coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

हाम्रा सहरमा नियम पालना हुँदैन

डिआर राई, साहित्यकार

विदेशका सहर भने सिस्टमले चलेका छन्।   प्रविधिको प्रयोगले त्यहाँ समृद्धि छ। तर, यहाँ न सिस्टम छ न त एकता नै। हरेक काम लापरवाही तरिकाले भइरहेको छ।

तपाईंको विचारमा सहर भनेको के हो?
जनघनत्व बढी भएको क्षेत्र नै सहर हो। अर्काे शब्दमा भन्दा धेरै कुरा सिकाउने थलो नै सहर हो। यस्तै, सहरलाई अवसरको खोजी गर्न सहज ठाउँ पनि भन्न सकिन्छ।

तपाईंलाई काठमाडौं सहर कस्तो लाग्छ?
काठमाडौं सुन्दर सहर हो। तर, हाम्रै लापरवाहीले पछिल्लो समय कुरूप बन्दै गएको छ। जताततै फोहोर थुप्रिएको छ, सडक विस्तारले धुलो उड्दा प्रदूषण फैलिएको छ। देशका सबै ठाउँबाट राजधानी भन्दै काठमाडौं आए। झण्डै ३० प्रतिशत मान्छे बालबच्चा पढाउनै भनेर काठमाडौं आउँछन्। त्यसैले जता गयो उतै भिड मात्रै देखिन्छ। जताततै घरहरू बनिरहेका छन्। यहाँ आनन्द लिने खाली ठाउँहरू कहीँ पनि छैनन्।

काठमाडौं कहिले आउनुभयो?  
मलाई सानैदेखि काठमाडौं हेर्ने इच्छा थियो।  त्यसैले ०४१ सालमा म काठमाडौै आएँ। तर, त्यतिबेला घुम्न नपाई तीन–चार दिनमै फर्किएँ। पछि ०४७ सालदेखि अहिलेसम्म निरन्तर बसिरहेको छु।

तपाईं आउँदा काठमाडौं कस्तो थियो?
अहिलेजस्तो जताततै घर थिएनन्। असन, इन्द्रचोक, न्युरोड जस्ता ठाउँमा मात्रै बस्ती बाक्लो थियो। अनामनगर खाली नै थियो। अनामनगरको धोबीखोलामा खेतीबाली लगाइन्थ्यो। धेरै ठाउँ झाडी र बोटबिरुवाले भरिएको थियो। जनघनत्व कम थियो। अहिले जस्तो कंक्रिटे घर, ट्राफ्रिक जाम र प्रदूषित वातावरण थिएन। 

तपाईं किन सहर आउनुभयो?
हरेक व्यक्तिका आ–आफ्ना सपना हुन्छन्। म पनि आफ्नैखाले सपना बुनेर काठमाडौं आएँ। ममा सानैदेखि जस्तोसुकै परिस्थितिमा पनि संघर्ष गर्न सक्छु भन्ने आँट थियो। अहिले पनि निरन्तर संघर्ष गरिरहेको छु। अहिले अनामनगरमा आफ्नै घरमा बस्छु। अहिले मेरो दिन ‘डिआर फोटो स्टुडियो’ मा बित्ने गरेको छ। सहरमै बसेर मैले आफ्ना धेरै सपना पूरा गरेको छु। सहरलाई नै कर्मथलो बनाएर उपन्यासकार र गीतकार भनेर चिनिएको छु।

काठमाडौं अस्तव्यस्त हुने कारण के होला?
अव्यवस्थित संरचना, बढ्दो जनसंख्या र योजना नबनाई सडक विस्तार गरिँदा काठमाडौंं अस्तव्यस्त भएको छ।

तपाईंले कस्तो सहरको परिकल्पना गर्नुभएको छ?
व्यवस्थित संरचना होस्। फराकिलो सडक होस्।  पैदलयात्रीका लागि सुरक्षित बाटो होस्। डिजिटिलाइटयुक्त सुविधा होस्। धुलोधुवाँरहित  हराभरा सहर होस्।

तपाईं कुन–कुन सहर घुम्न भएको छ?
इलाम त मेरो घर नै भइहाल्यो। इटहरी, धरान, धनकुटा, विराटनगर, पोखरा, वीरगञ्ज, नेपालगञ्ज जस्ता देशका धेरै सहर घुमेको छु। देशबाहिर जर्मन, दार्जिलिङ, बेल्जियम, पोर्चुगल, फ्रान्स, लन्डन, सिंगापुर, सिक्किम, हङकङ, स्पेन, स्वीजरल्याण्ड आदि ठाउँमा घुमेको छु।

नेपाल र बाहिरको सहरमा के फरक पाउनु भयो?
धेरै अन्तर पाएको छु। यहाँ प्रकृतिले नै दिएका अनुपम उपहारहरू छन्, जस्तै ः झरना, खोलानाला, हिमाल, सानासाना थुम्का आदि।

यहाँ पर्याप्त प्राकृतिक स्रोतसाधन छन्। यिनै स्रोतसाधन प्रयोग गरेर विकास गर्न सकिन्छ। तर, यसप्रति कसैले चासो नै दिएका छैनन्।

विदेशका सहर भने सिस्टमले चलेका छन्।   प्रविधिको प्रयोग गरिएकाले त्यहाँ समृद्धि छ। तर, यहाँ न सिस्टम छ न त एकता नै। हरेक काम लापरवाही तरिकाले भइरहेको छ।

काठमाडौें सहर सुन्दर बनाउन के गर्नुपर्ला?  
बटुवा हिँड्ने बाटो सुरक्षित हुनुप-यो। अपाङ्गमैत्री बाटो हुनुप-यो। चौबीसै घन्टा यातायात सुविधा हुनुप-यो। रात्रिकालीन सुरक्षित बजार हुनुप¥यो। आवश्यकता अनुसार सडक बत्ती र सार्वजनिक शौचालयको व्यवस्था हुनुप-यो। त्यसैगरी  ठाउँठाउँमा बालउद्यान र पार्कको व्यवस्था हुनुप-यो।

तपाईंलाई घुम्न मन लागेको ठाउँ कुन हो?
जान नसकिने ठाउँ कहीँ छैन। इच्छाशक्ति भए जहाँ पनि जान सकिन्छ। समय मिलाएर एकचोटि अमेरिका, क्यानडा, दुबई जस्ता केही ठाउँ जान मन लागेको छ।

काठमाडौंको मन पर्ने पक्ष के हो?
मलाई यहाँको ऐतिहासिक सम्पदा र मठमन्दिर राम्रो लाग्छ।  यहाँको हावापानी लोभलाग्दो छ।

तपाईंलाई मन पर्ने सहर कुन हो?
मलाई मन पर्ने सहर इलाम हो। इलामलाई ‘पहाडकी रानी’ पनि भनिन्छ। दार्जिलिङको प्रभावले शिक्षित र सबैलाई सत्कार गर्ने इलामेली प्रवृत्ति छ। इलाम मन पर्ने अन्य कारणमा मीठो खानेपानी, स्वच्छ हावापानी, हरियाली प्रकृति, सुविधायुक्त बाटोघाटो, बिजुली र टेलिफोन हुन्। यहाँको उर्वर माटो, डाँडापाखा र थुम्काथुम्कीले जो कोहीलाई पनि आकर्षित गर्छ।

सहरवासीको बानी कस्तो लाग्छ?
भर्खरै गाउँबाट आउनेहरू सबैसित राम्रो व्यवहार गर्छन्। उनीहरू सहरी हावाले बिस्तारै आफूचिन्ते हुने गरेका छन्। सहरमा मानसम्मान गर्ने प्रवृत्तिको कमी छ। छलकपट र मपाइँत्व प्रवृत्ति बढ्दो छ।

सहरमा गीत–संगीतको स्थिति कस्तो छ?
डिजिटल प्रविधिको कारणले गीत–संगीतको स्थिति खस्कँदो छ। पहिलेजस्तो फिजिकल टेप र सिडी बिक्री हुँदैन। सबै अनलाइनमै जान्छ। यही कारणले स्रष्टा मर्कामा परिरेहका छन्। अहिलेको समयमा गीत–संगीतलाई बचाइराख्ने नै गीतकार हुन्।
प्रस्तुतिः श्रीराम राई

प्रकाशित: २७ वैशाख २०७६ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App