८ वैशाख २०८१ शनिबार
अन्य

दरबन्दीविहीन धार्चेका विद्यालय

धार्चे गाउँपालिकाको लापुस्थित प्रभातकिरण मावि, यहाँ मावि दरबन्दी शून्य छ। तस्बिरः नागरिक

वार्षिक डेढ करोड विकास बजेट शिक्षकको तलबमा


गोरखा– धार्चे गाउँपालिकाका सातवटै माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन। कुनैपनि विद्यालयमा मावि तहको दरबन्दीमा शिक्षक नभएपछि गाउँपालिकाले चालू वर्ष एक करोड १० लाख तबल भत्तामा खर्च ग-यो। शिक्षक दरबन्दी व्यवस्थापन नहुँदा बिकास बजेटले शिक्षकपाल्नुपर्ने गाउँपालिकालाई बाध्यता छ।

‘गाउँपालिकामा सातवटा मावि छन्,तर एउटा पनि दरबन्दी छैन,’ गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले भने, ‘विद्यालय त चलाउनुप-यो, तलब खुवाउनुप-यो, हामीले यो वर्ष एक करोड १० लाख तबलभत्तामा मात्रखर्च गर्ने गरी विद्यालयहरूलाई दियौं।’

गाउँपालिकाबाहेक वडा कार्यालयहरूले पनि विद्यालयका लागि छुट्टै बजेट विनियोजन गर्ने गरेका छन्। त्यो बजेटबाट करारमा, निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाइन्छ। वडा र पालिकाको गरी बर्सेनि एकदेखि डेढ करोड रुपैयाँ विकास बजेट दरबन्दीअनुसार शिक्षक नहुँदा विद्यालयमा खर्च भएको छ।

लापुस्थित प्रभातकिरण माविका प्रधानाध्यापक जीव गुरुङ भन्छन्, ‘अविभावकसँग मासिक चन्दा मागेर विद्यालय चलाउनुपरेको थियो, अहिले भार कम भए पनि दरबन्दीअनुसार शिक्षक पुगको छैन।’ निमावि दरबन्दीमा पनि शिक्षक नरहेको बताउँदै उनले भने, ‘दुर्गम भएकाले होला दरबन्दीमा पहिलेदेखि नै शिक्षक आएनन्।’

आधारभूत तहसहित २३ वटा विद्यालय रहेको यस गाउँपालिकाभित्र केही विद्यालयमा निमावि तहको दुईदेखि तीनवटा बाहेक दरबन्दी छैन। कम्तीमा ६ देखि १५ जनासम्मको दरबन्दी हुनुपर्छ भनिएको छ। खर्च धान्न गाह्रो हुने, विद्यालय बन्द हुने, नजिकको विद्यालयमा पढ्न नपाउने भएपछि सामुदायिक विद्यालय सञ्चालन गर्न अभिभावकले चन्दा संकलन गर्ने गरेका छन्। ‘हरेकजसो विद्यालय चन्दामा चलेका हुन्, गाउँपालिकाले एकमुष्ट बजेट विनियोजन गरेपछि केही सहज भए पनि दरबन्दीअनुसार शिक्षक र तलब सुविधा पुगेको छैन।

गाउँपालिकाले एउटा माध्यमिक विद्यालयका लागि दुईवटा मावि तहमा दरबन्दीका शिक्षकलाई पुग्ने गरी तलब दिएको छ। दुईजना मात्र शिक्षक राखेर पढाउन सम्भव छैन। उक्त तलब भत्ताले थप शिक्षक पाल्नुपर्ने, अभिभावकसँग चन्दा लिनुपर्ने बाध्यता रहेको प्रभातकिरण माविका प्रअ गुरुङले बताए।

सातवटा वडा रहेको धार्चे गाउँपालिका गोरखाको उत्तरी दुर्गम हिमाली गाउँपालिका हो। यहाँ हत्तपत्त शिक्षकहरू पहिले दरबन्दीमा पदस्थापन हुन मानेनन्। अहिले करारमा, अस्थायी काम गर्ने अधिकांश विद्यालयमा स्थानीय शिक्षक छन्। सबै विद्यालयमा गरी करिब दुई हजार विद्यार्थी छन्।

विद्यार्थी संख्या कम भएका विद्यालयलाई पनि दुर्गम भूगोल भएका कारण सञ्चालन गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेले बताए। ‘एउटा विद्यालयबाट अर्कोमा जान दिनभरि लाग्छ, थोरै विद्यार्थी भएपनि हामीले पढाउनुपरेको छ, विद्यालयालई अनुदान, शिक्षक व्यवस्थापन गर्नुपरेको छ’ उनले भने। अहिले वडा नम्बर १ बाहेक पाँचवटा वडामा एक र एउटा वडामा दुईवटा मावि सञ्चालन छन्।

गाउँपालिकाले यस वर्षदेखि मेगा विद्यालय सुरु गर्ने भएको छ। ‘आवासीय रूपमा पढाउने गरी मेगा विद्यालय सञ्चालन गर्दै छौं,’ अध्यक्ष सन्तबहादुर गुरुङले भने, ‘गुणस्तरीय शिक्षा र एकीकृत लगानी गर्न हामीले मेगा विद्यालयको योजना बनाएका हौं।’ मेगा विद्यालयको योजना तयार गर्ने काम भइरहेको उनले बताए।

मेगा विद्यालय बनेपछि थोरै विद्यार्थी रहेकालाई मर्ज गर्ने योजना गाउँपालिकाको छ। केही विद्यालय अहिले पनि २० जनाभन्दा कम विद्यार्थी लिएर सञ्चालनमा छन्। विद्यालय उमेरका बालबालिका गुम्बामा पढ्ने, खच्चड धपाउने, ट्रेकिङ जानेलगायतका कारण तथ्यांकमा भेटिएका विद्यार्थी कक्षामा नभेटिने क्रम बढ्दो छ। ‘मेगा विद्यालय सञ्चालन भएपछि यो क्रम घट्छ,’ अध्यक्ष गुरुङले भने।

प्रकाशित: २७ वैशाख २०७६ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App