coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मुक्त कमैया बस्तीमा नमुना अध्ययन गृह

नमुना अध्ययन गृहको नवनिर्मित भवन। तस्बिर : योगेश/नागरिक

टीकापुर - सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीका १३ जना युवाले मुक्त कमैया बस्तीमा अध्ययन गृह (विद्यालय) भवन निर्माण गरेका छन्। क्रिएटिभ नेपालआबद्ध युवाहरूले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा रहेको नमुना अध्ययन गृहका लागि पक्की भवन निर्माण गरेका हुन्।

२०४ब्ःएज १६ गते शिलान्यास गरेको सो भवन गत वैशाख २१ गते समुदायलाई हस्तान्तरण गरिएको छ। युवाहरूले एक समारोहबीच बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँच सदस्यीय सञ्चालक समितिलाई भवन हस्तान्तरण गरेका हुन्। सो भवनमा कार्यालय, पुस्तकालय कक्ष र सयजना अट्ने हल छ। यसका साथै घेराबेरा, सरस्वती मन्दिर र फूलबारी पनि बनाइएको छ। योसँगै विद्यालय परिसरमा हाल अमेरिकामा बस्दै आएका मदनराज कठायतले आमाको सम्झनामा एक लाख रुपैयाँको लागतमा सरस्वती मन्दिर निर्माण गरिदिएका छन्।

क्रिएटिभ नेपालका अध्यक्ष जनक सुनारका अनुसार विद्यालय भवन निर्माणमा ११ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। त्यसमा स्थानीयको ६ लाख बराबरको जनश्रमदान मिसिएको छ। विद्यालय भवन निर्माणमा लागेको सबै रकम सामाजिक सञ्जाल फेसबुकमार्फत संकलन गरिएको हो। युवाहरूले स्थानीय सुदामा चौधरीले मुक्त कमैया बस्तीका बालबालिकालाई रुखको फेदमा बसेर पढाइरहेको देखे। सुदामाले प्रति विद्यार्थी एक रुपैयाँ शुल्क लिएर बालबालिकालाई अतिरिक्त शिक्षा प्रदान गर्दै आएकी थिइन्। सुदामाले मुक्त कमैयाका बालबालिकाको शिक्षाका लागि निर्वाह गरेको यो भूमिकाले युवाहरूलाई प्रभावित ग¥यो। उनीहरूले मुक्त कमैया बस्तीमा नमुना अध्ययन गृह निर्माण गर्ने अभियान थाले।

युवाहरूको यो अभियान फेसबुकबाटै सुरु भयो। सबैले नमुना अध्ययन गृह निर्माण गर्नेबारे फेसबुकमा पोस्ट गरे। यो खबर पढेर स्वदेश र विदेशमा रहेका केही व्यक्तिहरू उनीहरूको सम्पर्कमा आए। सुरुमा सम्पर्कमा आएका व्यक्तिहरूको विश्वास जित्न युवाहरूलाई निकै समस्या भयो। कतिपयले विभिन्न आरोप–प्रत्यारोप लगाउने कुरा पनि गरे। तर पनि अभियान सञ्चालक युवाहरूले हिम्मत हारेनन्। अभियान निरन्तर अघि बढिरह्यो। युवाहरूको निरन्तरताबाट प्रभावित भएर केही व्यक्तिहरू सहयोगका निम्ति अघि सरे। उनीहरूलाई सहयोग गर्ने पहिलो व्यक्ति कञ्चनपुर पुनर्बासकी सिर्जना चुनारा थिइन्। उनले तीन हजार रुपैयाँ सहयोग गरेकी थिइन्। सबैभन्दा बढी रकम दिने सहयोगी भने चितवन घर भई बेलायत बस्दै आएकी तिलकुमारी गुरुङ हुन्। उनले एक लाख ३४ हजार पाँच सय ८८ रुपैयाँ सहयोग गरेकी थिइन्। अभियानकर्मी युवाहरूले सहयोग गर्ने व्यक्तिहरूका बारेमा समेत फेसबुकमा पोस्ट गर्न थाले। यसले धेरै व्यक्तिहरूमा सकारात्मक प्रभाव प¥यो। सहयोगी भावना उत्पन्न भयो।

‘हामीले कसैलाई व्यक्तिगत रूपमा सहयोगका लागि आग्रह गरेको हैन,’ अध्यक्ष सुनारले भने, ‘फेसबुकले धेरै व्यक्तिलाई सम्पर्कमा ल्यायो र हामीले विश्वास जित्यौं।’ युवाहरूले कुनै सरकारी निकायलाई भने सहयोगका लागि भनेनन्। सरकारी ओहदामा बसेका कुनै व्यक्तिलाई आग्रह गरेनन्। उनीहरूले अभियानमा विशुद्ध सहयोगी मन भएकाहरूलाई मात्रै जोडे। उनीहरूले सरकारी सहयोगविना पनि केही काम गरेर देखाउन सकिन्छ भनेर प्रमाणित गर्नु अभियानको उद्देश्य रहेको बताए। ‘तर यसको अर्थ हामीले सरकारलाई चुनौती दिएको भन्ने होइन,’ अध्यक्ष सुनारले भने, ‘सकारात्मक काम गरेर सरकारलाई सहयोग गर्नु हाम्रो पनि दायित्व हो भन्ने सम्झेर काम ग¥यो।’

अध्यक्ष सुनारका अनुसार अध्ययन गृह निर्माणको नाम अझै पूर्ण हुन सकेको छैन। शौचालय, पिउने पानी, विद्युत्लगायत समस्या छँदै छ। युवाहरू बाँकी समस्या कसरी समाधान गर्ने भन्ने योजनामा छन्। १९ देखि २३ वर्ष उमेरका उनीहरूमध्ये धेरैजसो परीक्षाको तयारीमा छन्। ‘धेरैजसो साथीहरूको परीक्षा आइरहेको छ,’ अध्यक्ष सुनारले भने, ‘परीक्षालगत्तै अध्ययन गृहको सबै समस्या समाधान गर्नेछौं।’ अध्ययन गृहमा ७४ जना बालबालिका पढ्दै आएका छन्। सुरुमा ५० जना बालबालिका मात्रै थिए। उनीहरू विद्यालय भन्दाबाहेकको समयमा अध्ययन गृहमा पढ्छन्। कतिपय विद्यालय नजाने बालबालिकाहरूसमेत त्यहाँ अध्ययन गरिरहेका छन्। विद्यालयको समयभन्दा अघि–पछि पनि बालबालिकाले राम्रो वातावरणमा पढ्न पाउन भन्ने उद्देश्यले अध्ययन गृह निर्माण गरिएको अभियन्ता मध्येका एक चक्र भाटले बताए।‘विगतमा बालबालिकाहरूको ध्यान पढ्ने तर्फ थिएन। उनीहरू खेलिरहेका भेटिन्थे,’ उनले भने, ‘अध्ययन गृह निर्माणपछि धेरै बालबालिका पढाइतर्फ आकर्षित भएका छन्।’

प्रकाशित: २८ वैशाख २०७६ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App