८ वैशाख २०८१ शनिबार
अन्य

समृद्धिका लागि कृषि, पर्यटन र ऊर्जाशक्तिको खाँचो

उदयपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउन कृषि क्रान्ति, पर्यटन र ऊर्जाशक्तिको विकास गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीको ‘जागरण अभियान’को सिलसिलामा उदयपुर आइपुगेका नेता पौडेलले नेपाल प्रेस युनियतद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कृषि, पर्यटन र ऊर्जाशक्तिको विकासबाट मात्र देश समृद्ध हुने कुरामा जोड दिएका हुन्।

नेता पौडेलले समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारले अघि सारेको नारा अनुसार देश अघि बढाउन मुलुकमा कृषि क्रान्तिअपरिहार्य रहेको, पर्यटन विकास र ऊर्जाशक्तिलाई व्यापक बनाउनुपर्ने सुझाव दिए। तर, देशको वर्तमान अवस्था हेर्दा सरकारले अघि सारेको नाराको खिल्ली सरकार आफैंले उडाइरहेको उनको बुझाइ थियो। जनता पिउने पानी र खेतबारीमा सिँचाइ गर्न समेत नपाइरहेका बेला सरकार भने पानीजहाज कुदाएर देश समृद्ध बनाउँछु भन्दै सपना बाँड्दै हिँडेकोमा उनको असहमति थियो।

पौडेलले कम्युनिस्ट सरकारले आफ्नो सत्ता टिकाइराख्ने राम्रो अवसरलाई सदुपयोग गर्न नसकेको टिप्पणी गरे। नेकपाको दुई तिहाइ बहुमतको सरकारले जनताको दैनन्दिन कार्यमा कुनै परिवर्तन गर्न नसकेको भन्दै उनले बहुमतको सदुपयोग गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ थियो। ‘कम्युनिस्ट शासनमा विकास कस्तो हुन्छ भनेर हेर्ने चाहना जनताको थियो’, पौडेलले भने, ‘त्यही चाहना पूरा गर्न जनताले दुई तिहाइ बहुमत दिएका थिए। तर, बहुमतको सरकाले जनताको भावनामा तुसारापात गरिदियो।’

कांग्रेस महाधिवेशन निर्धारित समयमा हुन सक्छ कि सक्दैन भन्ने जिज्ञासामा नेता पौडेलले सभापति देउवा प्रस्ट बहुमतमा भएकाले यस विषयमा केही भन्न नसकिने भन्दै टारे। ‘निर्धारित समयमै महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो तर,’ पौडेलले भने, ‘सभापतिज्यू स्पष्ट बहुमतमा हुनुहुन्छ, समयमा महाधिवेशन गर्ने नगर्ने भन्ने कुरा उहाँले चाहेअनुसार हुने हो, हामी यसै भन्न सक्ने अवस्थामा छैनौं।’ उनले समयमा महाधिवेशन नभएमा देशले ठूलै नोक्सानी व्यहोर्नुपर्ने भन्दै नेतृत्वलाई सचेत भने गराए। कांग्रेसको महाधिवेशनलाई लोकतन्त्रको आधार भएको व्याख्या गर्दै उनले महाविधेशन रोक्नु भनेको लोकतान्त्रिक प्रक्रिया नै रोक्नुसरह भएकाले लोकतन्त्रलाई खतरामा पार्ने र देशलाई अहित हुने काम नेतृत्वबाट हुन नहुने जिकिर गरे।

प्रकाशित: २८ वैशाख २०७६ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App