६ वैशाख २०८१ बिहीबार
अर्थ

निगमको शाख गिराउनेलाई कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं- व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निजी वायुसेवा कम्पनीसँग मिलेमतो गरी नेपाल वायुसेवा निगमको शाख गिराउने काममा संलग्न नागरिक उड्डयन प्राधिकरण र निगमका अधिकारीमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मन्त्रालयका निमित्त सचिव, प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार लगायतसँग छलफल गरेपछि उक्त निर्देशन दिएको हो।

निगमका आन्तरिक र अन्तर्राष्ट्रिय उडान तोकिएको समयभन्दा ढिलो हुने तथा अन्तिम समयमा आएर रद्द हुँदा निगमको विश्वसनियतामा ह्रास आउनुको अतिरिक्त निगमलाई ठूलो घाटा लागिरहेको भन्दै समितिले सम्बद्ध अधिकारीलाई बोलाएर छलफल गरेको हो।

वायुसेवा कम्पनीले तोकिएको समयमा उडान नगर्ने र अन्तिम समयमा रद्द गर्ने प्रवृत्ति बढ्दै गइरहेको सन्दर्भमा समस्या समाधानका लागि नियमन गर्नुको सट्टा जानाजान तथा मिलेमतोमा ढिलो उडान गर्ने तथा उडान रद्द गर्ने अधिकारीहरूलाई अविलम्ब कारबाही गर्न पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ।

त्यसैगरी समितिले नेपालका प्रत्येक विमानस्थलमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनिवार्य एक्सरे मेसिन तथा सिसी टिभी क्यामरा जडान गर्र्नुका साथै इन्टरनेटका लागि वाइफाई सुविधा एवं यात्रु कक्ष बाहिर यात्रु पुर्‍याउने सहयोगीलाई बस्ने कुर्सीसहित आवश्यक स्थान र सरसफाइको व्यवस्था गर्न पर्यटन मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले राष्ट्रिय ध्वजावाहक निगमको उडान निमित हुन नसकेको सन्दर्भमा उसलाई पर्याप्त मात्रामा जगेडा पुर्जा (स्पेयर पार्टस्) राख्न, पर्याप्त पाइलट तथा अन्य उडान कर्मचारी व्यवस्था गर्न, स्पेयर पार्टस् आवश्यक पर्नासाथ तुरुन्तै ल्याउनका लागि खरिद प्रक्रियामा सुधार गरी छिटो छरितो बनाउन तथा निगमको दीर्घकालीन व्यापारिक योजना तयार गरी सोहीअनुसार जहाज खरिद गर्ने प्रक्रियालाई द्रुत मार्गबाट अगाडि बढाउन निर्देशनसमत दिएको छ।

प्रकाशित: ८ कार्तिक २०७३ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App