८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वराजदूत दम्पतीको रथारोहण

मकवानपुर - पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई हेटौंडामा सम्मानका साथ रथमा नगर परिक्रमा गरिएको छ। नेवाः सांस्कृतिक पुचः मकवानपुरले ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसरमा रथमा हेटौंडा नगर परिक्रमा गराई सम्मान गरिएको हो। पराष्ट्रविद श्रेष्ठ दम्पतीलाई नगर परिक्रमापछि विभिन्न संघसंस्थाले सम्मानसमेत गरेका थिए। कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले अभिनन्दन र सम्मानपत्र हस्तान्तरण गर्दै श्रेष्ठको उच्च सम्मान हुनुपर्नेमा जोड दिए। ‘उहाँ नेपालको इतिहास पुरुष हुनुहुन्छ,’ उनले भने, ‘पूर्वप्राध्यापकसमेत रहनु भएका उनलाई राज्यले नै सम्मान गर्नुपर्छ।’

पुचःसहित नेपाल भाषा खलः, पिएम सेन्टर र हेटौंडा वापौ(साप्ताहिक)का तर्फबाट उनलाई सम्मान गरिएको थियो। प्रदेश सांसद जुनेली श्रेष्ठ, शिक्षाविद्हरू पुरनबहादुर जोशी, देवप्रसाद श्रेष्ठलगायतले श्रेष्ठको योगदानको चर्चा गर्दै राज्यले उचित अवसर र सम्मान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा पिएम सेन्टरको तर्फबाट सांगेतिक प्रस्तुति भएको थियो भने कवि तुलसी थापाले नेपालको इतिहास कति पुरानो छ भन्ने कविता प्रस्तुत गरेका थिए। काठमाडौं र मकवानपुरको हेटौंडामा घर भएका श्रेष्ठले नेपाली संस्कृति, नेपाल भाषा, पत्रकारिता, प्रगतिशील आन्दोलनलगायतका क्षेत्रमा मकवानपुरलाई मात्र नभएर देशलाई नै चिनाउन सफल भएको भन्दै सम्मान गरिएको पुचःका मकवानपुर अध्यक्ष विष्णुगोपाल महर्जनले बताए।

बि.सं. १९९८ मा मकवानपुरको भीमफेदीमा जन्मेका श्रेष्ठ नेपालको तर्फबाट रुसको राजदूत भएका थिए भने मकवानपुरबाट दुईपटक सांसदमा विजयी भएका थिए। उनले कम्युनिस्ट राजनीतिमा २०१७ सालबाट नै सक्रिय सदस्यकारूपमा काम गरेका थिए। पछिल्लो समय श्रेष्ठ अन्तर्राष्ट्रिय मामिला सम्बन्धमा अध्ययनमा तथा लेखनमा सक्रिय छन्। उनका ३० वटा भन्दा धेरै पुस्तकहरू प्रकाशित भैसकेको छ।

प्रकाशित: २९ वैशाख २०७६ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App