८ वैशाख २०८१ शनिबार
समाज

धादिङबाट ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’को उद्घाटन गर्दै प्रदेश ३ का आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकटेल। तस्बिर : सरिता/नागरिक

धादिङ - प्रदेश ३ ले ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ अभियान धादिङबाट सुरु गरेको छ। प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकटेलले शुक्रबार एक कार्यक्रमबिच सो अभियान उद्घाटन गरेका हुन्। निरोगीको स्वास्थ्य परीक्षणका लागि सुरु यस कार्यक्रमको मुख्य उद्देश्य नसर्ने रोग र त्यसको जोखिमबारे समयमै पहिचान गरी उचित उपचार र परामर्श दिनु रहेको मन्त्री जम्मकटेलले बताए। ‘राज्य भनेकै गरिबका लागि हो, दुःख पाएका जनताका लागि हो,’ उनले भने, ‘आफ्नो शरीरमा के रोग छ भनेर जँचाउन नसक्ने र खर्च नहुनेहरूलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको हो।’

पहिलो चरणमा प्रदेशका पाँचवटा जिल्ला धादिङ, मकवानपुर, भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा लागु हुने जानकारी गराइएको छ। ती जिल्लाका अस्पताल रहेका स्थानीय तहमा परीक्षणको रूपमा यो कार्यक्रम लागु भए पनि आगामी आवदेखि सबै जिल्लाका स्थानीय तहका नागरिकले सेवा पाउने गरी कार्यक्रम विस्तार गरिने पनि मन्त्री जम्मकटेलले बताए।

धादिङमा पहिलो चरणमा आगामी असार मसान्तसम्ममा नीलकण्ठ नगरपालिकाभित्रका २२ सय नागरिकको सम्पूर्ण शरीरको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्ला अस्पतालहरूबाट प्रदान गरिने यो सेवाबाट विशेष गरी विपन्न, सीमान्तकृत र द्वन्द्वपीडितको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। प्राकृतिक कारणले नेपालमा हरेक वर्ष मृत्यु भएका जनतामध्ये करिब ७० प्रतिशत जनता नसर्ने रोग लागेर मरिरहेको तथ्यांक रहेकाले रोगको पहिचान गर्न, रोकथाम गर्न र रोग लागिहाले अपनाउनुपर्ने सचेतनाबारे जानकारी दिनु नै मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्री जम्मकटेलको दाबी छ।

धादिङमा पहिलो चरणमा (आगामी असार मसान्तसम्म) नीलकण्ठ नगरपालिकाभित्रका २२ सय नागरिकको सम्पूर्ण शरीरको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। सरकारी स्वास्थ्य संस्थामा परीक्षण गर्दा करिब २५ सय रुपैयाँ खर्च लाग्ने भए पनि वडा अध्यक्षहरूको सिफारिसका आधारमा निःशुल्क उपचार गरिने जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिए। ‘स्वास्थ्य परीक्षणमा लाग्ने सबै खर्च प्रदेश सरकारले बेहोर्नेछ,’ उनले भने, ‘यस कार्यक्रमअन्तर्गत ७० वर्षभन्दा मुनिका नागरिक समेटिनेछन्।’ नसर्ने रोगका कारण मानिसहरूको मृत्यु भएको विकराल स्थिति रहेकाले रोग लाग्न दिनुभन्दा अगाडि नै सुरक्षित रहन स्वास्थ्य परीक्षणले सहयोग पु¥याउने स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख विष्णु रिजालले बताए।

प्रकाशित: २९ वैशाख २०७६ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App