन गरिरहेका छन्। उनीहरूका अनुसार नेपालमा उत्पादन भएका बिस्कुट आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्नयोग्य छन्। नेपालमा बिस्कुट उत्पादनमा ठूलो लगानी भइसकेको छ र यसै अनुसार बजार पनि बिस्तारै बढिरहेको छ। व्यवसायीका अनुसार स्वदेशी बिस्कुटको बजार माग वार्षिक १२ प्रतिशतले बढिरहेको छ।

व्यवसायीका अनुसार स्थानीय उत्पादनले आफ्नो बजार विस्तार गरिरहेका छन्। लगानीको राम्रो वातावरण, आवश्यक विद्युत र क्षमतायुक्त श्रम हुने हो भने नेपालको माग पूरा गर्न सकिने व्यवसायीको भनाइ छ। 

स्थानीय उत्पादन बढिरहेको भए पनि आयातित बिस्कुटसँग भने यिनीहरूले राम्रै प्रतिस्पर्धा गर्नुपर्छ। स्वदेशमा उत्पादित राम्रा बिस्कुटको बजार विस्तार, विज्ञापन र जनस्तरसम्म प्रचारप्रसारको आवश्यकता छ। नेपाली बिस्कुटले राम्रोसँग प्रमोसन गर्न नसकेको व्यवसायी बताउँछन्।

स्वदेशमै स्थापना भएका केही उच्चस्तरका बिस्कुट कम्पनीले ३० प्रकारसम्मका बिस्कुट उत्पादन गरिरहेका छन् भने मासिक १५ सय टनभन्दा धेरै उत्पादन गरिहेको व्यवसायी बताउँछन्। व्यवसायीका अनुसार स्वदेशी बजारको झन्डै ६० देखि ७० प्रतिशत माग स्वदेशी बिस्कुटले पूरा गरिरहेका छन्। उनीहरूका अनुसार नेपालका कतिपय बिस्कुट निर्यात समेत भइरहेका छन्।

यसरी बढिरहेको बजार माग पूरा गर्न स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय 'मल्टिब्रान्ड' कम्पनीले पनि नेपालमै बिस्कुट उत्पादन गर्न थालेका छन्। भारतको पार्ले, हुलास जस्ता बिस्कुट नेपालमा उत्पादन भइरहेका छन्।

आयातित विदेशी बिस्कुटसँग प्रतिस्पर्धा गर्ने हो भने नेपाली बिस्कुटमा गुणस्तर बढाउन आवश्यक छ। बिस्कुटको स्वादमा विविधता ल्याउन सके नेपाली बजारमा स्वदेशी उत्पादन पर्याप्त हुने देखिन्छ।

चाडपर्वका बेलामा विभिन्न परिकारसँग आउने तयारी परिकार हो दालमोठ, भुजिया। व्यवसायीका अनुसार काठमाडौंमा झन्डै दर्जन दालमोठ उद्योग रहेका बताउँछन्। यी उद्योगले आयातित दालमोटसँग चर्को प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। तीमध्ये केही राम्रा छन् जसले बजारको केही हिस्सा ओगटेका छन्। धेरै जसो उद्योग भने १ देखि ३ लाखसम्मका सानो लगानीमा चलाइएकाले गुणस्तरमा ध्यान दिन नसकेको व्यवसायीको भनाइ छ।

व्यवसायीका अनुसार पाँच वर्षअघि मुलुकमा दालमोठ उद्योगमा लगानी गर्ने र व्यवसायमा प्रतिस्पर्धा गर्ने वातावरण राम्रो थियो। बजारमा प्रतिस्पर्धा पनि राम्रो थियो तर त्यस अनुसारको प्रगति भने निरन्तर हुन सकेको छैन। अहिले त्यसै अनुसारको लगानी बढ्न नसकेको व्यवसायीको भनाइ छ।

दालमोठ उत्पादन गर्न चाहिने सबै कच्चा पदार्थ विदेशबाट आउने गरेको छ। दालमोठ बनाउन चाहिने सोयाबिन र आरबिडी तेल, आटा मैदा, दाल, गेडागुडी, बदाम सबै भारतबाट आउने गरेको छ। भारतबाट कच्चा पदार्थ ल्याउँदा नै महँगो पर्ने भएकाले स्वदेशी उत्पादनलाई पनि असर गरेको व्यवसायीको भनाइ छ।

यति हँुदाहँुदै पनि स्वदेशी उत्पादनभन्दा भारतबाट आयातित दालमोठ महँगो पर्न जान्छ। तैपनि उपभोक्ताले भने महँगो नै रोज्ने व्यवसायी बताउँछन्। स्वदेशी उत्पादन गुणस्तरीय र प्याकिङ राम्रो हुन नसक्नु कमजोर पक्ष रहेको व्यवसायीको भनाइ छ। त्यस्तै, मार्केटिङ राम्रोसँग गर्न नसक्नु, नयाँनयाँ प्लान्ट स्थापना नगर्नु र लगानी बढाउन नसक्दा स्वदेशी उत्पादन राम्रो हुन सकेका छैनन्।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आव ०७२/७३ को तथ्यांक अनुसार विभिन्न १४ देशबाट ४४ करोड २१ लाख ६९ हजार  रुपैयाँको दालमोठ आयात भएको छ।

टमाटर, फर्सी जस्ता स्थानीय उत्पादनबाट आफ्नै देशमा उत्पादन गर्न सकिने ससको आयात २६ भन्दा धेरै देशबाट हुन्छ। घरेलु तथा साना उद्योगलाई बढावा दिने सरकारी नीति भए पनि सस जस्ता उत्पादनको आयात बढिरहेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार स्थानीय सामान्य प्रविधि र तालिमबाट उत्पादन हुनसक्ने सस गत आवमा ४१ करोड ३६ लाख १३ हजार रुपैयाँको आयात भएको छ।

सजिलै र कम लगानीमा पनि उत्पादन गर्न सकिने आलु चिप्स पनि विदेशबाट ल्याउने क्रम बढ्दै गएको छ। भारतबाट मात्रै ल्याउने गरेको आलु चिप्स पछिल्लो समय ९ देशसम्म पुगेको छ।

सरकारी तथ्यांक अनुसार आलु चिप्स नेपालमा भारत लगायत चीन, मलेसिया, थाइल्यान्ड, युएई, अमेरिका, जर्मनी, बेलायत र माल्टाबाट ल्याइएको छ। यो आलु चिप्स आयातमा देशबाट ५ करोड १८ लाख रुपैयाँ बाहिरिएको छ।

स्वदेशी भाग पूरा गर्ने गरी दूध उत्पादन हँुदाहँुदै पनि दुग्ध पदार्थको आयात २० देशबाट हुने गरेको छ। देशको चिज माग धान्न वार्षिक करोडौं रुपैयाको आयात हुन्छ। सरकारी तथ्यांक अनुसार गत आव ०७२/७३ मा १ लाख ९२ हजार ७६ केजी चिज आयात भएको छ। उक्त मूल्यको चिज आयात गर्न नेपालबाट ५ करोड ६८ लाख ६९ हजार रुपैयाँ बाहिरिएको छ।

व्यवसायीका अनुसार हाल देशभर ३ दर्जनभन्दा धेरै चिज उद्योग छन्। ती उद्योगले दैनिक १ हजार ६ सय किलो चिज र २ सय ५० किलो बटर उत्पादन गर्छन्। काठमाडौं तथा पोखरा जस्ता पर्यटकीय बजारमा चिजको खपत धेरै हुने गरेको छ।

चिज उद्योगलाई प्रोत्साहन गर्न सहुलियत ऋणको व्यवस्था, कोल्डस्टोर स्थापना र नेपाली चिज निर्यात गर्ने वातावरण बनाइदिन यससँग सम्बन्धित व्यवसायीले माग गर्दै आएका छन्।

प्रकाशित: ८ कार्तिक २०७३ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App