८ वैशाख २०८१ शनिबार
राजनीति

महाभियोगबारे कांग्रेसमा तीव्र बहस, पक्षमा भन्दा विपक्षमा धेरै

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा पेस भएको महाभियोग प्रस्तावलाई लिएर विभाजित देखिएका छन्। प्रस्तावको पक्षमा उभिन पार्टी नेतृत्वलाई दबाब परिरहेका बेला सदस्य भने महाभियोग प्रस्तावको पक्ष विपक्षमा बाँडिएका छन्।

केन्द्रीय सदस्यहरू गगनकुमार थापा, प्रदीप पौडेल, धनराज गुरुङ, विश्वप्रकाश शर्मासहितका नेता महाभियोगको पक्षमा छन्। चीनकाजी श्रेष्ठ, शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रामशरण महत, एनपी साउद, दिलेन्द्रप्रसाद बडू, किरण यादव, रत्ना शेरचन, कमला पन्त, गुरुराज घिमिरेसहितका नेताहरूले कसैको लहड र दबाबमा निर्णयमा पुग्न पार्टीले हतार गर्न नहुने बताएका छन्। योग्यताको प्रश्न उठाउँदै कार्कीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन समेत रहेकाले निर्णयमा पुग्न हतार गर्न नहुने उनीहरूको तर्क छ।

'सडकबाट लोकमानसिंह कार्कीका विरुद्ध निर्णय गर भन्दैमा पार्टीले निर्णय लिँदैन', कांग्रेस प्रमुख सचेतकसमेत रहेका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले भने, 'सार्वभौम संसद्का सदस्यले आफ्नो अधिकार प्रयोग गरेर धारणा राख्छन्, पार्टीले अन्तिममा निर्णय लिन्छ।'

प्रस्ताव दर्ता हुँदा र कार्यसूची तयार हुँदासमेत पार्टीलाई कुनै जानकारी नदिएको भन्दै श्रेष्ठले महाभियोग प्रस्ताव अचानक किन आयो भन्ने विषयमा पार्टीले विश्लेषण गरिरहेको जनाए। 'प्रस्तावक दलहरूमै दुविधा छ', उनले भने, 'हस्ताक्षरकर्ता सांसदले नै जबर्जस्ती भयो भनिराखेका छन्।' संवैधानिक व्यवस्थाविपरीत महाभियोगका आरोपीलाई सफाइको मौका नदिई पार्टीले पक्ष वा विपक्षमा धारणा बनाउनु पूर्वाग्रही हुने उनको तर्क थियो। 'संविधान र संसदीय व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्छ', श्रेष्ठले भने, 'आरोपीलाई जबाफको मौका दिनुपर्‍यो, त्यसमा चित्त बुझेन भने के गर्ने भन्ने निर्णयमा पुग्ने हो।'

अर्का सदस्य घिमिरेले संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लैजाने प्रयास भइरहेका बेला एमालेको अग्रसरता र माओवादीको संलग्नतामा हठात महाभियोग प्रस्ताव आउनु आर्श्चयजनक भएको बताए। 'पात्र र प्रवृत्तिभन्दा पनि कांग्रेसलाई जानकारी नै नदिई जुन समयमा प्रस्ताव आएको त्यो षड्यन्त्रपूर्ण छ', घिमिरेले भने, 'कांग्रेस पहिला त्यसमा स्पष्ट हुनुपर्छ।'

एमालेका केही नेतामाथि भ्रष्टाचारको मुद्दा चल्ने भएपछि प्रस्ताव दर्ता गराएको आरोप लगाउँदै घिमिरेले उनले भने, 'कसैलाई जोगाउन संवैधानिक अंग र व्यवस्थालाई संकटमा पार्ने काम राम्रो होइन।'

संविधानले नै आरोपीलाई सफाइको मौका दिने व्यवस्था गरेको जनाउँदै घिमिरेले भने, ' जसलाई महाभियोग लागेको हो उसलाई सफाइको मौका नदिई धारणा बनाउनु पूर्वाग्रह हुन्छ। त्यस्तो काम पार्टीले गर्दैन।'

केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रधानमन्त्री बन्न आफूलाई समर्थन गर्ने पार्टी कांग्रेसकै सभापतिसँग झुट बोल्नुपर्ने अवस्थामा पुष्पकमल दाहाल कसरी पुगे भन्ने विषयमा विश्लेषण जारी रहेको बताए। 'संस्थागत भ्रष्टाचार गर्ने पक्षबीच कुरा नमिल्दा महाभियोग प्रस्ताव आएको हो', भट्टराईले भने, 'संविधान कार्यान्वयनदेखिका सबै विषयमा विश्लेषण गरेर कांग्रेसले उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छ।'

कार्कीविरुद्ध अदालतमा योग्यताको मुद्दा विचाराधीन रहेका बेला संसद्मा महाभियोग प्रस्ताव लैजानु पनि शक्ति सन्तुलनको सिद्धान्तविपरीत भएको उनको तर्क छ।

तर, केन्द्रीय सदस्यहरू थापा, पौडेल, शर्मा, गुरुङसहितका नेताहरूले 'तपसिलको विषय देखाएर महाभियोगको विपक्षमा उभिन नसकिने' स्पष्ट पार्दै आएका छन्। विगतमा राजनीतिक दलहरूले गरेको गल्ती सच्याउने उपयुक्त समय भएको जनाउँदै उनीहरूले दायाँबायाँ नगरी महाभियोगको पक्षमा पार्टी उभिनुपर्नेमा जोड दिएका छन्।

जनआन्दोलनका दोषी कार्कीलाई अख्तियार प्रमुख बनाएर राजनीतिक दलहरूले गरेको गल्ती सच्याउने उपयुक्त अवसर भएको तर्क गर्दै थापाले केन्द्रीय समिति बैठकमा भने, 'कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेर भएको गम्भीर राजनीतिक भुलबाट चोखिने यो अवसर हो।'

एमालेको अहंकार र सत्ता राजनीति तपसिलको विषय भएको टिप्पणी गर्दै अर्का सदस्य पौडेलले यो वा त्यो बहानामा कार्कीलाई बोक्न नसकिने बताए। 'एमाले जिम्मेवार बनेन भन्दैमा कांग्रेस पनि गैरजिम्मेवार बनेर राष्ट्रिय राजनीतिलाई संकटमा पार्नु हुन्न', पौडेलले भने, 'कार्कीको बचाउ होइन, संविधान कार्यान्वयनमा लाग्नुपर्छ।'

कांग्रेसको बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राखेका २५ केन्द्रीय सदस्यमध्य थापा, शर्मा, पौडेलबाहेक अरू महाभियोग पक्षमा खुलेका छैनन्। महेश आचार्य, रामकृष्ण यादव, कल्याण गुरुङ, नवीन्द्रराज जोशी, रमेश लेखक, फरमुल्लाह मन्सुरसहितका नेता कतै पनि खुलेका छैनन् केन्द्रीय समिति बैठक सोमबार पनि बस्नेछ।

महाभियोग पक्षमा

गगनकुमार थापा, प्रदीप पौडेल, धनराज गुरुङ, विश्वप्रकाश शर्मा

महाभियोग विपक्षमा

चीनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रामशरण महत, शेखर कोइराला, एनपी साउद, दिलेन्द्रप्रसाद बडू, किरण यादव, रत्ना शेरचन, कमला पन्त, गुरुराज घिमिरे

प्रकाशित: ८ कार्तिक २०७३ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App