coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रदेश २ : लगानी र रोजगारी बढाउन साझेदारी

वीरगन्ज– प्रदेश २ मा लगानी भित्र्याउन र रोजगारीको सृजना गर्नका लागि प्रदेश सरकारले निजी क्षेत्र, वितीय संस्था र सेवाप्रदायक ‘एजेन्सी’हरुसंग साझेदारी गर्न लागेको छ। यसको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वीरगन्जमा आयोजनाको गरेको दुई दिने कार्यशालामा शनिवार सम्पन्न भएको छ।

कार्यशालामा प्रस्तुत भएका महत्वपूर्ण प्रस्तावहरुबाट आशा पलाएको प्रदेश प्रमुख रत्नेश्वर लालकायस्थले बताए। उनले प्रदेशमा विकासका सवालमा सत्तापक्ष र प्रतिपक्ष सबै एकमत देखिएको भन्दै खुसियाली जनाए। प्रदेश सरकार, प्रतिपक्षलगायत सबै राजनीतिक दलको सहयोग र उद्योगी व्यवसायी तथा अन्य सरोकारवालाको साझेदारीमा रोजगारी सृजना र लगानी भित्र्याउनका लागि कार्यक्रमहरु तय गरेर लागु गरिने मुख्यमन्त्री लालबाबु राउतले बताए।

अहिलेको समयमा बेरोजगारी दुनियाभरमा नै समस्याको रुपमा देखा परेको र प्रदेश २ अन्य प्रदेशको तुलनामा गरिबी र बेरोजगारीको समस्यामा रहेको उनले बताए। ‘रोजगारी सिर्जना तथा लगानीमा सुधार ल्याउन निजी क्षेत्रका विभिन्न समूहसँग र सेवा प्रदायकसँग साझेदारी गर्नका निम्ति ‘एमओयु’ (अवधारणापत्र)मा अब हस्ताक्षर हुनेछ, आवश्यक परे त्यसको लागि नीति नियम बनाउने जस्ता काम प्रदेश सरकारले गर्ने छ’, मुख्यमन्त्री राउतले भने, ‘सबैको सकारात्मक सहयोगको अपेक्षा छ, हामीले यो प्रयासबाट रोजगारी सिर्जना गर्नेछौं, श्रमको उचित मूल्य पाउने दक्ष किसिमको जनशक्ति यहाँबाट अन्य मुलुकमा पठाउन सक्ने छौं।’ 

अनलाइन मार्केटिङमा दुनियाको दोस्रो ठूलो कम्पनी‘एमाजोन’को अनलाइन कलाउडमा रोजगारी बढाउने संस्था एडब्लुएस एजुकेशन, बैदेशिक रोजगारीमा जाने आउनेलाई सघाउन प्रभु बैंक र बैदेशिक रोजगारमा लगायत अन्य बित्तीय कारोबारमा सघाउन नेपाल एसबिआई बैंकले आआफ्ना प्रस्तावहरु शनिवार प्रस्तुत गरेका थिए। प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले यस प्रस्तावहरुलाई परिणाममुखी ढंगले कार्यान्यवन गर्नुपर्ने बताए। उनले अब सतहमा नतिजा देखापर्ने गरी प्रदेश सरकारले काम गर्ने जानकारी गराए। 

प्रदेश २ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले विकासका सवालमा प्रदेश सरकारलाई काँग्रेसले सहयोग गर्ने बताए। उनले पछाडी परेका दलित र बिपन्नहरुलाई लक्षित गरी कार्यक्रमहरु ल्याउन प्रस्ताव गरे। नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक सुन्दर विश्वकर्माले बैठकमा आएका सकारात्मक प्रस्ताव कार्यान्यवनमा प्रदेश सरकारले ढिला गरेमा प्रतिपक्षी दलले सरकारलाई दबाब दिने बताए। 

कार्यक्रममा प्रदेश २ का उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राययादव, प्रदेश २ का उद्योगीव्यपारी , होटल र पर्यटन व्यवसायी, राजनीतिक दलका नेता, अर्थशास्त्री, प्राध्यापक, सन्चारकर्मी लगायतको सहभागिता थियो।

समिति गठन 

प्रदेश २ मा रोजगारी सृजना, आर्थिक बृद्धि तथा लगानी आउने वातावरण निर्माण गर्ने उद्देश्यले प्रदेश सरकारले नीजि क्षेत्र सल्लाहकार समिति गठन गरेको छ। समितिमा कृषि, उद्योग, पर्यटन, वित्तीय क्षेत्र, लगायतको नेतृत्व तहलाई समावेश गरिएको छ। यस समितिले प्रदेश र स्थानीय तहका सरकारलाई सार्वजनिक निजी साझेदारीमार्फत सामाजिक र आर्थिक रुपान्तरणमा मार्ग निर्देशन गर्ने बताइएको छ। 

शनिवार बसेको समितिको पहिलो बैठकमा नेपाल र भारतका प्रतिष्ठित कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले पनि प्रदेश २ मा रोजगारी सृजनाका लागि लगानी लगाउन तयार रहेको प्रतिबद्धता जनाएका छन्। यस आयोजनमा सहयोगी संस्था ‘डिएफआइडी’ सीप कार्यक्रमले सघाएको छ। सिपका लिडर बलजित बोहोराले प्रदेश २ मा सीप विकास गरि रोजगारी सृजनाका लागि लगानीकर्तालाई लगानीका लागि उत्प्रेरित गर्न आफूहरुले काम गर्दै आएको बताए। उनले प्रदेश २ मा लगानीका लागि पर्याप्त सम्भावना रहेका कारण नेपाल, भारतका मात्रै नभइ तेश्रो मुलुकका पनि थप्रै कम्पनी तथा संस्थाहरु यहाँ काम गर्न इच्छुक रहेको जानकारी गराए । उनीहरुलाई प्रदेश २ मा ल्याउन गरिएको प्रयासमा प्रदेश सरकारको साकारात्मक चासो देखाएको बताए। 

प्रकाशित: २८ वैशाख २०७६ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App