५ वैशाख २०८१ बुधबार
खेल

पूर्णिमामा मेलासँगै प्रतियोगिता

अन्नपूर्ण गाउँपालिका–९ उल्लेरीमा निर्माण गरिएको बास्केटलबल कोर्ट। तस्बिरः नागरिक

पोखरा–गाउँगाउँमा खेल मैदान निर्माण भइरहेका छन्। खेलकुदको पूर्वाधार विकासले गाउँको खेलस्तर उकासिँदै छ। बर्सेनि आयोजना गरिने विभिन्न प्रतियोगिताले नयाँ खेलाडीको उदय हुने गरेको छ।

कास्कीको अन्नपूर्ण गाँउपालिका–९ स्थित उल्लेरीमा स्थानीय युवाक्लबकै सक्रियतामा बास्केटबल कोर्ट निर्माण गरिएको छ। कोर्टमा बास्केटबलसँगै भलिबल प्रतियोगिता सञ्चालन गर्न सकिन्छ।

स्थानीयको श्रमदान, आफ्नै गाउँका बिदेसिएका युवापुस्ताको आर्थिक सहयोग र स्थानीय उल्लेरी भूमे युवा क्लबको सक्रियतामा उल्लेरीमा बास्केटलबल कोर्ट तयार गरिएको हो। तयार पारिएको कोर्टमा आउँदो जेठ ४ गते चण्डी पूर्णिया(बुद्ध जयन्ती)को अवसरमा आयोजना हुने मेलाकै लागि कोर्ट तयार पारिएको हो। कोर्टमा स्थानीयस्तरको बास्केटबल प्रतियोगिता र गाउँस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने क्लबले जनाएको छ।

२८ मिटर लम्बाइ र १३ मिटर चौडाइको कोर्ट तयार गरिएको छ। कोर्टका लागि प्राविधिक सहयोग भने गण्डकी प्रदेशका बास्केटबल प्रशिक्षक प्रदीप रसाइली गरेका हुन्। उनकै उपस्थितिमा कोर्टको ढलान, रेखांकन एवं फाइबल बोर्ड जडान गरिएको हो। ‘गाउँस्तरीय बास्केटबल र भलिबल प्रतियोगिता आयोजना गर्न सकिन्छ,’ प्रशिक्षक रसाइलीको भनाइ थियो।

म्याग्दीको पर्यटकीय क्षेत्र घोरेपानीको प्रवेश मार्गकोरूपमा रहेको उल्लेरी वीरेठाँटीदेखि झन्डै १३ किलोमिटर टाढा पर्छ। कच्ची मोटरबाटो पुगेपनि ढुवानीकै कारण खर्चिलो बन्न पुगेको हो। १९ सय ५० मिटरको उचाइमा कोर्ट निर्माण गरिएको छ।

कोर्ट बनाउन अन्नपूर्ण गाउँपालिकाले तीन लाख रुपैयाँ सहयोग उपलब्ध गरायो। सात लाख रुपैयाँ पोखरामा सहयोगीसँग उठाइयो। स्थानीय उल्लेरीबासीले श्रमदान गरे। उल्लेरीमै जन्मिएर बिदेसिएका युवापुस्ता बेलायतमा बस्दै आएकाहरूबाट आठ लाखभन्दा बढी सहयोग जुट्यो।

झन्डै २४ लाख रुपैयाँको लागतमा कोर्ट तयार गरिएको उल्लेरीस्थित उल्लेरी भूमे युथ क्लबका सल्लाहकार होमबहादुर पुर्जा पुनले जानकारी गराए। क्लबका अध्यक्ष विकास पुन, उपाध्यक्ष जुविन पुन, सचिव खेम सेन्चुरी तथा कोषाध्यक्ष राम पुनको सक्रियतामै कोर्ट निर्माण पूरा गरिएको थियो। पुन समुदायले पूर्णिमाको दिन भूमे पूजा गर्ने गरेका छन्।

क्लबले २०४४ सालदेखि उल्लेरीमा मेला आयोजना गर्दै आएको छ। त्यसैको निरन्तरता स्वरूप बुद्ध जयन्ती पूर्णिमाको दिन क्लबले मेलालाई निरन्तरता दिने जनाएको छ। मेलामा बास्केटबल प्रतियोगिता र भलिबल प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष विकास पुनले जानकारी दिए। बास्केटबल प्रतियोगिताका विजेताले ७५ हजार रुपैयाँ र उपविजेताले ४५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

त्यसैगरी, गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेताले पनि ७५ हजार र उपविजेताले ४५ हजार राशिको पुरस्कार थाप्ने छन्। मेला व्यवस्थापन गर्न क्लबले सात लाखभन्दा बढी खर्च हुने अनुमान समेत गरेको छ। आफ्नो गाउँको विकास आफैं गरौं भन्ने अभियानलाई सार्थकता दिँदै विदेशमा रहेका युवापुस्ताको आर्थिक सहयोगमा निर्मित कोर्टले खेलकुदमा नयाँ आयाम दिने विश्वास क्लबले लिएको छ।

प्रकाशित: २८ वैशाख २०७६ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App