७ वैशाख २०८१ शुक्रबार
अन्य

चार टुक्रा मुुटु

‘यो मान्छेले कति ढाँट्न र कुराउन सकेको,’ बार्दलीमा टोलाइरहेकी आमा देखेर पिँढीमा टुसुक्क नबसी जानकी गुनासो गर्न थालिन्, ‘म त हजुरको छोरा कुर्दाकुर्दै ढिँडोको पानीझैँ बूढो हुन्छु कि क्या हो आमा, हेर्नोस् न, कुमार त यो दशैँमा पनि नआउने रे नेपाल !’

‘हो र, मैले त मोबाइल चार्जमा राखेको छु, केही खबर आयो कि, हेरेकी छैन,’ आमाले चाउरिएको गालाले कृत्रिम मुस्कान फाल्ने प्रयास गरिरहेको थियो र भन्नुभयो, ‘त्यसले हामीलाई त अत्यास लगायोलगायो, तिमीलाई पनि कुराएर बूढी कन्या बनाउने भयो, मंसिरमा बिहे गर जानकी यसपालि अरू नै खोजेर । कति कुर्नु त्यसलाई ?’

‘अँ गर्छु नि यतिकै अरूसँग बिहे, उसले अहिलेसम्म कुराएको क्षतिपूर्ति लिन्छु पहिला, भूकम्पपछि चिसो शीतमा आमाबाबुलाई सुताएर ऊ चैँ खुब क्यानडामा अपार्टमेन्टमा बस्ने होइन ?’ जानकीले थपिन्, ‘म नभएको भए तपाईंहरू नि त्यही शीतमा बिलाएर यतिखेर म एक्लै हुन्थेँ, ल आउनुस् त तल, यो सारी हेर्नुहोस् त एक पटक ।’

‘बुबा कता निस्कनु भएछ, एक कप चिया पिउने तलतल थियो, एक्लै के घुट्क्याउनु भनेर बार्दलीमा टहलिएकी,’ आमाले भन्नुभयो, ‘जाँगर भए पकाऊ त दुई कप कालो, मरिच हालेर, बुबा आउनु भएपछि फेरि पकाइदिउँला ।’ ‘ल यो सारी हेर्नुहोस् त, कुमारले अनलाइन सपिङबाट अर्डर गर्देको रे हजुरलाई, मन नपरे फिर्ता गरेर अर्को ल्याउनु प-यो ।’

‘मर्ने बेला हरियो काँक्रो,’ आमा फत्फताउन थाल्नुभयो, ‘उमेरमा त्यसका बाउले यस्तो राम्रो सारी ल्याइदिएको भए पो, रहर मरेपछि केको रंगीन सारी, तिम्लाई नै हुन्छ भने राख, मान्छे नआए पनि सारी त आयो । ऊबेला यसका बाउले त्यसै गर्नुभयो, न रहरका जिनिस दिए न उमेरमा आफूसँगै अँगालोमा पोइ भयो, जागिर खाने भनेर मकवानपुरतिर बिताए कुर्कुरे उमेर जति, धन्न एउटा कुमार चैँ जन्मिन भ्यायो र त्यसैको आशामा यो जिन्दगी तन्किरहेको छ ।’

‘अँ हुन्छ नि, अहिलेदेखि आमाको सामानमा लामो हात भनेर उसले भन्न बाँकी राख्छ, तपाईंलाई थाहै छ छोराको बानी, त्यसमाथि म त सेविका न भएकी छु, तपाईंको छोरा आउला र सिउँदो सजाउँला भन्दाभन्दै साथीहरूका छोराछोरी प्लसटु पढ्ने भइसके ।’

फुंग उडेको अनुहार लुकाउन खोज्नु भयो आमाले । दाँत कोट्याउँदै भन्नुभयो, ‘जाऊ न चिया पकाऊ, यहाँ भएको भए र विवाह भएको त हाम्रो नाति पनि सातआठ पढ्ने हुन्थ्यो होला, अब त्यो कालेलाई किन विदेश प्यारो भएको हो, कुइरिनीको लाम्टोमा रत्तियो कि क्या हो ?’

‘तपाईंको छोरा, मैले त बाटोमा भेटेको न हुँ, मन पराएको थिएँ, फेरि बाटोमै गुमाएँ,’ जानकीले भनिन्, ‘भेट्न पाए पनि पहिला त किन यत्रो वर्ष कुराएर अधमरो बनाएको भन्दै कुइँकुइँ भुत्ल्याइदिन्थेँ, अझ कुइरिनीसँग लसपस थाहा पाएँ भने त....बाँकी राखौँला र ?’

    उच्चशिक्षा र डलर कमाउने मोहले भएको काखको एउटा छोरा विदेश पठाउँदा यो परिवारले भोगेको पीडामा तीन वटा मुटु छियाछिया परिरहेको छ । आधिकारिक खबर र  चिठी नआएको ४० महिना भयो अनि क्यानडाको शहरमा एउटा बेवारिसे शवको खबर आएको पनि त्यति नै भयो । एउटा मुटु क्यानडामा टुक्राटुक्रा भयो । बाँकी तीन वटा मुटु यसरी गाउँमा टुक्राटुक्रा भएर बाँचिरहेका छन् ।


जानकी धेरै बोलिन । भित्र छिरिन् चिया पकाउन । आमा छोराले अनलाइन सपिङका नाममा पठाइएको नक्कली उपहारमा सक्कली स्पर्श गर्न थालिन् ।

मन डुल्यो फेरि उही गाउँमा । आँगनमा बाख्राको पाठो नाच्दा पनि आफ्नै छोरो उफ्रिएको जस्तो ठान्थ्यो आमाको मन । त्यस्तै फुत्रुकफुत्रुक गरेर हैरान पाथ्र्यो । तर्कनामा हराउन थालिन् । एक दिन त पानी लिन धारामा गएर आउँदा गु्ल्टिएछ छोरा । बारीमा पो निधारभरि रगत पारेर रोइरहेको । फरियाको धजाले बाँधिदिएँ । अहिले पनि निधारमा सानो खत छ कुमारको । व्यर्थमा विदेश जान्छु भनेर रुवायो धर्धरी । बसिसुख न उठिसुख बनायो मोराले ।
००००
‘ल लिनुस् चिया,’ आँगनतिर हेर्दै जानकीले भनिन्, ‘ए, बुबा पनि आइपुग्नु भएछ, पानी दिऊँ कि चिया पकाइदिऊँ ?’
‘पर्दैन चियासिया, बरु गिलास लेऊ, सबै एकएक गिलास जुस घुट्क्याउँ,’ टुसुक्क बस्दै बुबाले भन्नुभयो, ‘बजारमा टेक्ने खुट्टा छैनन्, भारतमा गएकादेखि अरू देशमा गएका सब राइनासे बजियाहरू झिटीगुन्टा बोकेर अत्तर मग्मगाउँदै घाँटीमा रुमाल बेरेर नक्कल पार्दै आ’का छन्, हाम्रै कालेलाई चैँ किन क्यानडा प्यारो भयो होला ?’

‘अब दसैंपछि एमआरपी बनाएर हजुरलाई नै पठाउनु पर्ला छोराकहाँ,’ जानकीले भनिन्, ‘उसले बिर्सेको रहेनछ भने पछि म पनि आमालाई लिएर आउँछु ।’

‘बिर्सेको छैन होला, किन बिर्सन्थ्यो र, त्यस्तो त थिएन,’ खुइय गर्दै बुबाले भन्नुभयो, ‘किन जानु क्यानडा, त्यो गयो भन्दैमा हामी सबै, आउला नि एक दिन गाउँघरको मायाले तिम्लाईहाम्लाई सम्झेर । त्यहाँ त्यसको को होला र ? पैसा र बैंस सकिएपछि थाहा हुन्छ, आफ्ना किन चाहिन्छ ?’

‘यो पाइन्टटिसर्ट कस्तो छ हेर त जानकी,’ रातो रंगको -यापरले बाँधिएको पोको दिँदै बुबाले भन्नुभयो, ‘दसैंलगत्तै तिम्रो जन्म दिन रे, कुमारले पठाइदिएको जन्म दिनको उपहार ।’ ‘अचम्मको छ यो मान्छे पनि,’ जानकीले भनिन्, ‘मलाई चैँ केही भनेन, आमालाई सारी दिनू भन्यो, फेरि मलाइ जन्म दिनको उपहार चैँ तपाईंलाई भन्न भ्याएछ ।’

‘सरप्राइज रे क्या, सरप्राइज,’ बुबाले भन्नुभयो, ‘अचेलकाले जानेका छन् नि बाह्रैमास चौथी खेल्न, हाम्रो पालामा त यस्तो ढाँट्ने काम तीजको चौथीतिर मात्र हुन्थ्यो । जमाना पनि के आयो–आयो ।’
जानकीले पोका ब्यागमा राखिन् ।

‘म त तल हाट बजारसम्म जान लागेको आमा, बुबाले चिया पिउने रहर गर्नु भएन क्यारे, हिँडे है,’ जानकीले भनिन्, ‘यसपालि दसैंमा पिङ कता हाल्ने, जात्रा कता लगाउने भनेर एकछिन बैठक पनि छ ।’ ‘राम्ररी जाऊ, भरे खाना खान यतै आऊ न,’ बुबाले नै विदा गर्नु भयो ।

‘म पनि एकछिन मेलम्ची बजार पुगेर आउँछु,’ आमा भित्र छिर्दै कराउनु भयो, ‘तपाईं टिभी हेरेर मन बहलाउनुस्, चुरोट धेरै खाने होइन नि फेरि, मुटु प्वाल पर्ला ।’

‘जिन्दगी प्वाल परिसक्यो, त्यो नाथे मुटुको के माया, घुप्लुक्कै जान पाए हुन्थ्यो नि बरु आनन्द,’ बुबा मनमनै कुँडिनु–कोकिनु भयो र भन्नुभयो, ‘चाँडै आऊ है, अत्यास लाग्छ चाडवाडमा त, सबका छोरा झिल्के बनेर आएका छन्, हाम्रै मात्र आएन यसपालि पनि ।’
००००    
बेलुका जानकी खसीको मासु लिएर आइन् । बुबाआमा पिँढीमा टहलिइरहेका थिए । ‘भाइ पनि दसैँमा घुम्न जाने भनेर काठमाडौं गयो, बुबाआमा पनि काठमाडौंबाट आउनु भएको छैन,’ जानकी नै बोलिन्, ‘आज तपाईंहरूलाई मासुभात पकाएर खुवाउँछु, बुबाआमाले काठमाडौंमै दसैं मान्ने भनिरहनु भएको छ, गाउँ आउनु भएन भने फूलपातीका दिन साँझमा पुग्ने गरी जानु पर्ला ।’

‘लौ, तिमी पनि दसैंमा नहुने,’ आमा बोल्नु भयो, ‘हामीलाई त खल्लो हुने भयो, नआउने रे गाउँमा थापा दाइ र भाउजु ?’
‘खोई, भइँचालो गएपछि आमाबुबालाई गाउँको माया मरेको छ,’ जानकीले भनिन्, ‘मलाई पनि यो भुइँचालो जाने गाउँघरको सेवा गरेर नबस्, डिग्री पास छोरी, आइज काठमाडौंतिरै भनिरहनु भएको छ । कुमार आइहाल्छ कि भनेर कुर्दाकुर्दै .....।’

‘अब तिमी पनि गएपछि हामी त तड्पिएरै मर्छौँ होला,’ आमाले भन्नुभयो, ‘जागिरे जीवन भनेर बूढाले उमेरभर एक्लै पारिदिए, अर्को एउटा छोरी जन्माउन पाएको भए पनि त अहिले कुमार नहुँदा मन बुझाउने बाटो त हुन्थ्यो ।’
‘चाहियो तँलाई छोरी यो उमेरमा, भएको एउटाले त यति रुवायो,’ बुबा कड्किनु भयो, ‘त्यो पनि त एउटासँग टाँसिएर जान्थी नि, खाममा टिकट टाँसिएझैँ, जानकी छैन त हामीसँग ?’

‘मासु झोल हालौँ कि फ्राइ गरौँ,’ जानकीले कुरा मोडिन्, ‘बुबाको खुराक छ कि सकियो ?’ ‘के सकिनु नि, यहाँ सकिए पनि भट्टीमा सकिएको छैन क्यारे, त्यही पनि जर्किन नै छ नि,’ आमाले पनि झोक फेर्नु भयो, ‘लोग्ने मान्छेलाई सजिलो, टन्न धोक्यो, चुरोटको सर्कोमा हरायो, जति कोख दुख्नु र मन पोल्नु हाम्रा न पोल्छ ।’ जानकी आज यतै भान्से भएकी छन् । घरमा ताल्चा मारेर आएकी ।

घरमा सन्नाटा छायो । बुबा बार्दलीमा बसेर रेडियो सुन्न थाल्नु भयो । आमा जानकीसँगै भान्सामा । २५ लाखले काठमाडौँ छाडे रे । दसैं मान्न सब घर हिँडेका छन् । काठमाडौँमा त घरबेटीहरू पनि छट्पटाइरहेका छन् । बिहान दूध ल्याइदिने पनि गाउँ गएको छ । साँझ रक्सी किन्ने पसल पनि बन्द छ ।

पसले दसैंमा गाउँ फर्कियो । तरकारी बजार पनि सुनसान । घरमा भएका छोराछोरी पनि विदेशमा । साँच्चै गाउँका मान्छे नगइदिए यो काठमाडौँका ठूलाठूला सिमेन्टको चक्लाबन्दीका कैदीहरूको ‘घरबेटी फूर्ति’ चैतको घट्ट चैँ हुन्थ्यो होला । आफ्नै भूतबंगलामा मरेको पनि थाहा हुन्न होला । ओल्लो घरलाई पल्लो घरको मतलब छैन ।

मानवता र समवेदना हराएको इँटको थुप्रो बन्यो शहर । सबै अनलाइनमा तर बार्दलीबाट सन्चै छ भन्ने पनि फुर्सद नभएकाहरूको बस्ती । विदेशबाट पनि यसपटक तीन लाख नेपाली घर आए रे । कुमारका बुबा रेडियो सुनेर तर्कना गर्छन् । हातमा चुरोटको चौथो खिल्ली सकिँदैछ । फ्याट्टफ्याट्ट औँला पड्काउँछन् ।

‘लौ पाक्यो मासु, तान्ने होला नि एक गिलास,’ जानकीले पकाएको मासु लिएर आमा उक्लनु भयो बार्दलीमा । ‘हालिदे न एक गिलास,’ बुबा घुँडामा टाउको जोतेर मनको दुःख लुकाइरहनु भएको थियो । ‘म नहुँदा फेरि थप्ने होइन नि,’ आमाले हिजैको कुरा दोहो-याउनु भयो । ‘हेर्दै जाऊँ,’ लोग्ने मान्छेलाई ‘हस्–हुन्छ’ भन्न आउनु प-यो नि !
००००
‘कुमारे पनि झोलसँग भात मुछेर खान अचाक्ली मन पराउँथ्यो,’ आमाले साँझ कुरा उप्काउनु भयो, ‘एक सिता भात राख्थेन थालमा मासु भएका दिन ।’ ‘के गर्नु त, अब सम्झेर बस्नु न,’ जानकीले भनिन्, ‘उता समुन्द्र किनारामा बसेर चबाउँदै होला नि कुखुराको सपेटा कि पैसा नभएर पाउरोटी बीचमा बन्दा च्यापेर उग्राइरहेको होला आमाले दिएको मासु र भात ।’

‘यसपालि दसैंमा पनि आएन, मलाई त पिर लाग्न थाल्यो, त्यो त्यतै बस्ने हो कि ?’ आमाको जिज्ञासा । ‘भात खानेबेला त मन शान्त राख्न दे, कति त्यसको कुरा गरेको ? रुचेन भात,’ बुबा कराउनु भयो । ‘थपीथपी धोकेको होला अनि के रुच्नु त,’ आमा पनि के कम, ‘ज्यान सुकेर लठ्ठी भइसक्यो, परमधाम होला चाँडै ।’
बुबा बोल्नु भएन ।

जानकी पनि आमाबुबालाई खुवाएर खान थाली । पटक्कै रुचेन । हातले मुखसम्म भात ओसार्न नै चाहेन । मनले मुख र हातलाई चलाउनै चाहेन । दिनभर त यताउता गरेर बित्छ । साँझ परेपछि त कुमारको याद यस्तो पहिरो बनेर झर्छ कि भाग्नै सक्दिनन् जानकी । यादको पहिरोले पुरिएर इन्तु न चिन्तु हुन्छिन् । मर्नु नै बौलाउनु बनाउँछ ।

अझ कुमारकै घरमा हुँदा त झन मन थाम्नु कसरी ? जानकी जान्दछिन्, कति भारी छ यो याद ? घाँसको भारी बिसाएझैँ यादको भारी बिसाउने ठाउँ कहाँ होला ? अझ आफूले उमेरमा मन पराएको दौँतरी, जोसँग जीवन काट्न तयार भएपछि यादैयादमा बाँच्न कति गाह्रो हुन्छ ?

विवाह नगरे पनि आमाबाबुले बुहारीकै मानमा राखेका छन् । स्कुल पढ्दा बसेको मायाको घाउ हो यो । जानकीका आमाबाबु र कुमारका आमाबाबु गाउँका पढेलेखेका तर हुँदा खाने वर्गका हुन् । उनीहरूलाई पनि आफ्ना छोराछोरीको रोजाइ मन परेको थियो । जोडी सुहाएको भन्थे ।

तर १० वर्षअघि नै स्नातक गरेर कुमार क्यानडा गएको । अहिलेसम्म फर्केको छैन । तीन वर्षअघि गएको भूकम्पपछि जानकीका आमाबाबु काठमाडौँ बस्न थाले । कुमारका आमाबाबु गाउँमै । भूकम्पपीडित बस्तीमा राहत, उद्धार र पुनर्निर्माणमा जुटेको एउटा संस्थामा अधिकृत भइन् जानकी । डिग्री गरेकी छन् । कुमारलाई बिर्सन सक्थिन् होला तर आमाबाबु पनि सँगै भएकाले उनले कुमारलाई आफ्नो ठानेर जीवन बिताइरहेकी छन् यादमा तड्िपएर अनि आमाबाबुसँगै मरिचझैँ सुकाउँदै कुमारी बैंस पनि ।

‘लौ यो सर्टपाइन्ट, छोराले पठाइदिएको हो,’ यसपटक आमाले दिनुभयो सरप्राइज । ‘त्यसले हामी तीनै जनालाई झुक्याउन जानेको छ नि,’ आमाले भन्नुभयो, ‘बुबालाई यो सर्टपाइन्ट दिनुस् भनेर मेरो नाममा पठाएछ कुमारेले ।’
‘राख भोलि हेरौँला,’ बुबाले भन्नुभयो । रात छिप्पियो । बुबाआमा माथिल्लो तला चढ्नु भयो । जानकी घरधन्दा गरेर दैलो लगाएर टिभी हेर्न थाली ।
००००
बैठक कोठामा बसेर बुबा आँखाभरि टिलपिलटिलपिल आँसु बगाइरहनु भएको छ । कसरी भनौँ जानकी र उसलाई कि, हाम्रो कुमार उहिले मरिसक्यो क्यानडामा । कति दिन ढाँटौँ ? म त रक्सी र चुरोटको सहारामा केहीबेर हराउँछु । यिनीहरू कसरी रात काट्दा हुन् ? उफ, मर्छु बरु भन्न सक्तिनँ यिनीहरूलाई कुमार उतै मरेको धेरै भइसक्यो भनेर । आँसु नाकका डाँडीसम्म आइपुगे । सुत्ने होइन, किन टोलाइरहेको ? आमाको कुराले झसङ्ग बन्नुभयो ।
००००
आमा पनि उता कोठामा एक्लै रोएर मनको दुःख सफा गरेर बुढा के गर्दैछन् भनेर हेर्न आउनु भएको हो । गाउँमै भए पनि पढेलेखेकी बाबुआमाकी छोरी हुन् । भएको एउटा छोरो मन नभईनभई विदेश पढ्न पठाइयो, कुमारले पनि क्यानडा जान्छु भनेर जिद्दी ग¥यो । त्यसमाथि भूकम्प गएपछि त अब झन् कमाउनु पर्छ भनेर जोतिने क्रममा एक दिन उसलाई पछाडिबाट दिएको सवारी साधनको ठक्करले म¥यो भन्ने आमाले पनि थाहा पाएकी छन् । फेसबुकलगायत सामाजिक सञ्जाल चलाउने भएकाले आफ्नो छोरा चिन्न आमालाई पनि गाह्रो भएको थिएन ।

कैयौँ महिना क्यानडामा बेवारिसे बनेको लाश भनेर फेसबुकमा पोष्ट भएको लाश कुमारको थियो । बुढालाई भन्न सकिनन् । भनौँ कसरी, कत्रो सपना देखाएको थियो छोराले । काठमाडौँमा बनाउँछु घर, लैजान्छु घुमाउन सिंगापुर, जानकीलाई विवाह गरेपछि सपरिवार ल्याउँछु क्यानडा । कुनै औपचारिक खबर आएको छैन । कोही तरुनीको अँगालोमा लट्पटिएर जीवन बिताउने भए पनि फेसबुकले दिएको हुलिया र शरीर अनि आमालाई आफ्नो काखमा हुर्किको छोराको नापो राम्रै याद हुन्छ । सबले सोध्दा आउँछ भन्दै उनीहरू यसरी नै भित्रभित्रै मरेर बाँचिरहेको यो चालीसौँ महिना थियो ।
००००
टिभी बन्द गरेर सिरानीमा घोप्टो परेर जानकी रुन थालिन् क्वाँक्वाँ । कतिदिन यो नाटकमा बाँच्ने ? कसरी भनौँ यो उमेरका यी बूढाबूढीलाई कि, तिम्रो छोरा क्यानडामा दुर्घटनामा मरेको ४० महिना भयो भनेर ? कुनै औपचारिक खबर नआएकाले लाश त्यहीँ बेवारिस छ । क्यानडाका एनआरएनहरुले पनि सबै बताउँछन्, कुमार संगठनमा नभएको सुनाउँछन् ।

आउँदैन कुमार । ऊ मरिसक्यो । यो सर्टपाइन्ट, सारी अनि टिशर्ट सब मन बुझाउने कुरा हो । नाटक–नाटक । उसलाई केही वर्ष कुर्दा म त यति बेचैन छु, आफ्नै रगतको डल्लोको त्यो दुःख कसरी सुनाउँ उनीहरूलाई ? हरेक दिन पिँढीमा बसेर छोरा आउँछ र जानकीको बिहे हुन्छ भनिरहेका छन् । कसरी भनौँ, कति लुकाऊँ यो कुरा कि, कुमार आउँदैन अब ? सिरानी निथ्रुक्कै भिजे जानकीका आँसुले ।
००००
उच्च शिक्षा र डलर कमाउने मोहले भएको काखको एउटा छोरा विदेश पठाउँदा यो परिवारले भोगेको पीडामा तीन वटा मुटु छियाछिया परिरहेको छ । आधिकारिक खबर, चिठी नआएको ४० महिना भयो, अनि फेसबुकमा क्यानडाको शहरमा एउटा बेवारिसे शवको खबर आएको पनि त्यति नै भयो । एउटा मुटु क्यानडामा टुक्राटुक्रा भयो । बाँकी तीन वटा मुटु यसरी गाउँमा टुक्रा टुक्रा भएर बाँचिरहेका छन् ।

मानौँ घाँस काट्न जाँदा एउटा खुट्टा चिप्लेर भीरमा बाबियो समातेर गुहार मागिरहेको घाँसीझैँ । तराईमा बाढी आउँदा बग्दै जाँदा खोला बीचको एउटा रुखमाको हाँगो समातेर कयौँ रात भोकभोकै त्यही रुखमा झुण्डिएर बसेको बाढीपीडितझैँ, कहिले भल सकिएला र उत्रौँला भनेर बसेझैँ, उद्धारका लागि कसैले नदेखेको दुःखीझैँ छ यो ती टुक्रा मुटुको नियति । आधा रात भयो । केहीबेरमा त फेरि भाले बास्छ बाठो पल्टेर उज्यालो भयो भन्दै । तल जानकी, माथि आमाबुबा शोकको ठूलो कालो पहरामा बजारिइरहेका छन् । सुतेको त बहाना मात्र हो ।

जतिपटक यताउता कोल्टो फर्के पनि तीन वटै मुटु निदाउन सकेका छैनन् । भोलि त फेरि यही नाटक गर्नुपर्छ कि, कुमारका अनेक उटपटयाङ यादमा दिन बिताउनु पर्छ । एकले अर्कालाई नक्कली उपहारमा छोराको नासो जोड्नु पर्छ । एउटा मरेको मुटुमा जोडिएको तीन टुक्रा मुटु यसरी नै बाँचिरहेका छन् सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाभित्र एउटा झुपडीमा । थाहा छैन, कुन मुटुले चाँडै सास फेर्न बिर्सन्छ र बाँकी दुई मुटु अरू भक्कानिँदै बाँच्नुपर्छ झूटको पिङ बाट्दै, आँसुले पयो थप्दै । कैयौँ नेपालीको घरभित्रको कथा हो यो । बाहिर ल्याउन पनि सकिएको छैन । अब बाहिर नल्याई पनि भएको छैन ।
००००

प्रकाशित: २८ वैशाख २०७६ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App