व्यक्ति, देश र पृथ्वी

शुक्रबार, २७ बैशाख २०७६, ०९ : ०८ डा.सरोज धिताल

भर्खरैमात्र संयुक्त राष्ट्र संघले ५० देशका १५० विज्ञले ३ वर्ष लगाएर गरेको अध्ययनका आधारमा सबैलाई तर्साउँदै भन्यो– आफूलगायत यो ग्रहमा रहेका दशौँ लाख प्रजातिको अस्तित्व खतरामा पारिरहेको छ मानिसको जातले। यो चानचुने सन्देश हैन। अनि यो सूचना प्रवाह गर्ने पनि चानचुने संस्था हैन। अनेक अर्थमा संसारभरकै मानिसको औपचारिक प्रतिनिधित्व गर्ने संस्था हो– संयुक्त राष्ट्र संघ। यसअन्तर्गतका विभिन्न संस्थाका निर्णय र सिफारिसले विश्वभरकै मानिसका चिन्तन र व्यवहारमा महत्वपूर्ण प्रभाव पारिरहेका हुन्छन्। पार्नुपर्छ। तर शक्ति–मातमा लिप्त केही ठूला मुलुकका शासक, तिनका पुजारी बनेका साना देशका सत्ताधारी, आफ्ना दुराग्रह स्थापित गर्न हिंसात्मक गतिविधिमा संलग्न मानिसको विभिन्न जमात, अनि आफ्नो तत्कालको स्वार्थको साँघुरो घेराबाट बाहिर कहिल्यै चियाउन नसक्ने चेतनाका दरिद्र मानिसका जमात भने तात्कालिक राजनीतिक, आर्थिक, धार्मिक वा अन्य कुनै स्वार्थवश ‘राष्ट्र संघले भन्दैमा हुन्छ? हामी त्यसका कुरा मान्दैनौंँ’ भन्ने अटेरी स्वर निकालिरहेका हुन्छन्।

अचम्म के छ भने यी अटेरीभित्र संसारकै शासक हुँ भन्ने दम्भ पालेका शक्तिशाली र धनी देशका डोनाल्ड ट्रम्पजस्ता मानिसमात्रै हैन, झन् झन् सुक्दै गएका खोलाबाट मनपरी बालुवा निकालेर रातारात धनी हुन खोज्ने दरिद्र नेपालीसम्म अति कमविकसित देशका अनैतिक, भ्रष्ट, फोहोरी कर्मचारीमात्रै हैन, जनताका कुरा सुन्ने कान नभएका साना देशका ‘ठूला’ अलोकतान्त्रिक नेतासम्म प्रदूषणले यो बेहाल बनाइसक्यो भन्ने थाहा हुँदाहुँदै पनि डिजेल गाडी भित्र्याएको भित्र्यायै गर्ने लोभी साहू÷महाजनमात्रै पनि हैन, तिनका मतियार बनेका हाम्रा सत्ताधारीसम्म असारको महिनामा सडक मर्मतबाट पैसा कमाउन पर्खिबस्ने हामीकहाँका लोभी÷पापीमात्रै पनि हैन, मनपरी सागर दोहन गर्ने महापापी अन्तर्राष्ट्रिय व्यापारीहरूसम्म जाबो पोलिथिन ब्यागत्याग्न नसक्ने तपाईँ हामी जस्तै औसत मानिसदेखि लिएर अनेक रासायनिक विषको मनपरी प्रयोग गर्न प्रोत्साहन दिने संगठित गिरोससम्म... अनेक किसिमका मानिस छन्।

जनताको बलिदान र असंख्य मृत्युको चर्को मूल्यबाट प्राप्त हाम्रै कलिलो गणतन्त्रलाई भ्रष्टाचारले कसरी भित्रबाट कोपर्दै खाँदै खोक्रो बनाइरहेको छ भन्ने सत्ताधारीसहित सबैलाई थाहा छ।

यिनीहरूलाई पृथ्वीको भविष्यको कुनै मतलब छैन। आफ्नो शरीरदेखि अलिकतिपरको यथार्थको पनि यिनलाई कुनै वास्ता छैन। हामीलाई अर्थात् अहिले पृथ्वीलाई कज्याइरहेको ठान्ने मानिसको प्रजातिलाई यो युगमा प्रत्येक पल झन् झन् नयाँ सूचना प्राप्त भएको भयै छ। हाम्रा गतिविधिका कारण पृथ्वी भनिने यो सुन्दर ग्रह झन् झन् द्रुत गतिमा जीवनविहीन हुने विनाशको बाटोमा छ भन्ने कुरा अब लुकेको छैन। अब केही पुस्तापछि नै हाम्रा सन्तान÷दरसन्तानको जीवन अकल्पनीयरूपमा पीडादायी हुन पुग्नेछ भन्ने सम्भावनाबारे शक्तिशाली मानिसहरू जानिफकार छन्। तर विनाशतर्फको यो यात्रालाई नै निरन्तरता दिन ती किन चाहन्छन् ?

भ्रष्टाचारले गर्ने हानिबारे साँच्चै अनभिज्ञ सत्ताधारीहरू कति पो होलान् र संसारमा? भ्रष्टाचारले देशको ढुकुटी वा नागरिकका खल्तीमात्रै रित्याउने हैन, आतङ्कवादलाई जन्माउनेदेखि पालनपोषण गर्नेसम्म गरिरहेको हुन्छ। परनिर्भरता भ्रष्टाचारकै जगमा उभिएको हुन्छ। लोकतन्त्रलाई भित्रैबाट सखाप पार्ने भ्रष्टाचार नै हुन्छ। जनताको बलिदान र असंख्य मृत्युको चर्को मूल्यबाट प्राप्त हाम्रै कलिलो गणतन्त्रलाई भ्रष्टाचारले कसरी भित्रबाट कोपर्दै खाँदै, खोक्रो बनाइरहेको छ, सबैलाई थाहा छ– सत्ताधारीलाई समेत थाहा छ। धुवाँ÷धुलोसँग भ्रष्टाचार गाँसिएको छ, पानीको प्रदूषणसँग गाँसिएको छ, जनस्वास्थ्यका समस्यासँग गाँसिएको छ। बाढी÷पहिरो, असुरक्षा, वनविनाश... भ्रष्टाचार यस्तो पिशाच हो जो मानिसका सबै दुःख, कमजोरी, बाध्यतासँग घनिष्टरूपमा जोडिएको छ। तर अचम्म छ, किन सत्ताधारीहरू भ्रष्टाचारप्रति शून्य सहनशीलता अवलम्बन गर्ने आँट गर्दैनन् ? हरेक पल आफ्नै बदनामी गराइरहने, आफ्नै अस्मितामा फोहोर खन्याइरहने भ्रष्टाचारसँग लड्न किन नसकेका?

अचम्म छ, किन सत्ताधारीहरू भ्रष्टाचारप्रति शून्य सहनशीलता अवलम्बन गर्ने आँट गर्दैनन् ? हरेक पल आफ्नै बदनामी गराइरहने, आफ्नै अस्मितामा फोहोर खन्याइरहने भ्रष्टाचारसँग लड्न किन नसकेका?

अचेल हाम्रो देशमा दुईतिहाइको कम्युनिस्ट सरकार छ। जहिले पनि जसको सरकार बनोस्, जस्तो सरकार बनोस्, प्रतिपक्षले त पाएको बेला आलोचना गर्ने नै भयो, गर्नैपर्छ, उडाउने नै भयो, उडाउन पाउँछ, रिसाउने नै भयो, झोक देखाउन पाउँछ। दशकौँसम्म राजनीतिक अस्थिरताका कारण आजित भएर बहुमतको स्थिर सरकारले केही गरिहाल्छ भन्ने आशा गरेका आमजनता पनि अचेल जिल्ल परिरहेका छन्– किन गर्नैपर्ने काम पनि यी गर्दैनन् ? किन गर्न सकिने थोरै राम्रा काम पनि यी गर्दैनन् ? किन झन् झन् अलोकतान्त्रिक, दम्भी देखीएका? लोभलालचको फोहोर आहालमा डुबेर किन झन् झन् दृष्टि धुमिल हुँदै गएको यिनका? यिनका सामाजिक न्याय, समानताका नारा पत्याएर पछि लागेका र यिनलाई यत्रो बहुमतले जिताएका अधिकांश मतदाता पनि जिल्ल छन्– खै के भयो त्यो सपना ?

अनि माक्र्सवादलाई आफ्नो जीवनकै मार्गदर्शक सिद्धान्त बनाएका धेरैजसो बुद्धिजीवीमा पनि असन्तुष्टिमात्र बढी देखिन्छ। किन यस्तो भइरहेछ? वामपन्थी भनिने एकथरी मानिसले मात्र झेलेको समस्या वा उनीहरूमा मात्र देखापरेको रोग हो यो कि अन्य जीवन दर्शनका अनुयायीमा पनि यो उत्तिकै व्याप्त छ? किन असल ठानिएका मान्छे सत्तासँगको सामीप्य वा यस्तै विशेष परिस्थितिमा अकल्पनीय हिसाबले फरक हुन थाल्छन् ? यस्ता प्रश्नमा धेरै डुबुल्की मारेको देखिन्न। माक्र्सले ऊबेलाको जुन परिस्थितिमा ‘धर्म’ लाई अफिम भनेका थिए, त्यसको अपव्याख्या भएका कारण त हैन अहिले स्नेह, करुणा, उत्तरदायित्व जस्ता मानवीय सद्गुणलाई पनि पाखा लगाइएको? वस्तुवादी चिन्तनका अर्थमा नभई ‘भौतिकवाद’ लाई वस्तुमोहका रूपमा बुझ्नाले त हैन हिजोका बलिदानी क्रान्तिकारीको यसरी नैतिक पतन हुन थालेको? हैन भने साम्यवादीहरूको नैतिकता त लोभी, आत्मकेन्द्रित, स्वार्थी ठानिएका पुँजीवादीको भन्दा धेरै माथि हुनुपर्ने हैन? यो देशका कम्युनिस्टहरू कसरी अरुभन्दा चर्का ‘असली पुँजीवादी’ बनेका?

केही समयअघि एकजना अधबैंसे त्यागी विद्वान् भन्दै थिए– आफैँलाई परिवर्तन नगरी संसार परिवर्तन गर्न खोज्ने मानिस कालान्तरमा तानाशाह बन्छन्। हुन पनि आफैँलाई परिवर्तन गर्न नचाहने मानिस सत्तामाथि सवार हुनेबित्तिकै जुन नयाँ सुविधाको संसारमा प्रवेश गर्छ, त्यसले आसेपासेमाथिको निर्भरता बढाउने र जनतासँगको प्रत्यक्ष सम्बन्ध विच्छेद गराउने परिस्थिति सहजै तयार गरिदिन्छ। सत्ताको मात अत्यन्त खतरनाक हुन्छ– जस्तै विनम्र मानिसलाई पनि त्यसले उग्र दम्भी बनाइदिन्छ। आफूलाई निरन्तर निरीक्षण गर्ने अभ्यास नभएका मानिस सत्तामा पुगेपछि बिग्रने निश्चित छ। र, हाम्रो दुर्भाग्य के छ भने यस्ता आत्मनिरीक्षण गर्न चाहने, साहस गर्ने मानिस सत्तामा बिरलै पुग्छन्। केही समययता प्रचण्ड भन्ने गर्छन् रे– ‘७ लाख सदस्य भएको पार्टीको अध्यक्ष भएर पनि मलाई झन् एक्लो भएको लाग्न थालेको छ।’ कुरा बुझ्न सकिन्छ।

पृथ्वीको सतहमा छरिएका मानिसका क्रियाकलाप आआफ्नै किसिमले कुनै न कुनैरूपमा अभिलिखित हुन थालेको हजारौँ वर्ष भइसक्यो। धेरै अभिलेख हराइ पनि सके। कतिपय यस्ता अभिलेख आधुनिक मान्छेले अझै बुझ्न सकेको छैन। जति भेटिएको छ र जति बुझिएको छ, तिनले भन्छन्– हरेक युगमा मानिसले स्वधर्मका बारेमा आफूलाई सचेत गराउँदै आएको पनि छ। तर पनि मानवीय कमजोरीहरू कहिल्यै निर्मूल भएका छैनन्। निकट विगतको इतिहास हेर्दा कुनै बेला पुँजीवादको आधुनिकतामा, कुनै बेला साम्यवादको क्रान्तिकारितामा देखा पर्छन् यी कमजोरी। कर्मकाण्डीय क्रियाकलापको विरोध गर्दागर्दैमानिसले अझै डरलाग्दो नयाँ अन्धविश्वास, अझै डरलाग्दो नयाँ कर्मकाण्डहरूसिर्जना गरेको छ। अन्यायको विरोध गर्दागर्दै झनै डरलाग्दो अन्यायमा रमाउन थालेको छ मान्छे। तैपनि असल मानिसले बेलाबेलामा सचेत गराएकै भरमा पनि घनाअन्धकारबाट कहिले केही लामो, कहिले केही छोटो अन्तरालमा मानिस उज्यालोमा निस्कने गरेको थियो। तर विगत केही शताब्दीयता भने मानिसका गतिविधिका कारण जति डरलाग्दो स्थिति सिर्जना भएको छ, त्यसले अभूतपूर्व संकट सिर्जना गरेको छ। यही विश्वव्यापी यथार्थको नेपाली प्रकटीकरण हो यतिबेलाका नेपालका सत्ताधारीहरूमा देखिएको उदेकलाग्दो, डरलाग्दो नैतिकताको क्षयीकरण। तर साँच्चै नै बिउँझन चाहने हो यो बेहोसी र मातबाट भने नेपाली सत्ताधारीका निम्ति यतिबेला गजबको अवसर छ। भ्रष्टाचारसँग लड्ने थोरै साहस किन जुटाउँदैनन् यी?







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad