काठमाडौं- लोकसेवा आयोगबाट छनोट भई राजपत्रांकित तृतीय श्रेणीका ३ सय ७३ निजामती कर्मचारीले नियुक्तिपत्र लिएका छन्। सामान्य प्रशासन मन्त्रालयले आइतबार निजामती सेवामा प्रवेश गर्नेहरुलाई एक कार्यक्रमका साथ शपथ तथा नियुक्तिपत्र दिएको हो। सामान्य प्रशासन, राजस्व, लेखा समूह सेवाभित्रका अधिकृत स्तरका नयाँ कर्मचारीले नियुक्ति तथा शपथ ग्रहण गरेका हुन्।
आर्थिक वर्ष ०७२/७३ मा माग गरिएअनुसार लोकसेवा आयोगले लिखित, मौखिक परीक्षा उत्तीर्ण हुनेहरुलाई नियुक्तिपत्र दिएको सामान्य प्रशासन मन्त्रालयका सहायक प्रवक्ता नन्दराज ज्ञवालीले बताए।
कार्यक्रममा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी र मन्त्रालयका सचिव पूर्णचन्द्र घिमिरेको उपस्थिति रहेको थियो। मन्त्री बुढाथोकीले समाजमा निजामती कर्मचारीप्रति बिग्रेको छविलाई सुधार्न निर्देशन दिएका छन्। 'समाजमा राम्रो छाप छैन। बिग्रेको छवि सुधार्न आचरण, नैतिकवान सेवक भएर काम गर्नुहोला,' उनले भने।
नवनियुक्त अधिकृतहरुलाई आधारभूत प्रशासनिक प्रशिक्षण प्रारम्भ हुनुअघि काठमाडौं उपत्यकामा रहेका विभिन्न सरकारी निकायको सेवा प्रवाहको अध्ययन तथा बजार अनुगमनमा खटाइने भएको छ।
लोक सेवा आयोगबाट लिइने लिखित, मौखिक परीक्षा उत्तीर्ण गरी आएका कर्मचारीलाई काममा खटिनु अगाडि तालिम दिने व्यवस्था छ। सहायक प्रवक्ता ज्ञवालीका अनुसार लेखा र राजस्व समूहका कर्मचारीलाई तीन महिना, प्रशासन समूहलाई ६ महिना तालिम दिने व्यवस्था छ। तालिम आगामी कात्तिक २३ गतेबाट सुरु हुने उनले बताए।
नवनियुक्त अधिकृतमा निजामती सेवाभित्रैबाट पदोन्नति भएका र सेवा बाहिरबाट प्रवेश गरेका छन्।
प्रकाशित: ८ कार्तिक २०७३ ०२:४० सोमबार