६ वैशाख २०८१ बिहीबार
विचार

भ्रमणले भुक्तमान

जबजब अति विशिष्टहरूको भ्रमण हुन्छ, तबतब सर्वसाधारणले आफ्नो यात्रामा अवरोध आउँछ भन्नेमा विश्वस्त हुनुपर्छ। जसरी हामी मौसमको पूर्वजानकारी लिएर घरबाट छाता लिएर हिँड्ने वा नहिँड्ने निष्कर्षमा पुग्छौं, त्यस्तै तयारी अब अति विशिष्टका भ्रमणका क्रममा पनि गर्नुपर्छ। त्यसका लागि भ्रमणको समय अग्रिम जानकारी लिई त्यो दिन यात्रा गर्ने वा नगर्ने तय गर्नुपर्ने अवस्था छ। पहिले पनि अति विशिष्टका भ्रमण नहुने होइनन्। त्योबेला छोटो समयका निम्ति सवारी रोकिन्थ्यो। तर अहिले सवारी रोकिने समय अनिश्चित हुन्छ। त्यसले दिनभरिजसो यातायात अवरुद्ध गरिरहेको हुन्छ। त्यसमा पनि हवाई यात्रामा अति विशिष्ट निस्केका बेलामा स्थिति झनै भयावह हुन्छ। हवाई यात्रुलाई लामो समय आकाशमै राख्नु अब अनौठो अभ्यास हुन छाडेको छ। केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण हुने बेलामा दुई सय उडान अवरुद्ध भएको खबर सार्वजनिक भइसकेको छ। चीन भ्रमणमा जाने बेला र फर्किने बेला पनि त्यस्तै अवस्था देखिएको छ। यस्ता ‘सवारी’ले सडकमा सर्वसाधारणलाई आक्रोशित पार्ने अवस्थासमेत सिर्जना भएका छन्।

आखिर हामीले यस्ता भ्रमण किन सहज ढंगले चलाउने सोच बनाएनौं ? त्यसमा पनि जनताका छोराछोरी विशिष्ट स्थानमा पुगेपछि किन यति धेरै देखावटीका निम्ति हामीले काम गरिरहेका छौं। के विशिष्ट व्यक्तिका ‘सवारी’का बेला सर्वसाधारणको बाटो नथुनी उनीहरूप्रति सम्मान दर्साएको ठहर्दैन ? अहिलेको जस्तो व्यवहारले सम्मानभन्दा असम्मान बढाउँछ। हाम्रो नेतृत्व हाम्रा सार्वजनिक यातायातमा पनि भेटिनुपर्छ भनेर हामी कल्पना गर्न सक्दैनौं। तर कहिलेकाहीँ सामान्य अवस्थामा पनि यात्रा गरेर सर्वसाधारणलाई चकित पार्ने काम गर्दा हुन्छ। क्यानेडियाली प्रधानमन्त्री जस्टिन ट्रुडोले मोन्ट्रियल रेल्वे प्लेटफर्ममा आकस्मिक रूपमा सर्वसाधारणसँग भेटेको र हात मिलाएको भाइरल भिडियो हेर्ने नेपाली धेरै छन्। कहिलेकाहीँ हाम्रा नेताले पनि यस्तो आश्चर्यजनक घटना गरून् भन्ने लाग्नु स्वाभाविक हो। तर हामीकहाँ ठूलो जिम्मेवारीमा पुग्नासाथ असहज व्यवहार हुन थाल्नु आफैंमा नेपालीहरूको दुर्भाग्य हो। हिजो यिनै नेताहरू हुन्, जो सर्वसाधारण जनताका माझबाट हुर्किएर आएका हुन्। आज के त्यस्तो अवस्था पर्‍यो, जसले उनीहरूलाई सर्वसाधारणबाट धेरै टाढा लगिरहेको छ। हुँदाहुँदा उनीहरू हिँड्ने बाटोमा सर्वसाधारणले समेत सहज ढंगले हिँड्न नपाउने अवस्था आइसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार सुरु भएको भियतनाम र कम्बोडिया भ्रमणका क्रममा फेरि आन्तरिक र बाह्य उडानसमेत अवरुद्ध भएका छन्। अन्तर्राष्ट्रिय भ्रमणबाट आइरहेका स्वदेशी तथा विदेशी यात्रुले आकाशमै एक घन्टासम्म बस्नुपरेको स्थितिलाई सहज रूपमा लिन सकेका छैनन्। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अति विशिष्टको भ्रमणका निम्ति हवाई उडान र यातायात व्यवस्थालाई केहीबेर रोक्ने चलन हुन्छ, हामीकहाँ जस्तो घन्टौंघन्टा होइन।

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार सुरु भएको भियतनाम र कम्बोडिया भ्रमणका क्रममा फेरि आन्तरिक र बाह्य उडानसमेत अवरुद्ध भएका छन्। अन्तर्राष्ट्रिय भ्रमणबाट आइरहेका स्वदेशी तथा विदेशी यात्रुले आकाशमै एक घन्टासम्म बस्नुपरेको स्थितिलाई सहज रूपमा लिन सकेका छैनन्। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अति विशिष्टको भ्रमणका निम्ति हवाई उडान र यातायात व्यवस्थालाई केहीबेर रोक्ने चलन हुन्छ, हामीकहाँ जस्तो घन्टौंघन्टा होइन। त्यसमा पनि सबै भ्रमणका निम्ति पनि यसो गर्नु आवश्यक छैन। हामी स्वतन्त्र र सार्वभौम मुलुक हौं। यो मुलुकका नेताहरूले पनि अन्यत्रका अति विशिष्टले जस्तै सेवासुविधा पाउनुपर्छ। हामी यो भन्दैनौं कि उनीहरूलाई उन्मुक्ति हुनुहुँदैन। तर हामीले आफ्ना लागि केही विशिष्ट अभ्यास बनाउन खोज्नु पनि पर्छ। हामी हाम्रा यात्रालाई सामान्य ढंगले चलाएर नयाँ परम्परा बसाउन तयार हुनु पनि पर्छ। अमेरिकी राष्ट्रपतिको भ्रमणका लागि जे–जस्ता व्यवस्था र सुरक्षाका उपाय अंगीकार गरिन्छ, त्यस्तै व्यवस्था हामीलाई पनि चाहिन्छ भन्ने सोच पलाउन थाल्यो भने त्यसले अवश्य पनि असहज अवस्था सिर्जना गर्छ। आफ्नो मुलुकको अवस्था र सर्वसाधारणको अपेक्षा दुवैलाई ध्यानमा राख्नु उचित हुन्छ। अति विशिष्टका भ्रमणले सर्वसाधारणको जीवनमा भुक्तमान थपिरहेको छ भने त्यसमा सुधार ल्याउनेतर्फ ध्यान जानुपर्छ। त्यसले नै नेतृत्वप्रति सर्वसाधारणको सम्मान बढाउँछ।

प्रकाशित: २७ वैशाख २०७६ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App