८ वैशाख २०८१ शनिबार
समाज

जस्बिरे जगाउने भैरव सर

साढे ३ दशकअघि भैरव रिसालले देखाएको बाटो पहिल्याएर आर्थिक उन्नतिको पथमा लम्केको इलामको जस्बिरे गाउँ। तस्बिरःनागरिक

इलाम– जस्बिरे गाउँका वृद्ध सूर्य सुब्बा सातादेखि नै निकै खुसी, हर्षित र उत्सुक देखिन्थे। घरमा आएका र आफूले भेटेजतिलाई उनले सुनाउने ‘ब्रेकिङ न्युज’ भएको थियो– भैरव सर हाम्रो गाउँ आउँदै हुनुहुन्छ नि ! तपाइँलाई थाहा भो?’

नभन्दै, ‘भैरव सर’ बिहीबार जस्बिरे आउँदा उनको सम्मानमा बाटैदेखि शिर नझुकाउने गाउँले थिएनन्। उनलाई चिन्नेले चिनिहाले, नचिन्ने नयाँ पुस्तालाई पनि गाउँका घर–घरमा सातादेखि उनका बारेमा भइरहेको चर्चाले र किस्साले चिनाइसकेको थियो। भैरव सर बिब्ल्याँटे बजारबाट उकालो लाग्नेबित्तिकै गाउँमा कुनै ठूलो उत्सव र चाड आएझैं भयो स्थानीयलाई। उनी गाउँ आउने दिनसम्ममा सूर्य सुब्बामात्र होइन, जस्बिरे गाउँमा एकले अर्कालाई भेट्नेबित्तिकै सुनाउने पहिलो खबर नै बनिसकेका थिए भैरव सर।

भैरव रिसाल अगुवा पत्रकार र लेखक हुन्। उनको घर इलाम होइन। तर, उनले ३४ वर्षअघि लगाएको गुन तिर्न गाउँले जस्बिरेमा भेला भइसकेका थिए। रिसाललाई स्थानीयले गाउँमै बोलाएर सम्मान गरेका हुन्। उनले गाउँको मुहार फेर्न देखाएको बाटो समातेरै जस्बिरे अहिले जिल्लाको आकर्षक पर्यटकीयस्थल मात्र बनेको छैन, तरकारी, चिया, दूध र नगदेबालीले आर्थिक उपार्जनको केन्द्रसमेत बन्दैछ।

स्विट्जल्यान्डअन्तर्गतको आलुसम्बन्धी परियोजना लिएर २०४२ सालमा जस्बिरे छिरेका रिसालले यहाँका किसानलाई चिया खेती गर्न सिकाए। त्यही चिया अहिले गुणस्तरीय तयारी चियाका रूपमा विश्वका नामी देश र सहरसम्म पुग्न थालेको छ। अहिले पनि जस्बिरे र अलि तल्तिर धारापानीमा उत्पादन हुने तरकारीले नै इलाम बजारको आधाभन्दा बढी माग धानिरहेको छ। दशकअघि सवारीका साधन चल्ने सडक सुविधा नभएका बेला पनि सदरमुकामका बासिन्दा बिहान उठ्दानउठ्दै जस्बिरे र धारापानीका किसान थुन्से र डोकामा तरकारी बोकेर आइपुग्थे। यिनै ठाउँबाट अहिले पनि तरकारी त इलाम बजारमा उसैगरी आउँछ तर पिठ्युँमा बोक्ने चलन चाहिँ अलि कम भएको छ।

जस्बिरेमा रहँदा रिसालले किसानलाई आलु रोप्ने उन्नत विधि सिकाए। उनकै सक्रियतामा जस्बिरेमा चिया विस्तार आयोजनाको अवधारणा सुरु भएको स्थानीय अगुवा तथा पूर्वशिक्षक सूर्य सुब्बा सुनाउँछन्। त्यसपछि जस्बिरेमा चिया विस्तार आयोजनाको कार्यालय नै स्थापना भएको छ। देशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डसमेत स्थापना भएको छ र अन्य स्थानमा पनि त्यसको सेवा विस्तार भएको छ। ‘भैरव सरले यहाँ आएर आलु, चिया खेती गर्न मात्र होइन, गाउँमा विकासको लहर कसरी भिœयाउन सकिन्छ भनेर गाउँलेका आँखा खोलिदिनुभएको थियो,’ सुब्बाले झन्डै ४ दशकअघिको जस्बिरे सम्झिए, ‘उहाँ (रिसाल)ले यो गाउँ नटेक्नुभएको भए यहाँको आर्थिक, सामाजिक विकास यति चाँडै हुनेथियो या थिएन, भन्न सकिन्न।’

परोपकार संस्था, लुथरनको हस्तकलासम्बन्धी कार्यक्रमलगायतको स्थापना र सञ्चालनमा पनि रिसालको भूमिका महत्त्वपूर्ण रह्यो। यहाँ बसाइका बेला उनकै पहलमा जस्बिरे र आसपासमा हुलाक, कृषि विकास बैंक स्थापना भएको गाउँले सम्झन्छन्। जस्बिरेमा दूध संकलन केन्द्र, चिस्यान केन्द्र स्थापना गर्न पनि रिसालको भूमिका महत्त्वपूर्ण रहेको ठान्छन् स्थानीय जनप्रतिनिधि श्यामकमल मुखिया। अहिले यहाँका किसान दूध उत्पादन र विक्रीबाट राम्रो कमाइ गरिरहेका छन्। ‘त्यो जमानामा आएर भैरव सरले यहाँको एकीकृत विकासमा अतुलनीय योगदान गर्नुभएको रहेछ,’ मुखियाले भने, ‘जस्बिरेबासीले उहाँले लगाएको गुन बिर्सिएका छैनन्, बिर्सने छैनन्।’

उनकै आगमनले गाउँले मुहान फेर्न सफल भएपछि जस्बिरे समाजले ९१ वर्षे रिसाललाई ‘युवा पुरुष’ उपमा समेत दिएर सम्मान गरेको हो। सधैं ऊर्जावान्, जोसिलो, गतिशील र क्रियाशील रिसाल आफूहरूका लागि प्रेरणाको स्रोत भएको स्थानीय युवक मिलन मुखियाले बताए। परियोजनाको जागिर खान आएपनि रिसालले जस्बिरे गाउँलाई जुरुक्क उचाल्न योगदान गरेको युवाहरू बताउँछन्। त्यतिबेला राजा वीरेन्द्रलाई जस्बिरेसम्म ल्याएर भ्रमण गराउन सबैभन्दा पहिलो भूमिका निर्वाह गर्ने पनि उनै रिसाल थिए।

‘भैरव सरले यहाँ आएर जागिर मात्र खानुभएन,’ पुरानै लयमा सुस्ताइरहेको गाउँलाई तंग्र्याउनुभयो। हावा बहकिएको समाजमा ताजा हावा चलाइदिनुभयो,’ पत्रकार शिव मुखिया भन्छन्, ‘आलु रोप्न आएका भैरव सरले हरेकको मनमा जाँगर र उत्साहको बीऊ रोपिदिनुभएको रहेछ।’ जस्बिरेको विकासका लागि रिसाल ‘मास्टर माइन्डेड’ नै भएको मुखिया बताउँछन्।

प्रकाशित: २८ वैशाख २०७६ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App