७ वैशाख २०८१ शुक्रबार
अन्य

फरक बालापन

मञ्जु गौतम

म ‘गरिमा’। सानै उमेरदेखि दुःख र अभावमा हुर्केकी। सुख सयलमा बालापन बिताउने सायद मेरो भाग्यमा थिएन। न त आमाको न्यानो कोखमा लडीबुडी गर्दै पूरा बालापन बिताउन पाएँ, न त बाबाको।

कुरा १० वर्षअघिको हो। म कक्षा ४ मा पढ्दै थिएँ। मलाई आमाको काखबाट छुट्टिनुप-यो। कारण थियो मेरो पढाइ। हाम्रो घर निकै एकान्त ठाउँमा थियो। स्कुल जानै दुई घण्टाको उकालो चढ्नुपर्ने। स्कुल थियो ५ कक्षासम्मको। दिदी र दाइले ५ कक्षासम्मको पढाइ सक्नुभयो। मसँग स्कुल जाने–आउने कोही भएन। जंगलको बाटो एक्लै जाने–आउने गर्न नसक्ने। मलाई स्कुलको हेडसरले निकै माया गर्नुहुन्थ्यो। उहाँको घरमा बसेर मैलै ४ कक्षाको पढाइ सक्काएँ। तर सधैंभरि अरूको घरमा बसेर पढ्न पनि त सम्भव थिएन। दिदी र दाइले पढेको स्कुल झन् टाढा थियो, म जान सकिनँ।

हाम्रो दुई वटा घर थियो। एकातिर हजुरबुबा बाबाआमासहितको हाम्रो परिवार बस्ने त अर्कोतिर हजुरआमा मात्र। मलाई त्यहीँ हजुरआमासँग राखेर पढाउने निश्चय भयो परिवारको। म पनि खुसी थिए हजुरआमासँग छुट्टै बस्न पाउने भएँ भनेर। त्यहाँ स्कुल जान एक घण्टा मात्र हिँड्नुपर्छ भन्दा म झन् बढी खुसी भएकी थिएँ।

म ५ कक्षामा भर्ना हुन नयाँ स्कुल गएँ। न त शिक्षकहरू चिनेकी थिएँ, न त कोही मिल्ने साथी थिए। स्कुल गएको पहिलो दिन मनमा निकै डर थियो। शिक्षकहरूले नयाँ विद्यार्थी भनेर खुब वास्ता गर्थे मलाई। पहिलो दिन त मेरो घरतिरको एकजना दिदीलाई घर पु¥याइदिनु भनेर जिम्मा लगाइदिएका थिए। तर बिस्तारै घरनजिकका साथीहरूसँग परिचय गरेर उनीहरूसँगै स्कुल जाने–आउने गर्न थालें।

मलाई लागेको थियो म हजुरआमासँग बस्दा पनि आमाको जस्तै माया पाउँछु भन्ने। त्यसैले त खुब फुर्केकी थिएँ म। आमासँग हँुदा जस्तै खेलेर र पढेर दिन बिताउँछु भन्ने लागेको थियो मलाई। तर मेरी हजुरआमाको मप्रतिको व्यवहार र आमाको व्यवहार बिल्कुल फरक थियो। उहाँले त मलाई काम गर्न राखेको केटीलाई जस्तै व्यवहार गर्न थाल्नुभयो।

म भर्खर ११ वर्षमा प्रवेश गरेकी थिएँ। घरमा हुँदा मलाई भाइ हेर्नेबाहेक केही गर्नुपर्दैनथ्यो। मलाई काम गर्न पनि केही नआउने। जब म आमाको काखबाट छुट्टिएँ त्यही बेलाबाटै मेरा दुःखका दिन सुरु भइसकेका रहेछन्।

मलाई हजुरआमादेखि एकदम डर लाग्न थाल्यो। मेरो पढाइ, मेरो बालापन सबै हराए। मेरो ध्यान पढाइतिर भन्दा पनि कामतिर जान थाल्यो। कहिले घाँस काट्ने त कहिले भान्सा सम्हाल्ने। बिहान उठेर पनि घरको सबै काम भ्याउनुपर्ने। अनि मात्र स्कुल। स्कुलबाट फर्केपछि पनि फेरि त्यही मेलो। एउटा काम बिगार्दा महाभारत सुन्नुपर्ने।

शनिबारको दिन सबै साथीहरू जम्मा भएर चउरमा खेल्न जान्थे तर मलाई घरको काम सम्हाल्न र सक्काउनमै ठिक्क हुन्थ्यो। हजुरआमाको अनुमतिबिना कतै निस्किन नपाइने। मत पिँजडामा राखिएको सुगा जस्तै भएँ। घरको कामदेखि लिएर बजारबाट सामान ल्याउने कामसम्म सबै मेरै हुन्थ्यो। अझ खेतीपाती स्याहार्ने समयमा त २/४ दिन स्कुल बिदा नै लिएर बस्नुपर्ने।

म स्कुल बिदा भएको बेला मात्र आमालाई भेट्न जान पाउँथे। आमाले पनि सबै काम सम्हाल्नु पर्दा मलाई भेट्न आउन पाउनुहुन्थेन। फोन पनि थिएन कुरा गर्न। म अत्तासिन्थें, भेट्न मन लाग्दा पनि भेट्न जान नपाउँदा। जब आमा भएको ठाउँमा पुग्थें, मलाई हजुरआमा भएको ठाउँमा फर्केर पनि जान मन लाग्दैन थियो। आमा, दिदी, दाइसँग २/४ दिन बसेर फर्किहाल्नुपथ्र्यो।

हजुरआमा मेरो बाबाको कान्छी आमा। सायद त्यसैले पनि होला मलाई सौतेनी आमाको व्यवहार देखाएको। म यही सम्झिन्थें र मन बुझाउँथें। तर उहाँको अगाडि मैले कहिल्यै आँसु देखाइनँ। देखाउन मन पनि लागेन मलाई। रुन्थें त एकान्तमा गएर। अरू साथीहरूका आमाबाबाले गरेको माया र व्यवहार देखेर मलाई आमाको याद निकै आउने गथ्र्यो। यही महसुस हुन्थ्यो कि म पनि आमासँगै बस्न पाएको भए यस्तै गरी माया पाउँथें, यसरी नै पढ्ने थिएँ।

मलाई हजुरबुबाले भने अधिक माया गर्नुहुन्थ्यो। हजुरआमाको व्यवहार सबै थाहा थियो उहाँलाई। तर पनि मेरो पढाइ र भविष्य सम्झेर होला मलाई आफूसँगै राख्ने आँट गर्नुभएन। हजुरबुबालाई मेरो र पढाइको निकै चिन्ता थियो। उहाँ मलाई तीन/तीन महिनाको फरकमा भेट्न जानुहुन्थ्यो।

म कक्षा सातमा पढ्दै थिएँ। परीक्षा आउन एक महिना मात्र बाँकी थियो। एकदिन सर्पले डस्न खोज्दा म भाग्न खोजें, त्यही बेला म ढुंगामा लड्न पुगेछु। मलाई सर्पले त डसेन तर घुँडामा गहिरो चोट लाग्यो। नजिकै मेडिकल थियो तर पनि मेरी हजुरआमाले मलाई तत्काल मेडिकल लग्नु भएन। तीन दिनपछि जाँदा मेरो घाउमा टाँका लगाउन मिलेन। मेरो घाउ निको हुन निकै समय लाग्यो, त्यही कारण एक महिनासम्म स्कुल जान सकिनँ। मेरो ७ कक्षाको परीक्षा बिग्रियो।

हजुरबुबा मलाई भेट्न आएको बेला मेरो स्कुल जानुभयो। म गणितमा पहिलेबाटै अलिक कमजोर थिएँ। फेरि परीक्षा पनि त्यही बेला नै बिगे्रको। सरले मेरो पढाइका बारेमा सबै भनिदिनुभएछ। हजुरबुबाले मलाई घरमा आएपछि निकै गाली गर्नुभयो। तर उहाँलाई थाहा थियो कामले गर्दा म पढ्नै पाउँदिन भन्ने। तर पनि हजुरबुबाले गरेको गाली मलाई हजुरआमाको जस्तो तीतो लागेन।

मैले हजुरआमालाई जति नै आफ्नो ठाने पनि उहाँले मलाई कहिल्यै आफ्नो ठान्नुभएन। मैले उहाँको गाली नखाएको र नरोएको सायद दिन नै हुन्थेन होला। कहिले त रातिसम्म पनि गाली नै सुनेर बस्नुपर्ने। त्यो मेरो बाध्यता थियो। हजुरआमाको यस्तै व्यवहारले गर्दा हजुरबुबा पनि छुट्टिएर बस्नुभएको थियो। अंकल अन्टी छोराछोरी लिएर काठमाडौंतिर।

हजुरआमाको नजरमा म जति नै नराम्रो भए पनि, उहाँले माया नगरे पनि छिमेकीले एकदम माया गर्थे मलाई। जस्तोसुकै दुःखमा पनि छिमेकीको माया र साथ पाएकी थिएँ। हजुरआमाको व्यवहारले म त्यहाँबाट निस्केर हिँड्न पनि सक्थें तर मेरो पढाइ र भविष्यलाई सम्झेर कहिल्यै त्यसो गरिनँ। जे–जे भए पनि सहेरै बसें।

हजुरआमासँग बिताएका मेरा खुसीका दिन भन्ने बिरलै होलान्। मैले उहाँलाई जति नै खुसी बनाउन खोजे पनि कहिल्यै सकिनँ। हजुरआमाको गाली र पिटाइका कारण म आठ कक्षामा पढ्दा संसार नै छोड्छु भनेर निस्केकी थिएँ तर खै के कुराले छेक्यो मलाई। मैले आत्महत्या गर्न सकिनँ।

तीन वर्षसम्म सँगै बसेपछि मैले हजुरआमाको हरेक व्यवहारलाई औंल्याउन सक्ने भएकी थिएँ। घरको सबै काम र व्यवहार सम्हाल्न सक्ने भएकी थिएँ। हजुरआमाको गाली खाने त मेरो आदत बनिसकेको थियो। तर आठ कक्षाको पढाइपछि भने मलाई त्यहाँ बस्नै मन लागेन। हजुरबुबालाई भनें। तर हजुरबुबाले मेरो कुरै मान्नुभएन। उल्टै मलाई सम्झाउनुभयो। दुई वर्ष जसरी पनि त्यहीँ बसेर पढ्नुपर्छ भनेपछि मैले हुन्छ नै भनें।

जब नौ कक्षाको पढाइ सुरु भयो मैले त्यहाँ बिताउनुपर्ने दुई वर्षका दिनहरू गन्दै बस्न थालें। त्यो दुई वर्ष भर्खरै बिते पनि हुने जस्तो लाग्थ्यो मलाई। म हजुरआमाको व्यवहारले आजित भइसकेकी थिएँ।

सानैदेखि बन्धनमा बाँधिएर हो कि मलाई घुम्ने, डुल्ने र रमाउने बानी नै परेन। साथीहरू घुम्न जाँदा पनि म घरमै घरको काम गर्थें। जति उमेर बढ्दै गयो मलाई कामको भारीले उति नै च्याप्दै थियो। दसैंको बेला सबै घर म एक्लैले लिपपोत गरेर भ्याउनुपर्ने। अनि हजुरआमाले भनेअनुसार अरूको मेला पनि पुग्नुपर्ने।

आठ कक्षादेखि आठ बजे स्कुल पुग्नुपर्ने थियो, ट्युसनका लागि। घरबाट सात बजे हिँड्नुपर्ने। बिहान उठेर खाना सबै तयार गर्नुपथ्यो मलाई। अनि अलिकति घाँस पनि काटिदिनुपर्ने। दुई वर्षसम्म बिहान उठेर खाना बनाउने अनि घाँस काटेर मात्र स्कुल जानुपर्ने मेरो दैनिकी बनेको थियो। बेलुका आएर खाना बनाउन र सबै काम सक्काउँदा करिब १० बज्ने भयो। पढ्ने समयको कुनै टुंगो थिएन मेरो। हजुरआमालाई मेरो पढाइभन्दा घरको काम र दाउरा घाँस नै प्यारो थियो।

हजुरआमा निकै चुरोट खाने। उहाँलाई दैनिक बीस रूपैयाँको चुरोट खान पैसा हुन्थ्यो तर मलाई कपी कलम किन्न कहिल्यै पैसा भएन। यसमा मलाई निकै नरमाइलो लाग्थ्यो। कहिलेकाहीँ आवश्यक परेर मागे पनि गाली गर्नुहुन्थ्यो। मेरो ट्युसन फिदेखि लिएर सबै खर्च हजुरबुबाले नै व्यहोर्नुहुन्थ्यो। साथीहरूले जस्तो क्यान्टिनमा खाजा खाने हैसियत थिएन ममा, मैले घरबाटै खाजा बनाएर लैजान्थें।

हजुरआमाको व्यवहारले मलाई व्यावहारिक बनाउँदै लगेको थियो। एउटी नातिनीलाई होइन बुहारीलाई गरिने व्यवहार गरिएको थियो ममा। म बसेर नै सबै, सम्पत्ति सकिए जस्तै गर्नुहुन्थ्यो उहाँ। तँ गएपछि एक्लै बस्न पाउँछु, एक्लै रमाउँछु भन्दा चाहिँ साह्रै नरमाइलो लाग्थ्यो मलाई। तर पनि मैले उहाँसँग पाँच वर्ष बिताएरै छाडें। उहाँले गरेको व्यवहार जति नै क्रूर भए पनि मेरो मनोबल कहिल्यै गिरेन। जब एसइई नजिकिँदै थियो यो ठाउँमा बस्ने दिन सकिए भन्ने खुसी पनि नजिकिए जस्तै लाग्थ्यो मलाई।

बुढ्यौलीपनाले छुँदा पनि हजुरआमा कहिल्यै परिवर्तन हुनुभएन। उहाँले यो मेरो सहारा हो भनेर कहिल्यै सोच्नुभएन। मेरा साथीहरूको तुलनामा मेरो बाल्यकाल बिल्कुल फरक थियो। साथीहरूको बालापन हाँसोमा बित्यो त मेरो आँसुमा।

प्रकाशित: २७ वैशाख २०७६ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App