६ वैशाख २०८१ बिहीबार
समाज

खेलमैदान अधिग्रहण गर्न ध्यानाकर्षण

रौतहट - रौतहटको सदरमुकाम गौरमा रहेको राइस मिलको खेल मैदानलाई अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको बताइएको छ। सदरमुकामको केन्द्रमा रहेको मैदानलाई सार्वजनिक खेल मैदान बनाउन गत वर्ष आन्दोलन गरेका नेकपाका नेता शम्भु साहसँग प्रदेश सरकारले सार्वजनिक खेल मैदान बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। प्रदेश सरकारले बजेट निर्माण तयारी गरिरहेको बेला नेता साहले खेल मैदान बनाउन पुनः ध्यानार्षण गराएका हुन्।

गौर राइस मिलको स्थापना २००३ सालमा भएको थियो। मिलको स्थापना हुँदाको सञ्चालक समितिको चेयरम्यानमा मेजर जनरल तुंग शमशेर जबरा तथा रौतहट माल हाकिम, चुडामणि वैद्य, लक्ष्मीशंकर श्रेष्ठलगायतका व्यक्तिहरु रहेकाले सरकारी स्वामित्वको उद्योग रहेको देखिएको नेता साहको दाबी छ। दुईजना सरकारी कर्मचारीको पदसमेत सञ्चालक समितिमा रहेकाले गौर राइस मिल सरकारी स्वामित्वमा आउनुपर्ने तर्क नेता साहको छ।

जिल्लाका विभिन्न संघसंस्थाहरुले पनि खेल मैदानलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै आएका छन्। केही भूमाफियाहरुले नक्कली कागजपत्र बनाएर खेल मैदानलाई निजी बनाउने चलखेल हुने गरेको सन्दर्भमा नेकपाको प्रदेश समिति सदस्यसमेत रहेका नेता साहले सबै किसिमका भूमाफियाको नजर राइस मिल फिल्डमाथि रहेकाले सरकारले तत्काल अधिग्रहण गरी सार्वजनिक खेल मैदान बनाउन माग गरेका छन्। २०२२÷२३ सालतिर मात्र राइस मिल केही व्यक्तिको नाममा गएको पाइएको छ। कसरी कुनै व्यक्तिको नाममा गयो भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने नेता साहको रहेको छ। विभिन्न नक्कली कागजात बनाएर नक्कली नागरिकताधारीले राइस मिलको जग्गामाथि आँखा गाडेकाले सरकारले तत्काल अधिग्रहण गरेर सार्वजनिक गर्ने दिशामा कदम नचाले आफूले फेरि आन्दोलन गर्ने चेतावनीसमेत नेता साहले दिएका छन्।

प्रकाशित: २८ वैशाख २०७६ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App