८ वैशाख २०८१ शनिबार
अन्य

सिद्धार्थका चम्किला ताराहरू

भक्तपुरको गठ्ठाघरस्थित ‘सिद्धार्थ विद्यापिठ’ विसं २०५६ मा स्थापना भएको हो। त्यहाँ चार सय विद्यार्थी छन्। प्रधानाध्यापक दिपिका रिमाल थापाका अनुसार विद्यालयले विद्यार्थीको सिर्जनात्मक प्रतिभा तिर्खान विभिन्न गतिविधि गर्दै आएको छ। त्यहाँ थुप्रै प्रतिभाशाली विद्यार्थी पढ्छन्। तीमध्ये केहीसँग ‘जुनकीरी’का श्रीराम राईले कुराकानी गरेका छन्।

गायक
शीर्षक भट्टराई
कक्षा – ८
मैले कक्षा ४ पढ्दादेखि गीत गाउन थालेको हुँ। मैले विभिन्न समयमा गाएर पुरस्कार जितेको छु। म अझै राम्रो गर्दै जाने छु। म पहिलेका पुरानो लोकगीत धेरै मन पराउँछु। यसको कम्पोज राम्रो हुन्छ। आवाज राम्रो छ। लाकेगीतमा नेपाली संस्कार, संस्कृति र परम्पराको जीवन्त चित्र पाइन्छ। यसमा अर्मपर्म, घाँसदाउरा, लेंकबेंसी, खोलानाला जस्ता धेरै कुरा समेटिएको पाइन्छ। त्यसैले मलाई लोकगीत धेरै मन पर्छ। म पढाइका साथसाथै गायनलाई पनि अघि बढाउन चाहन्छु। भविष्यमा राम्रो गायक बन्छु।

कवि
राघव नेपाल
कक्षा – १०
मैले कक्षा–५ देखि कविता लेख्न थालेको हुँ। २० ओटा जति कविता लेखेको छु। अझै लेखेर कविता संग्रह प्रकाशित गर्ने सोच छ।  म कक्षा –९ मा हुँदा प्रथम भएको थिएँ। कक्षा –५ मा हुँदा नेपाली विषयका गुरुले कविता लेख्न हौस्याउनु भएको थियो। मलाई लाग्छ कविता देशप्रेमी हुनु पर्छ। नेपालको भाषा, संस्कार र संस्कृति जोगाउने हुनु पर्छ। हामी सबै  जातजाति एउटै हौं भन्ने भावको कविता लेख्नु पर्छ। कविता लेखेपछि मनको उकुसमुकुस हटेर जान्छ र मन हलुको हुन्छ।

खेलाडी
विजय परिवार (कार्की )
कक्षा – १०
म तेक्वान्दो र फुटबल खेल्छु। कक्षा– ६ देखि खेलमा पाइला चालेको हुँ। इन्डो नेपाल इन्टरनेसनल तेक्वान्डो च्याम्पियनसिप भएको थिएँ। खेलबाट मानसिक र शारीरिक विकास हुन्छ। खेल चाहिएको बेला प्रयोग गर्न सकिन्छ र आत्मरक्षा गर्न सहयोग पु¥याउँछ। मनोरञ्जन प्राप्त गर्न र व्यक्तित्व विकास गर्न खेल अनिवार्य देख्छु। स्वस्थ हुन पनि खेल अनिवार्य  छ। म खेलबाट नेपाललाई संसारभर चिनाउन चाहन्छु। पढाइ र खेलकुदलाई सँगसँगै लैजाने लक्ष्य लिएको छु। राम्रो गर्न सके खेलकुदबाटै नाम र दाम दुवै कमाउन सकिन्छ।

वैज्ञानिक
दिक्षान्त श्रेष्ठ
कक्षा –१०
युट्युबमा आविष्कारसँग सम्बन्धित भिडियो हेरेर म आविष्कारतिर लागेको हुँ। हामीले कक्षा –८ मा हुँदा वाकिङ रोबोट र रिमोट कन्ट्रोल बस बनाएका थियौंं। विज्ञान गुरु रुपक अधिकारीबाट म यो काममा लागेको हुँ। आविष्कार मानव हितका लागि हुनु पर्छ। आविष्कारले जीवनशैली सहज बनेको छ। विज्ञान र प्रविधिबाट पछि परेको देशले आफूलाई समयअनुसार कहिल्यै अगाडि बढाउन सक्दैन। म भविष्यमा वैज्ञानिक बनेर मानव हितका सृजनामा लाग्ने छु। विज्ञान र प्रविधिको सदुपयोगबाट समाजको विकास गर्न सकिन्छ।

कलाकार
रिया लामा
कक्षा –४
म कक्षा ३ देखि नृत्यमा लागेको हुँ। नृत्यबाट मनोरञ्जन दिलाउन सकिन्छ।  पछि गएर मोडलिङमा लाग्न सकिन्छ। आश्मा विश्वकर्मा, करिष्मा ढकाल, पार्वती राई, सुशान्त खत्री, सुजन मार्फा तामाङ, वीरराधा शेर्पा जस्तो व्यक्ति हुने लक्ष्य छ। जहाँ पनि प्रतियोगितामा जान सकिन्छ। नाच्न लजाएर के पाइन्छ र ! लजाएर भएको प्रतिभा पनि हराएर जान्छ। कला, संस्कार र संस्कृतिको जगेर्ना गर्न सकिन्छ। म पढाइका साथसाथै नृत्यलाई अगाडि बढाउने छु।  

कलाकार
आशिका गिरी
कक्षा –८
आफ्नो नाम कमाउन सकिन्छ। नृत्यको कारणले पढाइ बिग्रिन्छ भन्ने बहाना मात्रै हो। ठूलो कलाकार बनेर देशविदेशमा प्रसिद्ध हुन सकिन्छ। कलाकार बनेर आमाबाबुलाई खुसी बनाउने लक्ष्य छ। सुरुसुरुमा मान्छेका अगाडि नाच्न डर लाग्थ्यो। तर बिस्तारै लाज हट्दै गएको छ। आत्मविश्वास बढेको छ। दर्शकको स्याबासी पाएर म झन् उत्साही भएकी छु।


चित्रकार
प्रभा श्रेष्ठ
कक्षा– ७
मैले कक्षा ३ मा हुँदैखेरि चित्र बनाउन थालेको हुँ। गुरु बालकृष्ण श्रेष्ठको प्रेरणाले म कलाकारितामा लागेको हुँ। मेरा चित्र प्रिन्सिपलको कोठा र क्यान्टिनमा सजाइएको छ। पेन्सिल कलर र वाटर कलरले स्केच गर्छु। पढाइसँगै कलालाई अगाडि बढाउने लक्ष्य छ। फुर्सदको समय सदुपयोग गर्न र झ्याउ लागेको बेला चित्र कोरेर आनन्द लिन्छु। विगतमा मैले चित्रकलाबाट केही पुरस्कार जितेकी छु। भविष्यमा राम्रो चित्रकार बन्न चाहन्छु। मलाई परिवार र विद्यालयबाट सहयोग मिलेको छ।

प्रकाशित: २८ वैशाख २०७६ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App