coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले खाडीमा क्षेप्यास्त्र प्रणाली र जहाज पठायो

क्याप्सन ः युएस राष्ट्रवादी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली। फाइल तस्बिर: एजेन्सी

वासिङ्टन – इरानसँगको तनाव बढिरहेकै बेला संयुक्त राज्य अमेरिकाले आफ्नो राष्ट्रवादी क्षेप्यास्त्र प्रणाली मध्यपूर्वमा पठाएको छ। क्षेप्यास्त्र प्रणालीसहित अमेरिकाले अत्यधुनिक सवारी साधन र विमान बोक्न सक्ने युएसए एर्लिङ्टन नामक युद्धक जहाज पनि मध्यपूर्वमा पठाएको बताइएको छ।

खाडीमा अमेरिकाको युएसएस अब्राहम लिंकन नामक लडाकु समूह तैनाथ हुने र सोही समूहले नै यो क्षेप्यास्त्र प्रणाली र युद्धक विमानको प्रयोग गर्ने बताइएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार युएस बी–५२ नामक वमवर्षक विमान पनि कतारस्थित अमेरिकी सैन्य शिविरमा अवतरण गरिसकेको छ।

अमेरिकाले मध्यपूर्वमा क्षेप्यास्त्र प्रणाली र अत्यधुनिक युद्धक विमान पठाउनुको उद्देश्य विस्तृत रूपमा नदिए पनि खाडी क्षेत्रमा इरानबाट हुन सक्ने सम्भावित चेतावनीको प्रतिकार गर्नका लागि यस्तो कदम चालिएको वासिङ्टनले जनाएको छ। उता, इरानले भने अमेरिकाको यस्तो दाबीलाई वाहियात भन्दै खारेज गरिदिएको बिबिसीले जनाएको छ।

खाडीमा क्षेप्यास्त्र प्रणाली र अत्यधुनिक युद्धक विमान पठाएर अमेरिकाले ‘मनोवैज्ञानिक द्वन्द्व निम्त्याउन खोजेको’ आरोप पनि लगाएको छ। अमेरिकाको यस्तो कदम चालेर आफूलाई उस्काउन खोजेको पनि तेहरानले बताएको छ। अमेरिकी दबावकै बीच उसले युरेनियम प्रशोधनको कार्यलाई पुनः सुरु गर्नसक्ने पनि बताउँदै आएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी फौजलाई हुनसक्ने सम्भावित चुनौतीको सामना गर्नका लागि अमेरिकी फौजले यस्तो तयारी गरेको बताएको छ। यद्यपि उसले अमेरिकी सेनालाई के कस्तो चुनौतीहरु छन् भन्नेबारे भने केही नबताएको बिबिसीले जनाएको छ।

पेन्टागनको शुक्रबार प्रकाशित पछिल्लो विज्ञप्तिमा मध्यपूर्वमा रहेको अमेरिकी स्वार्थ र देशको सेनाको प्रतिरक्षा गर्न क्षेप्यास्त्र प्रणाली र अत्यधुनिक युद्धक विमान पठाउन लागेको वासिङ्टनले जनाएको छ। पेन्टागनको विज्ञप्तिमा अमेरिकाले इरानसँग युद्ध नचाहेको पनि बताइएको छ।

हाल इरानको छिमेकी राष्ट्र इराकमा पाँच हजार दुई सय अमेरिकी सेना तैनाथ गरिएका छन्। अमेरिकाले मध्यपूर्वमा पठाएको राष्ट्रवादी प्रणाली ब्यालेस्टिक क्षेप्यास्त्र, सामुद्रिक क्षेप्यास्त्र र अत्यधुनिक युद्धक विमान प्रतिरोध क्षमता रहेको प्रणाली हो। युएसएस अब्राहम लिंकनले बिहीबार सुइज क्यानल पार गरेको अमेरिकी मध्य कमाण्डलाई उद्धृत गर्दै बिबिसस्ले उल्लेख गरेको छ।

‘अमेरिकाको समग्र टुकडी एक क्षेपयास्त्रले ध्वस्त हुनसक्छ,’ इरानको अर्धसरकारी समाचार संस्था इस्ना न्युज एजेन्सीले एक वरिष्ठ अधिकारी युसुफ ताबाटाबाई–नेजादलाई उद्धृत गर्दै जनाएको छ। तेहरानको आणविक कार्यक्रम रोक्ने र त्यसको बदलामा उसमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने शर्तमा सन् २०१५ मा विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच आणविक सम्झौता भएको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूववर्ती बाराक ओबामाको कार्यकालमा भएको इरानसँगको सो सम्झौता धोखा भएको भन्दै गत वर्ष सन्धिबाट हाट झिकेका थिए।

आणविक सम्झौताबाट अमेरिकाले हात झिकेपछि वासिङ्टन र तेहारनबीचको सम्बन्ध तनावको अवस्थाबाट गुज्रिरहेको छ। पछिल्लो समय इरानले युरेनियम प्रशोधनलाई निरन्तरता दिने चेतावनी दिइरहेको छ भने अमेरिकाले सम्भावित आक्रमणबाट बच्न भन्दै मध्यपूर्वमा सैन्य उपस्थिति र क्षेप्यास्त्र प्रणालीसहितका अत्यधुनिक हतियार पठाएको छ।

प्रकाशित: २९ वैशाख २०७६ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App