८ वैशाख २०८१ शनिबार
राजनीति

रकम भुक्तानीका लागि ‘चोर बाटो’ प्रयोग

सुर्खेत - कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय सुर्खेतलाई ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५ प्रवद्र्धन कार्यक्रम’ शीर्षकमा चालू आर्थिक वर्षको सुरुमै पाँच लाख रुठायो। वन कार्यालयले उक्त बजेटमार्फत सुर्खेतको कुनै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने तयारी गरेको थियो। तर वन कार्यालयले कामका बारेमा कुनै निर्णय गर्नुअगावै मन्त्रालयबाट फर्म तोकेर रकम भुक्तानी गर्न विशेष निर्देशन आयो।

‘हामीले कार्यक्रम तय नगर्दै मन्त्रालयबाट काठमाडौंको एउटा फर्मलाई पाँच लाख रुपियाँ भुक्तानी गर्नू भन्ने निर्देशन आयो,’ डिभिजन वन अधिकृत भक्तबहादुर लामाले भने, ‘मन्त्रालयको निर्देशनअनुसार आएको रकम हामीले भनिएको फर्मलाई भुक्तानी दियौं।’ लामाका अनुसार जिल्लामा सो रकम बराबर मन्त्रालयले आफैं काम गराएको थियो। तर प्रक्रिया मिलाउनका मात्र डिभिजन वन कार्यालयलाई अख्तियारी र बजेट पठाइएको थियो।

वनले भुक्तानी दिएको पाँच लाखको फोटोको भर्पाईमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको निजी सचिवालयकी गीता ढकालले हस्ताक्षर गरेकी छन्। ‘राराको १५ वटा फोटो निजी सचिवालयले बुझेको भर्पाई पठाएपछि हामीले भुक्तानी दिएका हौं,’ उनले भने, ‘एउटा कार्यालयले पाँच लाख रुपैयाँभन्दा बढी भुक्तानी दिन नमिल्ने भएकाले फरक–फरक कार्यालयलाई रकम निकासा गरिएको हो।’ उनले आफ्नो कार्यालयले रकम भुक्तानी गरेका फोटोहरूका बारेमा भने आफूलाई जानकारी नभएको बताए। ‘मुगुको रारातालका १५ वटा फोटोहरू हुन् भन्ने सुनेको हुँु,’ डिभिजन वन अधिकृत लामाले भने, ‘ती अहिले कहाँ र कसले प्रयोग गरेको छ, केही जानकारी छैन।’

प्रदेशको सार्वजनिक लेखा समितिले गत वर्ष वैशाख १ गते मुगुको रारातालमा उद्घाटन गरिएको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ मा ३७ लाखभन्दा धेरै रकम भ्रष्टाचार भएको तथ्य सार्वजनिक गरिरहेका बेला पर्यटन मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भुक्तानी ‘चोर बाटो’बाट गरेको पाइएको हो। मन्त्रालयले डिभिजन वन कार्यालय सुर्खेतबाट मात्रै होइन्, भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट पनि सोही शीर्षकमा रकम भुक्तानी गरेको देखिएको छ। जलाधार कार्यालय प्रमुख शिखर चपाईले पाँच लाख रुपैयाँ बराबरका फोटोहरूको भुक्तानी गरिएको जानकारी दिए। उनले आफूहरूले भुक्तानी दिएका फोटोहरू सुर्खेत विमानस्थलमा राखिएको बताए। ‘मन्त्रालयले ‘कर्णाली–रारा पर्यटन प्रवद्र्धन कार्यक्रम–२०७५’ शीर्षकमा पठाएको पाँच लाख रुपियाँबाट मुगुको रारा तालको फोटोहरू खरिद गरेका थियौं,’ उनले भने, ‘कार्यालयबाट भुक्तानी भएका फोटोहरू सुर्खेत विमानस्थलमा राखेका छौं।’ उनले फोटो कहिले ल्याइएको हो भन्ने बारेमा भने बताउन चाहेनन्।

मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका फोटोहरूलाई चालू आर्थिक वर्षको बजेटमार्फत भुक्तानी दिएको हो। मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले पर्यटन वर्षको प्रवद्र्धनका लागि उक्त रकम खर्च गरिएको बताए। उनले फोटोहरू मन्त्रालयमै राखेर डिभिजन वन कार्यालयमार्फत भुक्तानी गर्न लगाइएको स्वीकार गरे। ‘मन्त्रालयमै फोटो राखेर डिभिजन वन कार्यालय सुर्खेतलाई भर्पाई मात्रै पठाएका हौं,’ उनले भने, ‘त्यसैका आधारमा डिभिजनले भुक्तानी गरेको हुनुपर्छ।’ उनले ती फोटोहरू कहिले खरिद गरिएको भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए।

प्रकाशित: २८ वैशाख २०७६ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App