रतुवामाई– झापा र मोरङको सीमा छुट्याउने रतुवा खोलाको पश्चिमतर्फको मुख्य भँगालो पार गरेपछि रतुवामाई नगरपालिका वडा नं. ३ मा एउटा बस्ती आउँछ। करिब ८० घर परिवारको बसोबास रहेको बस्ती मिर्चाडाँगी नामले चिनिन्छ।
मधेसको आदिवासी जनजाति गनगाईं, ताजपुरिया र दलित समुदायको बसोबास भएको बस्तीको दक्षिणतर्फ भारत, पश्चिमपट्टि रतुवा खोलाको मुख्य भँगालो र पूर्वपट्टि पनि रतुवा खोलाकै अर्को भँगालो पर्छ। उत्तरतर्फ भने केही दूरीमा बस्ती छ। जसले गर्दा बस्ती बर्खाका बेला पानीले घेरिन्छ र टापुको रुप धारणा गर्दछ।
यो बस्ती सरकारभन्दा निकै टाढा छ। पछिल्लो पटक नगरपालिकाले बल्ल बल्ल बिजुलीको पोल गाडी दिएपछि केही राहत महसुस गरेका छन्। यसअघि मोरङ क्षेत्र नं. १ मा पर्ने यस बस्तीका जनताले दिवंगत कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई जिताउन योगदान दिए। कांग्रेसकै अर्का नेता आमोद उपाध्यायलाई पनि जिताउन योगदान दिए। संविधानसभाको दोस्रो निर्वाचनमा एमाले नेता ऋषिकेश पोखरेललाई जिताउन योगदान दिए। अहिले क्षेत्र नं. २ मा पर्ने बस्तीका बासिन्दाले कांग्रेस नेता मीनेन्द्र रिजाललाई जिताउन योगदान दिए। यी नेताले आफ्ना मतदातालाई के के गरे त? बस्तीका बासिन्दाको एउटै माग छ, ‘हाम्रो बस्तीमा पश्चिमतर्फ एउटा झोलुङ्गे पुल भए पुग्छ, अरु केही चाँहिदैन।’
यो बस्तीका बासिन्दा बर्खाको बेला बिरामी पर्दा उपचार गर्न लाने ठाउँ विराटनगर नै हो। बर्खाको बेला विराटनगर पु-याउन इण्डिया पु-याएर फेरि नेपाल प्रवेश गरी लानुपर्ने पीडा सुरेश गनगाईंले बताए। उनका अनुसार बर्खाका बेला बिरामीलाई उपचार गर्न लान भारतको किसनगञ्ज जिल्लाको फूलबारी पु-याएर पैकटोल हुँदै फेरि नेपाल डोरियाबाट झुर्किया हुँदै विराटनगर लाने गरिन्छ।
उपचार गर्न लान ढिलाइ हुँदा एक वर्षअघि यो बस्तीका मदनलाल सिंह र राधाकुमारी सिंहको मृत्यु भएको घटना स्थानीयलाई ताजै छ। ‘कसैलाई आपत्विपत् पर्दा उपचारमा धेरै नै समस्या छ,’ स्थानीय शंकरप्रसाद सिंहले भने।
शिक्षाको पाटोलाई हेर्दा यहाँ कक्षा ३ सम्म पढाइ हुने आधारभूत विद्यालय छ। तीन कक्षाभन्दा माथि पढ्नका लागि भने अन्यत्र जानुपर्छ। बस्तीबाट रतुवा खोलाको पश्चिमतर्फको मुख्य भँगालो पार गरेर महादेवमा रहेको सरकारी स्कुलमा जान चार किलोमिटर र झुर्कियाको सरकारी स्कुल पुग्न सात किलोमिटर दूरीमा छ। झापा गौरीगञ्ज पनि सात किलोमिटर नै दूरीमा पर्छ। त्यसैले गर्दा यहाँका अधिकतर स्कुले बालबालिका झापाको गौरीगञ्ज नै पढ्ने गरेका छन्।
शंकरप्रसाद सिंहले आफ्ना तीन जना छोराछोरीलाई गौरीगञ्जमै कोठा भाडा लिएर पढाउने गरेका छन्। युनिभर्सल एकेडेमीमा उनका जेठा छोरा सुमन कक्षा ६ मा पढ्छन् भने अर्की छोरी कक्षा ४ र छोरा तीनमा पढ्छन्। विरेनकुमार सिंहकी दुई वटै छोरी निशा र मनीषा गौरीगञ्जमै पढ्छन्। बस्तीका कुमार सिंहका एक छोरी र दुई छोरा पनि गौरीगञ्जमै कोठा भाडा लिएर पढ्छन्।
जेठदेखि कात्तिकसम्म रतुवा खोलाको पश्चिमतर्फको मुख्य भँगालो वारपार गर्न सकिँदैन। वि.सं.२०४० सालभन्दा पहिले रतुवा खोला बस्तीभन्दा पूर्वतर्फबाट बग्थ्यो। तर, २०४० देखि पछि भने पश्चिमतिरबाट बग्न थालेको हो। ‘बस्तीका बासिन्दामध्ये एक परिवारको सरदर १०–१२ बिघा जग्गा रतुवा खोलाले कटान गरेर स्वाहा बनायो,’ सुरेश गनगार्इं भन्छन्, ‘अहिले त हाम्रो एउटा परिवारका सरदर आठ–दस कट्ठामात्र जग्गा छ।’
यहाँका बस्तीका बासिन्दाको जीवनयापन कृषिमा नै निर्भर छ। यहाँका बासिन्दाले तरकारी खेतीबाट प्रतिपरिवार कम्तीमा तीन लाख आम्दानी गर्छन्। तरकारी खेतीबाहेक धान, मकै, गहुँ, जुटलगायतका खेती गर्छन्। राजनीतिक दलले यहाँका बासिन्दालाई भोट बैंकको रुपमा प्रयोग गरे पनि सोचे अनुसारको विकास हुन सकेको छैन। नगरपालिकाले केही समयअघि मात्र बस्तीका बासिन्दाका लागि बिजुली सहयोग गरेको मेयर रवीन राईले बताए। तर, यहाँका बासिन्दाका समस्या थुपैै्र छन्। यहाँका बासिन्दाको झिनो आवाज रतुवा खोलाको गर्जनसँगै हराइरहेको छ। जसले गर्दा स्थानीय, प्रदेश र संघीय सरकारले बस्तीका बासिन्दाका निम्ति विशेष योजना ल्याउनुपर्छ।
प्रकाशित: २७ वैशाख २०७६ ०५:३४ शुक्रबार