८ वैशाख २०८१ शनिबार
राजनीति

युवाहरुले रोजगारी पाए मात्र समृद्ध नेपाल बन्छ : नेता महत

नुवाकोट - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले उद्योग व्यवसाय बढेर युवाहरुले रोजगारी पाए मात्र देशमा समृद्धि भित्रने बताएका छन्।

प्रेस युनियन नुवाकोटले शुक्रबार विदुरमा आयोजना गरेको पत्रकार भेटभाटमा सहमहामन्त्री महतले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न सरकारी पक्षबाट कुनै पहल नभएको आरोप लगाएका छन्।

गफ मात्र  गर्ने सरकार भएकोले जनताले वलीको सरकारबाट मुक्ति खोज्न थालेको भन्दै डा. महतले भने, 'देशमा जनता महङ्गी, कर, व्याजदरले आक्रान्त छन्। रोजगारी छैन। बिदेसिने युवा बढे। सरकारले युवालाई देशमा रोजगारी दिने भनिरहन्छ तर सार्थकता मिलेको कुनै तथ्यांक छैन,' सहमहामन्त्री महतले भने, 'देशमा कसरी लगानी बढाउने भन्नेमा सरकार अनविज्ञ छ। देशप्रति समर्पित र इमानदार छैन सरकार। सरकारसँग कुनै सीप पनि छैन। यस्ले गर्दा जनता निरास छन्। कम्युनिष्टलाई जिताएकोमा जनता नै पश्चातापमा छन्।'

पत्रकार भेटघाट कार्यक्रममा सहमहामन्त्री महतले बालुवाटारकाण्ड, वाइडवडीजस्ता ठूला काण्डमा रातारात मिडिया प्रयोग गरेर काङ्ग्रेसलाई फसाउन लागेको  बताएका छन्। 'हाम्रो पार्टीमा व्यक्तिवादी हाबी भइरहेको छ। एकअर्काबिच पोलापोल हुन्छ। तर सरकारपक्ष दलहरु आफूलाई जोगाएर कसरी हामीलाई फसाउने भन्नेमा जाल बुन्न थाल्छन्,' उनले भने, 'नेपालको इतिहासमा नभएको कुरा भइरहेको छ। मिडियालाई प्रयोग गरेर आधारविहीन कुरामा पार्टी मुछिँदैछ। त्यसको हामीले प्रतिकार गर्नु आवश्यक छ।'

उनले कार्यकर्ताहरुलाई जिल्लामा रहेको स्थानीय सरकारले एकलौटी रुपमा नागरिक हित विपरित काम गरेको पाइएमा भण्डाफोर गर्न तर्फ लाग्न आग्रह गरेका छन्।

सहमहामन्त्री डा. महत युवाहरुको नेतृत्व विकास र क्षमता विकासको लागि नेपाल जेसिजले आयोजना गरेको एरिया सि  सम्मेलनको उद्घाटन गर्न नुवाकोट आएका थिए ।

प्रकाशित: २७ वैशाख २०७६ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App