डा. श्वेता नकर्मी
बाथरोग विशेषज्ञ
नेसनल बाथरोग सेन्टर
लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग हो। शरीरको रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने कीटाणु र खराब कोषलाई नष्ट गर्छन्। जब शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थाल्छ, त्यतिबेला लुपस हुन थाल्छ।
यो रोग युवा अवस्थामा तथा महिलामा सुरु भई लामो समयसम्म रहने दीर्घकालीन रोग हो। यो पुरुषको तुलनामा महिलालाई ९ प्रतिशत बढी हुन्छ। महिलाको शरीरमा हुने स्ट्रोजन हर्मोनको कारण महिलामा बढी लाग्ने गर्छ। यो रोग एसियामा प्रति १ लाखमा २५ जनामा देखिने गरेको छ। नेसनल बाथरोग सेन्टरमा यस्ता बिरामी मासिक करिब ६० जना आउने गरेका छन्।
यो रोग लागेमा हातका जोर्नीै दुख्ने, छालामा पुतली आकारको दाग आउने, मुखमा घाउ आउने, चिलाउने, खटिरा आउने, घाममा बाहिर निस्कन गाह्रो हुने, केस झर्नेजस्ता लक्षण देखिन्छन्। शरीरको परिपक्व र आवश्यक कोष नष्ट भई रक्तकोषिकाको कमी हुने, मिर्गौलामा असर गर्ने, टाउको दुख्ने, धेरै सोचाइमा पर्ने, छारे रोग लाग्ने, कुनै कुराको निर्णय छिटो लिन नसक्ने, घरिघरि रिस उठ्ने, आँखा रातो तथा सुक्खा हुने, मुटु रोग लाग्ने, मुटुको बाहिरी भाग र फोक्सोमा पानी जम्ने, अल्छीपना हुने, तौल घट्नेजस्ता समस्या हुन्छन्।
यो रोगको पहिचान तथा उपचार बाथरोग विशेषज्ञले गर्न सक्छन्। यो कुन प्रकारको बाथ भनेर पत्ता लगाउन रगत तथा पिसाब जाँच गरिन्छ। जनचेतना तथा पहुँचको कमीले बिरामीहरू उपचार गर्न ढिला आइपुग्छन्। जति बेला बिरामीको फोक्सो र मिर्गौला जस्ता स्थानमा असर गरिसकेको हुन्छ। जस्तो कि, मिर्गौलाबाट प्रोटिन चुहिने समस्या।
लुपस एक खतरनाक रोग भएकाले समयमै पहिचान तथा उपचार आवश्यक छ। छिटो उपचार गर्दा शरीरका विभिन्न अंगमा पर्ने असरबाट बचाउन सकिन्छ। ढिलो उपचार गरे संवेदनशील अंगमा असर परिसकेको हुन्छ। यो रोग देखा परेको ३ देखि ६ महिनाभित्र उपचार भएमा नकारात्मक असर कम गर्न सकिन्छ।
उपचार
शरीरका विभिन्न भागमा रोगले पारेको असरअनुसार रोगको उपचार गरिन्छ। यस रोगमा प्रायः हाइड्रो अक्सिक्लोरिम वा क्लोरोक्विन नामक औषधि प्रयोग गरिन्छ। लुपसका बिरामी जसको मुटु, कलेजो, मिर्गाैला र नसाहरूमा असर गरेमा ग्लुकोकोटिक्सओइड्स र अन्य इम्युनसपे्ररिभ औषधि रितुक्जिम्याब जस्ता औषधि दिइन्छ।
कस्तो खाना खाने?
–यो बाथ रोगका बिरामीले कुनै पनि खानेकुरा बार्न आवश्यक छैन। तर शरीरलाई स्वस्थ राख्न सन्तुलित भोजन आवश्यक छ। चिल्लो कम भएको खाने कुरा, फलफूल, हरियो सागपात, तरकारी, रङ नहालिएको खैरो चामल र थौरै मात्रामा माछा–मासु खानुपर्छ। त्यसैगरी नुक कम खाने, कोलस्ट्रोल रहेका बिरामीले कम बोसो या कम चिल्लो भएको खाना खाने र क्याल्सियम र भिटामिन डी स्टोरोइड औषधि खानुपर्छ।
बिरामीले ध्यान दिनुपर्ने कुरा
- यो रोग लागेका बिरामीले घामको किरणबाट बच्नुपर्छ। यसका लागि छाता, लोसन वा घामबाट बच्ने क्रिम लगाउने, लामो बाहुला भएको कपडा वा घाम छेक्ने गरी लगाउने।
- बिरामीले सक्रिय जीवनका लागि नियमित व्यायाम गर्नुपर्छ।
- यस्ता बिरामीलाई निमोनिया र फ्लु भ्याक्सिन लगाउनुपर्छ।
- यो रोग लागेका धेरैजसो गर्भवती महिलाको गर्भपतन हुने गर्छ। शरीरमा एन्टिफोसफोलिपिड नामक प्रोटिनको मात्रा बढी भए गर्भपतन हुने जोखिम बढ्छ। गर्भ बस्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ। लुपस रोग नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवती हुने सल्लाह दिइन्छ। गर्भवती अवस्थामा पनि नियमित जाँच गराइराख्नु पर्छ र अन्य औषधि पनि नियमित खाने गर्नुपर्छ।
- नियमित जाँचको समय व्यक्तिअनुसार फरक पर्छ। रोग साधारण भए डाक्टरलाई तीनदेखि ६ महिनामा भेट्नुपर्छ। रोग नियन्त्रण नभएमा डाक्टरको सल्लाहअनुसार अनिवार्य जाँच गराउनुपर्छ।
लक्षणहरु
- हात र्जोनी दुख्ने।
- छालामा दाग आउने,चिलाउने,
- सुर्यको प्रकाशमा बाहिर निस्कन गाह्रो हुने,
- केश झर्ने।
- मृगौलाबाट प्रोटिन चुहिने
- रक्त कोषिकाको कमी हुने
- स्वस्थ्य रक्त कोषिकाहरु नष्ट हुदैँ जाने।
- नसा सम्वन्धी रोग लाग्ने
- मुटु रोग लाग्ने
- छारे रोग लाग्ने
- आँखा सुख्खा हुने
- फोक्सोमा पानी जम्ने
प्रकाशित: २८ वैशाख २०७६ ०९:५६ शनिबार