coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आठ सय हेक्टर वन क्षेत्र डढेलोको चपेटामा

कञ्चनपुर - कञ्चनपुरमा डढेलोका कारण आठ सय हेक्टर वन क्षेत्रमा नोक्सानी पुगेको छ। चुरे क्षेत्रका वनमा डढेलोका कारण अधिक क्षति पुगेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार हालसम्म भीमदत्त नगरपालिकाको ब्रह्मदेव, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र लालझाडी क्षेत्रका वनमा डढेलो लाग्दा पुनः उत्पादन भएका बिरुवा, चराचुरुंगी, संरक्षित जनावरको बास नासिएको छ।

लामो समयसम्म वर्षा नहुँदा वन क्षेत्रमा रहेका झाडी, रुखका सुकेका पातमा आगो सल्किँदा डढेलोको प्रकोप खेप्नुपरेको डिभिजन वन कार्यालय कञ्चनपुरका रेन्जर शिवराज अवस्थीले बताए। डढेलोका कारण सबैभन्दा बढी लालझाडी गाउँपालिकाको रतसेमा सुकेका सय बढी रुखको टुप्पोसम्म आगो लाग्दा नियन्त्रण गर्न नसकिएको उनले बताए।

हावाहुरीका कारण सुकेका एक रुखको टुप्पोबाट अर्को रुखको टुप्पोमा आगो सल्किँदा निभाउन गाह्रो भएपछि १७ वटा रुख ढालेर नियन्त्रणमा लिएकोे रेन्जर अवस्थीले भने, ‘दुई÷तीन दिनको प्रयासपछि डढेलो नियन्त्रणमा आएको छ।’ ढालेका रुख सवडिभिजन वन कार्यालय मातहतमा रहने गरी घाटगद्दीमा राखिएको उनको भनाइ छ। डढेलोबाट बेदकोट नगरपालिका–३ मा रहेको सामुदायिक वनमा टिम्बर कर्पोरेसनले घाटगद्दीमा राखेको काठ र दाउरा जलेर नोक्सानी भएको छ। सुक्खायाम लम्बिँदा डढेलोका घटना बढेका हुन।

डढेलो नियन्त्रणका लागि नेपाली सेना, डढेलो नियन्त्रण दलले सघाउ पु¥याउँदै आएका छन्। डढेलो नियन्त्रणका लागि नेपाली सेनाले पनि साथ दिएको डिभिजन वन कार्यालयका रेन्जर अवस्थीले भने, ‘डढेलो लागेको खबर आएपछि नेपाली सेनालाई गुर्हाछौँ। जुनसुकै बेला पनि आएर नियन्त्रणमा सघाउ पु¥याउने गरेका छन्।’ वन कार्यालयले दुई लाख रुपैयाँ खर्चेर फायर प्रुफ ज्याकेट (जम्प सुट), स्वाटर, रेक वे, ब्याग प्याक, मास्क, पञ्जा, हेल्मेटको व्यवस्था गरी छ वटा डढेलो नियन्त्रण टोली डढेलो क्षेत्रमा परिचालन भएको छ। टोलीको सक्रियताका कारण डढेलो लागेको धेरै वन क्षेत्र जोगाउन सकिएको रेन्जर अवस्थीले जानकारी दिए। डढेलो नियन्त्रणमा सक्रिय शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा डढेलोका कारण चुरे क्षेत्रमा व्यापक क्षति पुगेको बताउँछन्। उनका अनुसार ढलापडा रुख समयमै संकलन गर्न नसक्दा धेरै रुख जलेर करोडौँको नोक्सानी भएको छ।

‘वन क्षेत्रमा संरक्षित जनावरको बासस्थान डढेलोले गर्दा नासिएपछि जनावर बस्ती क्षेत्रमा पुग्न थालेका छन्’, उनले भने, ‘जनावर र मानवीय द्वन्द्व बढ्न थालेपछि जनावर मारिने सम्भावना बढेर गएको छ।’ विकट चुरे क्षेत्रमा पुग्नै मुस्किल, पुग्न सके पनि हावाहुरीका कारण डढेलो नियन्त्रण गर्न निकै गाह्रो हुने गरेको उनले बताए। सिकारीले सिकार गर्नेक्रममा, गाईबस्तु चराउने गोठाला, वन क्षेत्र अतिक्रमण गर्ने र माहुरीको मह खोज्नेले वन क्षेत्रमा आगो लगाउँदा डढेलोको प्रकोप निम्तिने गरेको छ। वन छेउछाउका बासिन्दालाई वन क्षेत्रमा डढेलो लाग्नअगावै अपनाउनुपर्ने सावधानी, वन क्षेत्रमा डढेलो लाग्ने कार्यबाट बचाउन चुरोट, बिँडीका ठुटा खाएर नफाल्न, लाइटर र सलाइको प्रयोग नगर्न सर्वसाधारणलाई एफएम रेडियो, पत्रपत्रिका र पर्चा पम्पलेटमार्फत सन्देश पु¥याउने गरिएको छ।

डिभिजन वन कार्यालयका अनुसार गत वर्ष एक हजार २०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो। यस वर्षको अहिलेसम्म आठ सय हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको छ। यसैगरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वर्कोला र पूर्वी सेक्टर क्षेत्रमा डढेलो लाग्दा चराचुरुंगीको बासस्थान, पुनःउत्पादन भएका बिरुवा, बोट बुट्यानमा क्षति पुगेको छ। एक अध्ययनअनुसार वन क्षेत्रमा प्राकृतिक कारणले चार, मानवीय कारणले ६४ र भवितव्यबाट ३२ प्रतिशत डढेलो लाग्ने गरेको छ।

प्रकाशित: २८ वैशाख २०७६ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App