६ वैशाख २०८१ बिहीबार
समाज

उपयोगमा आएन राष्ट्रिय परिचयपत्र

वितरण प्रारम्भ भएको दिन राष्ट्रिय परिचयपत्र देखाउँदै गृहमन्त्री रामबहादुर थापा। फाइल तस्बिर : गिरिराज/नागरिक

पाँचथर - फिदिम नगरपालिका–१ का सुमन लामाले राष्ट्रिय परिचयपत्र पाएका दिन उत्साहसाथ खुसी व्यक्त गरेका थिए। तर अहिलेसम्म त्यो कार्ड प्रयोगमा नआउँदा उनको त्योबेलाको खुसी निरर्थक बन्न पुगेको छ। राष्ट्रिय परिचयपत्रका रूपमा पाइएको कार्ड कहीं उपयोग गर्न नपाउँदा दराजमा थन्काएर राख्नुको विकल्प नभएको उनी सुनाउँछन्। ‘जहाँ पनि नागरिकता खोज्छन्। परिचयपत्रको काम नआएपछि थन्काएर राखेको हँु,’ उनले भने, ‘कार्ड पाइएपछि दैनिक जीवनमा प्रयोग गर्न पाइन्छ होला भन्ने लागेको थियो, होइन रहेछ। कतै जानुपर्दा नागरिकता, मोटरसाइकल लाइसेन्स र अन्य कार्ड बोकिन्छ तर परिचयपत्र बोकिँदैन।’

नागरिकता विस्थापित गर्ने भन्दै मुलुकमै पहिलोपल्ट पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालिएको थियो। उक्त परिचयपत्रलाई कुनै सेवासँग नजोडिएका कारण। यो कार्ड रिड गर्ने मेसिन न जिल्लामा छ, न जिल्ला बाहिर नै। पाँचथरमा ५६ हजारका हातमा परिचयपत्र छ। ‘यो कार्डको अहिले कतै केही काम नहुने रहेछ। जिल्लाका केही सरकारी कार्यालयमा यसको प्रयोग गर्दा पनि हुने हो। यो कार्ड उपभोगमा आउन निकै समय लाग्ला जस्तो देखियो,’ मिक्लाजुङका सुसन राई भन्छन्, ‘पूर्वतयारीबिनै राष्ट्रिय परिचयपत्र वितरण प्रारम्भ भएको रहेछ। अब सरकारको ध्यान यसको उपयोगितातिर ध्यान दिनुपर्छ।’ मंसिर ३ गते निकै तामाझामका साथ सदरमुकाम फिदिमबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको थियो। गृहमन्त्री रामबहादुर थापाले भव्य समारोहकबीच कार्ड वितरण शुभारम्भ गरेका थिए। सो समारोहमा गृहमन्त्रीलगायत अन्य विशिष्ट व्यक्तिहरूले राष्ट्रिय परिचयपत्रको उपयोगिताबारे चर्चा गरे पनि वितरण आरम्भको पाँच महिनामा पनि त्यसको सार्थकता झल्किन सकेको छैन।

राष्ट्रिय परिचयपत्रसम्बन्धी कानुन संसद्मै भएकाले प्रयोगमा ल्याउन नमिलेको प्रमुख जिल्ला अधिकारी मुरारी बस्तीले बताए। ‘पहिलो जिल्ला भन्दैमा प्रयोगमा ल्याउन सकिने अवस्था भएन। दोस्रो चरणमा १५ जिल्लामा बाँड्ने तयारी भएको छ। यसपछि प्रयोग बढ्छ,’ उनले भने, ‘डिजिटल कार्ड भएकाले यहाँ सेवा थप्न बाँकी छ।’ उनका अनुसार पाँचथरमा ८५ हजार चार सयजनाले कार्ड बनाउन फाराम भरेका छन्। यीमध्ये ७५ हजार जनाको कार्ड छापिएर आएको छ। यहाँका सबै वडामा पुगेर विवरण संकलन भएको थियो। संकलित विवरणका आधारमा बनेको कार्ड गाउँमै लगेर वितरण भएको छ। जिल्ला प्रशासन कार्यालयमा फिल्ड अफिस राखिएको छ। यतिखेर यही अफिसबाट काम हुने गरेको छ। राष्ट्रिय परिचय पत्र उपयोगमा ल्याउनुपर्ने सरोकारवालाको मागछ। पाइलोटिङका रूपमा पाँचथर र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने सरकारी योजना कार्यान्वयन भएको थियो। यसबाट सेवा प्राप्त गर्न सेवाप्रदायक निकायमा रिड गर्ने मेसिन राख्नु आवश्यक छ। परिचयपत्रका लागि असारदेखि विवरण संकलनको काम गरिएको थियो। नाम, जन्ममिति, बाबुआमाको नाम, बाजेको नाम, बायोम्याट्रिक्स (औंठा छाप), फोटोसहितको विवरण लिइएको थियो। जैविक डाटा मात्र नभई व्यक्तिका सम्पूर्ण विवरण एउटै कार्डमार्फत वितरण गर्ने सरकारी योजना रहेको रहेको छ।

सरकारले पाँचथरमा एक लाख १० हजार र सिंहदरबारका सात हजार कर्मचारीलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना अघि सारेको थियो। एउटै कार्डबाट सुविधाहरू प्राप्त हुने डिजिटल कार्ड वितरण गर्ने योजना रहेको छ। नाम, जन्ममिति, बाबुआमाको नाम, बाजेको नाम, बायोम्याट्रिक्स (औंठा) छापसहितको संकलित विवरणको आधारमा कार्ड बनाइएको हो। रकमको विवरण समाविष्ट डिजिटल कार्ड बनाइने बताइएको छ। कार्डमा नै विभिन्न सेवा जोड्दै लैजाने बताइएको छ। आर्थिक वर्ष २०६६/६७ देखि परिचयपत्र वितरण गर्ने नीतिगत निर्णय भएको थियो। एकीकृत भण्डार, एकअर्कामा नमिल्ने परिचयपत्र नम्बर, विद्युत् सेवालगायत विशेषता रहेको बताइन्छ।

प्रकाशित: २९ वैशाख २०७६ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App