१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ग्रामीण क्षेत्रका सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु

म्याग्दी सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्रमा जाँदै गरेका सवारीसाधनमा यात्रु। तस्बिरः नागरिक

म्याग्दी– जिल्लाको ग्रामीण क्षेत्रमा निजी तथा भाडाका सवारीसाधनले क्षमताभन्दा चार गुणा बढी यात्रु बोक्ने गरेका छन्। बोलेरो, जिप तथा बसले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

अत्यन्त साँघुरो र जीर्ण, अक्केर भिर चिरेर बनेका सडकमा व्यवसायीले छत र ढोकामा समेत यात्रु राखेर ओसार्ने गरेका छन्। ट्र्याक मात्र खोलिएका जिल्लाका सबैजसो सडकमा निजी तथा सार्वजनिक भाडामा सवारीसाधनले दर्ता प्रमाणपत्रमा उल्लिखित सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले दुर्घटनाको जोखिम बढेको यात्रुकै गुनासो छ।

‘यात्रु पनि जबरजस्ती चढ्ने गरेका छन्, पिपलको पातमा ज्यान राखेर यात्रा गरेजस्तै हुन्छ,’ अर्मनका जगत बानियाँले भने। ५–६ सिटको क्षमता भएका सवारीसाधनमा समेत २५ जनासम्म राखेर ओसार्ने गरेका छन्। जिल्लाका ग्रामीण क्षेत्रमा सामान ढुवानी गर्ने सवारीसाधनले समेत नियमित रूपमा यात्रु बोक्ने गरेका छन्। निर्माण र खाद्यान्न सामग्रीसँगै यात्रुसमेत ओसार्ने गरेकाले बेलाबेला दुर्घटनासमेत हुने गरेको छ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले ग्रामीण सडकमा छतभरि यात्रु राखेर चलाउने सवारीसाधनलाई निगरानी गरिएको बताए। ‘नियमविपरीतका सवारीसाधनलाई कारबाही गरिन्छ,कमाउने नाममा यात्रुलाई जोखिममा राख्न पाइँदैन,’ मरासिनीले भने।

मरासिनीका अनुसार ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीले छड्के चेकजाँच गर्ने गरेपनि बिहान–बेलुकी यात्रुले समेत ज्यानको प्रवाह नगरी यात्रा गर्छन्। उनले इलाका प्रहरी र चौकीबाट समेत नियमित चेकजाँच गर्ने गरी खटाउने बताए।

जिल्ला ट्राफिक प्रहरीले ठाउँठाउँमा कारबाही गरेको अवस्थामा ट्राफिक प्रहरी पोस्टभन्दाअलिक पर रोकेर यात्रु ओराल्ने तथा प्रहरी चौकी कटिसकेपछि पुनः छत र भित्र कोच्ने गरेका छन्। जिल्लामा पछिल्लो एक दशकयताका दुर्घटनाको प्रमुख कारण क्षमताभन्दा धेरै यात्रु र कच्ची सडक नै देखिएको छ।

प्रकाशित: २८ वैशाख २०७६ ०७:३३ शनिबार

यात्रु सवारीसाधन सिण्डिकेट