८ वैशाख २०८१ शनिबार
समाज

अनुदानको चामल बाटामै बिक्री

रुकुम - सरकारले खाद्यान्न कम उत्पादन हुने दुर्गमका स्थानीयवासीका लागि अनुदानमा चामल पठाउँदै आए पनि सम्बन्धित व्यक्तिकहाँ पुग्न नसकेको पाइएको छ। ठेकेदार र खाद्य संस्थानका कर्मचारीको मिलोमतोमा बीच बाटामै बिक्री गरिएपछि लक्षित व्यक्तिहरूले चामल नपाएको खुलासा भएको हो। डोल्पाका स्थानीयका लागि भनेर पठाइने अनुदानको चामल रुकुममै बिक्री भएको हो।

संस्थानबाट डोल्पाको मुड्केचुला गाउँपालिका–७ मा रहेको सर्मी डिपोका लागि पठाइएको चामले रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका–६ त्रिवेणीमा बिक्री भएको हो। हजार क्विन्टल चामल ठेकेदारले सम्बन्धित ठाउँमा नपु-याई बीच बाटामै बिक्री गरेका हुन्। अनुदानको चामल बाटोमै बिक्री भएसँगै मुड्केचुलाका स्थानीयवासीले सस्तोमा खाद्यान्न नपाउने निश्चित भएको छ। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको चामल ठेक्कामार्फत डिपोमा बर्सेनि लिने गर्छ। यस वर्ष उक्त डिपोमा चामल ढुवानी गर्न सल्यानको बिसी ट्रेडर्सले ठेक्का पाएको थियो।

दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको उक्त चामल त्रिवेणीका स्थानीयले किनेका छन्। आफूहरूले सस्तोमा घरमै चामल पाएपछि किनेको स्थानीय रामकृष्ण सार्कीले बताए। ठेकेदारले आफूहलाई ५९ रुपैयाँ प्रतिकिलोमा चामल बिक्री गरेको उनले जनाए। ठेकेदार कम्पनीका प्रतिनिधि जनक बुढाले सर्मी डिपोका लागि ल्याइएको एक हजार क्विन्टल चामल त्रिवेणीमा बिक्री गरेको सार्कीको दाबी छ। खाद्यान्न अभावका कारण दैनिक समस्यामा पर्ने मुड्केचुलावासीलाई उपलब्ध गराइएको चामल बाटोमै बिक्री गरिएपछि अझ बढी खाद्यान्न समस्या हुने देखिएको छ। चालू आर्थिक वर्ष सकिन लाग्दासम्म सर्मी डिपोमा चामल पुग्न नसकेपछि उपभोक्ता मारमा परेका छन्। त्रिवेणीबाट सर्मीसम्मको ढुवानी भाडामा नाफा हुने भएकाले ठेकेदारले बाटोमै अनुदानको चामल बिक्री गरेका हुन्। रुकुमको त्रिवेणीबाट डोल्पाको सर्मी डिपोमा पुग्ने एक दिन लाग्ने गर्दछ। सडक सञ्जालसँग नजोडिएको यस क्षेत्रमा स्थानीयवासी दैनिक पीठ्यूँमा बोकेर खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ।

अनुदानको चामल बिक्रीमा सर्मी डिपोका कर्मचारीको समेत संलग्नता देखिएको छ। उक्त डिपोका कर्मचारी मुकुन्द पनेरूको उपस्थितिमा त्रिवेणीमा चामल बिक्री भएको खाद्य संस्थान डोल्पाले स्वीकार गरेको छ। ‘हामीले यसबारे अनुसन्धान गरिरहेका छौं,’ खाद्य संस्थान डोल्पाका प्रमुख कमलराज पाण्डेले भने, ‘त्रिवेणीमा चामल बिक्री गर्दा कर्मचारीको पनि संलग्नता देखियो।’ उक्त चामल बिक्री गर्दा कर्मचारीका साथै उक्त गाउँपालिका–१, २ र ३ का वडाध्यक्षको समेत मिलेमतो रहेको स्थानीयको आरोप छ। बाटामै चामल बिक्री गर्ने कर्मचारी र ढुवानी गर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने माग मुड्केचुलाका स्थानीयवासीको छ। आफूहरू सस्तोमा चामल लिन दैनिक खाद्य संस्थानको डिपो कार्यालयमा जाने गरेपछि चामल नहुँदा रित्तो हात फर्कने गरेको उनीहरूको भनाइ छ।

प्रकाशित: २८ वैशाख २०७६ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App