८ वैशाख २०८१ शनिबार
अन्य

५ लघुकथा

इद्रिस सायल
हलीमाका बुबाआमाले कारण देखाउँदै भने, ‘केटाहरूले सताउँछन् । आँखा मार्छन् । सुनाएर गाना गाउँछन् । आइ लभ यु भन्छन् । त्यसैले हाम्री छोरी हलीमा अब पढ्न आउँदिनन् ।’

रमजान  
रमजान सुरु भैसकेको थियो । मेरो छिमेकी कमर अली गाउँको एउटा परिवारमा भनेर आयो, ‘आजदेखि साँझको खाना लिन आउनुहोला । त्यसपछि रमजानभरि खाना लिन आउनुपर्छ ।’ त्यो परिवार गाउँमा सबभन्दा गरिब थियो । तर त्यो परिवारलाई खाना लिन कमरले मात्र बोलाएको थियो । अरूले त उही शाईं जातिलाई नै खाना दिइरहेका थिए । त्यो परिवारले कमरको घरबाट खाना लिएर आएको धेरैले देखे । धेरैलाई आश्चर्य लाग्यो र सोधे, ‘यो के गरेको, कमर ? शाईं जातिलाई रमजानको खाना किन नदिएको ?’

‘रमजानको खाना मैले शाईं जातिलाई दिइनँ । त्यही खाना मैले एउटा गरिब परिवारलाई दिइरहेको छु’, कमरले स्पष्ट रूपमा भन्यो । यसो गरेकामा उसलाई गर्व महसुस भैरहेको थियो । ‘यो हाम्रो परम्परा होइन । रमजानको खाना शाईं जातिलाई दिनु पो हाम्रो परम्परा हो । यो परम्परा जोगाउनुपर्छ’, गाउँबासीले भने ।

‘काम नलाग्ने परम्परा जोगाउनुपर्छ भन्ने पक्षमा म छैन । सबै शाईंहरू गरिब नै हुँदैनन् । त्यसैले रमजानको खाना गरिबलाई दिनुपर्छ । त्यो गरिब शाईं जाति भए पनि हुन्छ’, कमरले भन्यो । ‘काम नलाग्ने परम्परा भन्नाले ?’, गाउँबासीले सोधे । ‘शाईं जातिलाई रमजानको खाना दिने परम्परा काम नलाग्ने परम्पराकै एउटा उदाहरण हो । यस्तो परम्परालाई जोगाउनु पर्दैन’, कमरले ढृढतापूर्वक भन्यो ।

‘कस्तो परम्पराविरोधी कुरा गर्न सकेको ?’ ती गाउँबासी कमरसित रिसाए । ‘मलाई परम्परा विरोधीकै रूपमा रहन दिनुस्’, कमरले उनीहरूको रिसलाई सहज रूपमा लियो र भन्यो ।
...
हाजी साहेब
बाल मोहम्म्दका पिताजी हैजाको महामारीमा परेर बितेका थिए । त्यतिबेला बाल मोहम्मद दस वर्षको थियो । उसका दुई भाइ र दुई बहिनी पनि थिए । त्यतिबेला बाल मोहम्मदकी आमाको उमेर पैंतिस वर्षभन्दा बढी थिएन । त्यसपछि ३८ वर्षकी भएपछि उसकी आमाले अर्को विवाह गरेकी गरेकी थिइन् । विवाह गरेको पुरुष कुमार थियो र ऊ पनि ३५ वर्षभन्दा बढीको थिएन । विवाह गर्दा बाल मोहम्मदकी आमाले भनेकी थिइन, ‘विवाहपछि तिमी मेरै घरमा बस्नुपर्छ ।’

‘बस्छु’, त्यो पुरुषले स्वीकारेको थियो । यद्यपि त्यो पुरूष हिन्दू थियो र त्यतिबेला नै इस्लाम धर्म स्वीकार गरिसकेको थियो । बाल मोहम्मद र उसका भाइबहिनीहरू जवान भैसकेका थिए । उसकी आमाचाहिँ बूढी हुँदै गएकी थिइन् । बूढी आमालाई उनीहरूले घरबाट निकालिदिएका थिए(हिन्दूसँग विवाह गरेको भनेर।

त्यसपछि उसकी बूढी आमाले भीख मागेर खाना थालेकी थिइन् । उता बाल मोहम्मद आफ्नो उमेर ढल्केपछि मक्कामा हज गर्न गएको थियो । हज गरेर फर्केपछि उसलाई मुसलमानहरूले ससम्मान हाजी साहेब भनेर सम्बोधन गर्थे, ‘हाजी साहेब,अस्सलामो अलैकुम !) तर जब बाल मोहम्मदकी बूढी आमा तिनै ढोकाहरूमा भीख माग्न जान्थिन, तब उनीहरूले गाली गर्थे, ‘फेरि भीख माग्न आई मगतिनी ।’
...
अफसोस
उमेर ढल्कनुपूर्व नै शौकतजी हज गर्न गएका थिए । हजचाहिँ आफ्नी श्रीमती समशुलसँगै गर्न गएका थिए । मक्काबाट हज गरेर फर्केपछि एक वर्षभित्रै शौकतजीले अर्को विवाह गरेका थिए । उनले अर्को विवाह पतुरिया (नौटङ्की नाचमा नाच्ने महिला)सँग गरेका थिए । नाच हेर्न जाँदा एउटा पतुरियासँग उनको प्रेम हुन गएको थियो । प्रेम भएपछि नै त्यो पतुरियासँग शौकतजीले विवाह गरेका थिए । त्यो विवाह गरेपछि थोरै मुसलमानले मात्र त्यस विवाहलाई स्वाभाविक भनेका थिए, ‘पतुरियासँग विवाह गर्ने हाजी शौकतजी महान व्यक्ति हो ।’तर धेरैजसो मुसलमानले त्यस विवाह देखेर अफसोस जाहेर गरेका थिए, ‘हाजी मान्छेले पतुरियासँग विवाह गर्नु भनेको अल्लाहको नजरमा गुनहगार (दोषी) हुनु हो ।’
...
हलीमाको पढाइ
‘भोलिदेखि पढ्न नजानु छोरी !’ हलीमाका बुबाआमाले छोरीलाई यस्तो आदेश दिए । त्यतिबेला हलीमा पन्ध्र वर्षकी थिइन् र दस कक्षामा पढ्थिन् । कक्षामा हलीमालाई एक दिन एउटा केटाले आँखा मारेको थियो । त्यो कुरा उनले नै बुबाआमालाई भनिन् । त्यसपछि हलीमालाई उनका बुबाआमाले पढ्न जानबाट रोके, ‘भोलिदेखि पढ्न नजानु, हलीमा ! छोरीको जातले पढेर पनि के काम ! अर्काको घरमा जानैपर्छ ।’

हलीमाले पढ्न जान छोडेपछि स्कुलका हेडसरले सोधेका थिए, ‘हलीमा केही दिनदेखि पढ्नै आउन्नन् त !’ ‘अब हलीमाले पढ्दिनन्’, उनका बुबाआमाले सहजै भने । ‘किन ?’, हेडसरले कारण जान्न चाहे । हलीमाका बुबाआमाले कारण देखाउँदै भने, ‘केटाहरूले सताउँछन् । आँखा मार्छन् ।

सुनाएर गाना गाउँछन् । आइ लभ यु भन्छन् । त्यसैले हाम्री छोरी हलीमा अब पढ्न आउँदिनन् ।’‘यस्तो सानो कुराले पनि छोरीको पढाइ छोडाउने ? अहँ, छोरीको पढाइ छोडाउनुहुन्न । निरन्तर पढ्न पठाउनुपर्छ । सताउने केटाहरूलाई हामी ठिक पार्छौं । दण्डित गर्छौं’, हेडसरले हलीमाका बुबाआमालाई सम्झाए । तर पनि त्यो कुरा उनीहरूको समझमा आएन । उनीहरूले हलीमालाई पढ्न पठाएनन् । छोरीको पढाइ छोडाउनुमै सन्तोष माने ।
......
 
चेतावनी
खूबी बेगमको विवाह भएको तीन वर्षपछि गौना भएको थियो । उसको ससुराली एकदमै नजिकै थियो । खूबीको गौना भएको एक महिना पनि नबित्दै ऊ पतिघरमा बस्न थालेकी थिई । पुलिस हवल्दार रूपेश कलवार त्यहाँ पनि जान थालेको थियो । माइतमा रहँदा त एक दिनमा दुईतीन चक्कर लगाउँथ्यो । बाइकमा चढेर रूपेश खूबीको गाउँमा पुगेपछि सोधेको थियो, ‘उम्मत अलीको घर कुन हो ?’ उम्मत अलीचाहिँ खूबीको पतिको नाम थियो । मानिसले तुरुन्तै बताइदिए, ‘ऊ त्यो खपडाको सानो घर हो ।’

रूपेश त्यही घरको ढोकामा पुग्यो र सोध्यो, ‘घरमा को छ ?’ सुनेर पहिले उम्मत अली त्यहाँ आयो र सोध्यो, ‘केही काम छ?’ रुपेशले हकारेर भन्यो, ‘तिमीसँग काम छैन । खूबीसँग काम छ ।’ तबसम्म खूबी त्यहाँ आइसकेकी थिई र हाँस्दै सोधी, ‘कहाँ,कलवार कहाँ?’

रूपेशले खूबीको गाला चुम्दै भन्यो, ‘तिम्रो माया लागेर आएँ ।’ अर्को दिन रूपेश फेरि त्यहाँ गयो । उसले पुलिस बर्दी पनि लगाएको थियो । रूपेशले उम्मत अलीलाई देखेर एकाएक यस्तो चेतावनी दियो, ‘सुन, कुकुर ! पुलिससँग बोली भनेर तैंले खूबीलाई गाली गर्छस,हैन ! अबदेखि गाली गरिस् भने खरानी लगाएर तेरो जिब्रो झिकिदिन्छु ।’

प्रकाशित: २८ वैशाख २०७६ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App