coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

औंला निलो हुने समस्या रेनाउड्स सिण्ड्राेम

डा.अंजल विष्ट
बाथरोग बिशेषज्ञ,वीर अस्पताल

जाडो समयमा वा चिसो पानी चलाउँदा वा कुनै मानसिक तनाब हुँदा केही ब्यक्तिहरुमा बारम्बार हातका औलाहरु सुन्निने र कम मात्रमा खुट्टाका औलाहरु तथा कहिलेकाही नाक, कान र लिप्सहरु पहिले सेतो, निलो र अन्त्यमा रातो हुने गर्दछ।  यसलाई राइनुड्स सिण्ड्रोम भनिन्छ।

असर परेको भाग दुख्ने लाट्टिने र रातो हुने अवस्थामा पोल्ने पनि हुन सक्छ। तर संधै तीनै प्रकारका रङ परिवर्तन नदेखिन पनि सक्छ।  यो असर प्रायजसो केही मिनट रहेतपनी कहिलकही घन्टौंसम्म पनि रहन सक्छ। यो समस्या प्रायः जसो १५ देखी ३० बर्षको उमेर समुहमा सुरु हुन्छ। यो महिलाहरुमा  बढी देखिन्छ। महिलाहरुमा पुरुषको तुलनामा बाथरोग बढी लाग्ने भएकोले यो रोग पनि महिलामा बढी लागेको देखिन्छ।

मानसिक तनावले होस् या चिसाको कारणले होस् जब औंलाका धमनीहरु साँघुरिन्छन्, औंलाका टुप्पोमा रगत संचालन हुन सक्दैन। त्यतिवेला औलामा रायनाउड्स सिण्ड्रोमका लक्षणहरु देखिन्छन्।

रायनाउड्स सिण्ड्रोमका दुई प्रकारका हुन्छन्। पहिलो प्राथमिक(प्राइमेरी रायनाउड्स) दोस्रो सकेण्डरी (द्वितिय रेनाउड्स)। औलामा आउने आफ्नै समस्याको कारण देखिने रेनाउड्सलाई प्राथमिक रेनाउड्स भनिन्छ।

कुनै अरु रोग अथवा कुनै कारणले गर्दा औंलाहरु निलो भएमा सेकेण्डरी रेनाउड्स भनिन्छ। यसको बिभिन्न कारण हुन सक्छ। यस मध्येमा बाथरोग,हातको चोट,धेरै हात हल्लिने,औजार प्रयोग गर्नु पर्ने थाइरोयड र अन्य औषधीको कारणले पनि हुन सक्छ। नेपालमा यो रोग १३.५ प्रतिशत महिलामा र पुरुषमा ३.८ प्रतिशत देखिन्छ। नेपालमा यो रोगको यकिन तथ्याकं छैन। तर, वीर अस्पतालको वाथरोग बिभागमा प्रति महिना ५ जना यस्ता बिरामी आउँछन्।

प्राथमिक रेनाउड्समा औलाहरु सेतो,नीलो हुने,औंलाहरु दुख्ने,औला पोल्ने लगायतका लक्षणहरु हुन्छन् भने द्वितिय रेनाउड्समा जोर्नीहरु दुख्ने,सुन्निने,मुख सुख्खा हुने,आँखा सुख्खा हुने,घाममा जाँदा गाला रातो हुने,टाउको दुख्ने,खाना निल्न गाह्राे हुने जस्ता लक्षणहरु देखिन्छ। त्यो वाहेक दम बढ्ने,छाति पोल्ने जस्ता लक्षण पनि देखिन्छ।

प्राथमिक रेनाउड्स सिण्ड्रोममा खासै जटिलता नहुन सक्छ। द्वितिय या सेकेण्डरी रेनाउड्समा रोग अनुसार जटिलता बाहेक घाउन निको हुन कठिन हुने,संक्रमण हुन सक्ने,औलाहरु रक्त संचालनको कमीले काम नलाग्ने पनि हुन सक्छ। रेनाउड्स प्राथमिक हो कि सकेण्डरी हो भन्ने विषयमा सवै भन्दा महत्वपुर्ण भनेको बिरामीको लक्षण हुन्। यदि अन्य लक्षण छैनन् भने प्राथमिक या प्राइमेरी रायनुड्स हुन सक्छ। यदि अरु पनि लक्षण छन् भने सकेण्डरी लक्षणहरु हुन्छ। प्राथमिक रेनाउड्समा प्राय दुई हप्तामै हातमा एक साथ सुरु हुन्छ। यसमा औलाहरुमा घाउ हुँदैन। आवश्यकता अनुसार रगत परिक्षण गरेपछि यसको पहिचान गर्न  सकिन्छ।

यसका साथै औलाहरुको धमनीमा रक्त सन्चालन हेर्ने एक प्रकारको जाँचवाट पनि प्राथमिक र सेकेण्डरी रेनाउड्स छुट्टयाउन सकिन्छ।

उपचार
प्राथमिक रेनाउड्समा बिरामी नियमित उपचारमा हुनु पर्छ। तर यो प्राथमिक रेनाउड्स्मा सकेण्डरी जस्तो खतरनाक हुँदैन। तर सकेण्डरी रेनाउड्स भने अन्य रोगको कारणले भएको हुँदा खत्रा हुन्छ। रेनाउड्स समस्यामा मुख्य गरी चिसोवाट बच्नु पर्छै। टोपी,जुत्ता,मोजा,जुत्ता,ज्याकेट जस्ता न्यानो कपडा लगाउनु पर्छ। बिरामी धुमपान गर्नु हुँर्दैन।  चिकित्सकको सल्लाह विना अनावश्यक औषधी सेवन गर्नु हुँदैन। यी उपायले कम नभएमा मल्हम लगाउने,औषधी खाने तथा सुईवाट औषधी दिनु पर्छ। कतिपय अवस्थामा शल्यक्रियाको पनि आवश्यकता पर्छ।

यो रोग रगतको नलीसित सम्वन्धित भएकोले बाथरोगसित सम्वन्धित भएकोले बाथरोग,नशा रोग बिशेषज्ञ तथा हाडजोर्नीै रोग विेशषज्ञ लगायतले उपचार गर्न सक्छन्। तर देशमा यी रोगको बिशेषज्ञ कम भएकोले बिरामी ढिला मात्र उपचारमा पुग्ने गरेको अवस्था छ।


प्राथमिक रेनाउड्स लक्षणहरु

–  औलाहरु सेतो हुने
– अ‍ैंला नीलो हुने
– औंलाहरु दुख्ने
– औला पोल्ने

सकेण्डरी रेनाउड्सका लक्षणहरु
– जोर्नीैहरु दुख्ने,सुन्निने
– मुख सुख्खा हुने
– आँखा सुख्खा हुने
–घाममा जाँदा गाला रातो हुने
–टाउको दुख्ने
–खाना निल्न गाह्राे हुने  

 

प्रकाशित: २८ वैशाख २०७६ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App