परिवार नियोजनप्रति महिला बढी आकर्षित

शनिबार, २८ बैशाख २०७६, ०९ : ११ नागरिक

विष्णु नेपाल
‘धक्का पाउन्या हम, सुख पाउन उन। धक्या नपाउन्या गोली हाल्न आया हुन,’ मेलौली नगरपालिका–५ का  २३ वर्षीया हासा सार्की, २० वर्षीया हरिना सार्की र २२ वर्षीया लक्ष्मी सार्कीले एकै स्वरमा लजाउँदै  भने। उनीहरूले लगाएको कुर्ता पसिनाले निर्थुक्क भिजेको देखिन्थ्यो। ‘करीब दुई घण्टाको उकालो र एक घण्टाको तरपए–तरपए बाटो हिँडेर महारुद्र स्वास्थ्य चौकी आएका हौं,’ स्वाँस्वाँ गर्दै उनीहरूले थपे।

कार्यालय सहायक कमला दमाईं उनीहरूलाई देख्नेबित्तिकै रमाइन्। ‘गहुँ थन्क्याउन लागेका थियौं, आउन अलि ढिला भो,’  उनीहरू भन्दै थिए। गाउँमा एक दशकदेखि महिला स्वयंसेविकाको रूपमा काम गरेकी  सहायक दमाईंले तीनैजनालाई जस्ताको टिनले छाएको मक्किसकेको स्वास्थ्य चौकीको पुरानो भवनमा रहेको प्रसूति सेवा तथा परामर्श कोठामा लिएर गइन्। परिवार नियोजन सेवाका लागि ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’का कलावती चौधरी, माधवी भट्ट र अस्मिता बोहरा कोठामा थिए।  उनीहरूले परिवार नियोजनको महत्त्व, पुरुष तथा महिलाको परिवार नियोजनको अस्थायी एवं स्थायी विधि, जन्मान्तरले महिलाको स्वास्थ्य तथा समग्र जीवनमा पार्ने सकारात्मक प्रभावबारे करीब एक घण्टा परामर्श दिए।

तीन छोरा र एक छोरीकी आमा हासा, एक छोरा एक छोरीकी आमा हरिना र दुई छोरीकी आमा लक्ष्मी परिवार नियोजनका लागि तयार देखिए। उनीहरूले सोधे, ‘किन सबैले इम्प्लान्ट नै रोज्नुभयो ?’ एकै स्वरमा उनीहरूले उत्तर दिए, ‘धक्का पाउन्या हम, सुख पाउन उन। धक्या नपाउन्या गोली हालेका हौं। डर लागिरहेको थियो तर केही भएन।’ पाखुराको भित्री भागमा राख्ने परिवार नियोजनको पाँच वर्षे अस्थायी साधन (लचिलो रड) लाई यहाँका महिला गोली राख्ने भन्छन्। यो वडा जिल्लाभित्रकै दुर्गम वडा पर्दछ। यहाँका अधिकांश पुरुष खेतीले जीविकोपार्जनमा समस्या भएकाले रोजगारीका लागि भारत जाने गर्छन्। गाउँमा महिला, बालबालिका तथा वृद्धवृद्धा मात्र देख्न सकिन्छ। खेती लगाउने, थन्क्याउने तथा चाडपर्वमा मात्र पुरुष घरमा रहने गर्दछन्। यहाँका किसानले गहुँ, मकै, धानलगायत उब्जनी गर्ने गरेका छन्। तर त्यो उब्जनीले उनीहरूको जीविका मुस्किलले चार महीना मात्र चल्छ।     

फागुनमा मात्र गाउँका दुई बुहारी नाता पर्नेलाई यहाँ बोलाएर इम्प्लान्ट राख्न लगाएँ। दुई महीनासम्म छोराहरू बोेलेनन्। अहिले राम्रो गर्नुभएछ  भन्छन्।

‘मैले आठ सन्तानलाई जन्म दिएँ। अहिले तीन छोरी र दुई छोरा छन्। तीन सन्तान अकालमै मरे।  स्थायी बन्ध्याकरण गरिसकें। मैले जस्तो करले सन्तान जन्माउन नपरोस् भन्नका लागि मैले ती बहिनीहरूलाई उनीहरूको घरमा तीन पटकसम्म पुगी आज आउन भनेकी हुँ,’ ३४ वर्षीया स्वास्थ्य सहायक सार्कीले भनिन्।
पछिल्लो जनगणनाअनुसार नगरपालिकाको जनसंख्या २३ हजार मात्र रहेको छ। तीमध्ये वडा नम्बर ५ मा दलित समुदायका सार्की, आउजी, दयाल, दमाईं र पार्कीको बाहुल्य रहेको छ। स्वास्थ्य चौकीमा कार्यरत अनमी बिन्दा सावद भन्छिन्, ‘पुरुषलाई परिवार नियोजनको साधन ढाल  प्रयोग गर भनेर दियो मान्दैनन्।  सुनेको नसुन्यै गर्छन्। कति सम्झाउनु। अहिले त टोलमा दुईवटा सन्तान भएपछि महिलालाई अस्थायी साधन आइयुसिडी र इम्प्लान्ट राख्न सम्झाउँछौं। कतिले श्रीमान्लाई जानकारी नै नदिई पनि राख्न थालेका छन्। चेतना नहुनेलाई भन्दा चेतना हुनेलाई सम्झाउन मुस्किल छ।’

उनले आफैंले आइयुसिडी प्रयोग गरेकी छन्। तामाको तारले बेरिएको पाठेघरमा राख्ने प्लास्टिकको साधनलाई ‘आइयुसिडी’ भनिन्छ। परिवार नियोजनको सबैभन्दा भरपर्दाे साधन मानिएको यसले १२ वर्षसम्म काम गर्दछ। चाहेको सयममा झिक्नसमेत मिल्छ। ‘फागुनमा मात्र गाउँका दुई बुहारी नाता पर्नेलाई यहाँ बोलाएर इम्प्लान्ट राख्न लगाएँ। दुई महीनासम्म छोराहरू बोेलेनन्। अहिले राम्रो गर्नुभएछ  भन्छन्। एक जना बोलेर केही नहुने रहेछ।  समूह बोल्नुपर्छ,’ अनमी सावदले दुखेसो पोखिन्।
यहाँ हरेक महीनाको ८ गते आमा समूहको भेला हुने गरेको छ। भेलामा गर्भवतीहरूको स्वास्थ्य जाँच भए÷नभएको, उनीहरूको अवस्था, स्तनपान, खोपको मात्रा, पोषण, सरसफाइ र पुरुषले प्रयोग गर्ने कन्डम तथा महिलाका लागि पिल्स, डिपो, आइयुसिडी र इम्प्लान्ट आदि परिवार नियोजनका साधनबारे खुलेर महिला स्वयंसेविकाले समूहको बैठकमा जानकारी दिन्छन्। ‘परिवार नियोजनका अस्थायी साधन तथा बन्ध्याकरण गरेपछि बिटुलो भइन्छ, पूजा चल्दैन।  शरीर कमजोर हुन्छ। भन्ने मान्यताले यहाँ जरो गाडेको छ। महिलालाई सम्झाउन सजिलो छ, पुरुषलाई अप्ठ्यारो,’ स्वयंसेविका सरस्वती जोशी भन्छिन्।’
 
‘श्रीमान् आए साधन लिए : श्रीमान् गए साधन छाडे’
विशेष गरी रोजगारीमा गएका श्रीमान् घर फर्किने थाहा पाएपछि यहाँका महिला परिवार नियोजनका अस्थायी साधन लिन स्वास्थ्य संस्था आउने गर्छन्। शिवनाथ गाउँपालिकास्थित उदयदेव स्वास्थ्य चौकीका अहेब देवराज न्यौपाने भन्छन्, ‘श्रीमान् आउने जानकारी पाएपछि स्वास्थ्य संस्थामा महिला अस्थायी साधन लिन आउँछन्, श्रीमान् गएपछि साधन छाड्ने बानीमा सुधार हुँदै गएको छ।’

कफाडी गाउँबाट चार घण्टा हिँडेर स्वास्थ्य चौकीमा इम्प्लान्ट लगाउन आएकी लक्ष्मी चन्दले महिलालाई आत्मनिर्भर, आफ्नो खुट्टामा आफैं उभिन सक्ने बनाउन तथा स्वास्थ्य अवस्थामा सुधार गर्न परिवार नियोजन वरदान सावित भएको अनुभव सुनाइन्। चन्दले भनिन्, ‘धेरै सन्तान जन्माउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्छ। कुनै काम पनि गर्न पाइँदैन।’

यहाँका पाँचभन्दा बढी सन्तान भएका महिलाले परिवार नियोजनका लामो अवधिका सेवा प्रयोग गरी नयाँ उदाहरण देखाएका छन्। मेलौली नगरपालिका–१ की तीन छोरा र तीन छोरीकी आमा ३५ वर्षीया गीता दमार्इं, वडा नं ३ की दुई छोरा र चार छोरीकी आमा ४० वर्षीया जानकी लुहार, शिवनाथ गाउँपालिका–६ की एक छोरा र सात छोरीकी आमा ३५ वर्षीया बिर्मा पार्की, पञ्चेश्वर गाउँपालिका–५ रोडी देवलकी तीन छोरा र तीन छोरीकी आमा ४३ वर्षीया मथुरा भण्डारी तथा सोही वडाकी ६ छोरी र एक छोराकी आमा ३३ वर्षीया लक्ष्मी भण्डारीले परिवार नियोजनको आइयुसिडी प्रयोग गरेका छन्। बिर्मा पार्कीले भनिन्, ‘परिवार नियोजनको सेवा सहज भएकाले सेवा लिएकी हुँ। पहिला यस्तो सहज थिएन।’ 

अर्काेतर्फ दुई छोरी मात्र भएका महिलाले पनि ती साधन प्रयोग गरी व्यवस्थित परिवारको योजना बुनेका छन्। पाटन नगरपालिका–५ सिलंगाकी २८ वर्षीया पद्मा पन्तका आठ र एक वर्षीया दुई छोरी तथा वडा नं १ सकारकी २४ वर्षीया दुरा भट्टराईका सात र चार वर्षीया दुई छोरी रहेका छन्। आइयुसिडी प्रयोग गरेकी कक्षा ८ मात्र उत्तीर्ण गरेकी भट्टराईले भनिन्, ‘छोरा र छोरीमा फरक छैन।’ यहाँ परिवार नियोजनको सेवाका लागि स्वास्थ्य संस्थामा ‘सेवा  छ, पहुँच छैन, पहुँच छ सेवा छैन’ प्रमुख समस्या रहेको थियो तर बैतडीमा यो समस्याको समाधान हुँदै गएको छ। जिल्लाका ६८ वटा स्वास्थ्य संस्थामा परिवार नियोजनका सेवामा सहज पहुँच रहेको बताइन्छ।     
 
के हो भिजिटिङ सर्भिस प्रोभाइडर्स ?
लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेष गरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालीमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पु-याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ। बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) को आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कार्यक्रम कार्यान्वयन गरिराखेको छ।
कार्यक्रमका जिल्ला संयोजक गणेश शाहीले हालसम्म बैतडीमा परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट र आइयुसिडी प्रयोग गर्नेको संख्या नौ सय ८९ पुगेको बताए। कार्यक्रमले विशेष गरी इम्प्लान्ट र आइयुसिडी राख्न र झिक्नसमेत ज्ञान र सीप भएका नेपाल सरकारका स्वास्थ्यकर्मी र अन्य स्वास्थ्यकर्मीलाई तालीम दिई जिल्लाका सबै स्वास्थ्य संस्थामार्फत सेवा दिइराखेको छ। अर्काेतर्फ सरकारी स्वास्थ्यकर्मीका साथमा तीनवटा समूह जिल्लाभर परिचालित छन्।   (रासस )








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad