६ वैशाख २०८१ बिहीबार
समाज

कार्कीको सम्पत्ति सार्वजनिक गर्न माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव पास गर्न माग राख्दै विद्यार्थीले आइतबार राजधानीमा प्रदर्शन गरेका छन्। उनीहरूले कार्कीको  सम्पत्ति सार्वजनिक गर्न समेत माग गरेका छन्।

विभिन्न १३ विद्यार्थी संगठनले कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव छिटो पारित गर्न ठूला दलका सबै नेता तथा सांसदलाई दबाब दिन प्रदर्शन गरेका हुन्। लोकतन्त्रको रक्षा र विधिको शासन कायम गर्न पनि कार्कीलाई कारबाही गर्नुपर्नेमा उनीहरूले जोड दिए। प्रदर्शनमा सहभागी विद्यार्थीको जुलुस माइतीघर मण्डलबाट नयाँबानेश्वरसम्म पुगेको थियो। विद्यार्थीले 'लोकमानको सम्पत्ति सार्वजनिक गर, विधिको शासन कायम गर, लोकमानलाई कारबाही गर' लगायतका नारा लगाएका थिए।

जुलुस नयाँबानेश्वरमा पुगेपछि आयोजित विरोध सभामा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले कार्की न्यायालयविरुद्ध लागेको भन्दै कारबाही माग गरिन्। नेवि संघका महामन्त्री कुन्दन काफ्लेले लोकतन्त्रको रक्षा गर्दै न्यायिक सर्वोच्चता कायम गर्न पनि कार्कीमाथि कारबाही आवश्यक रहेको बताए।

कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी केन्›) का अध्यक्ष नरेन्› न्यौपाने, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) निकट विद्यार्थी संगठनका अध्यक्ष कपलेश्वर यादव, अनेरास्ववियुका सचिव आरसी लामिछानेलगायतले कार्कीलाई कडा कारबाहीको माग गरेका थिए।

'कार्कीका कारण आयोगको गरिमामा असर'

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल च्याटरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विवादमा आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

ट्रान्सपरेन्सीले आइतबार जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार निवारणमा प्रमुख भूमिका निभाउनुपर्ने संवैधानिक आयोगका प्रमुख नै विधिको शासनको सम्बन्धमा अनुत्तरदायी र भ्रष्टाचारकै विषयमा विवादित हुनु, अदालतको आदेश नमानी कानुनी सर्वोच्चताको उल्लंघन गर्नुले आयोगको काम, कारबाही र गरिमामा असर परेको उल्लेख छ।

'सरकारलाई विधिको शासन सञ्चालनका लागि मद्दत गर्नुपर्नेमा सरकारको नियमित काममा हस्तक्षेप गर्नुले आयोगको गरिमामा गम्भीर असर पर्न गएको हो', विज्ञप्तिमा उल्लेख छ। अख्तियारलगायत कुनै पनि संस्था वा निकायमा हुने अनुत्तरदायी कार्य, भ्रष्टाचारजस्ता क्रियाकलापको ट्रान्सपरेन्सीले विरोध गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ कार्तिक २०७३ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App