coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

व्यापार वार्तामा चीनले सम्झौता तोडेको ट्रम्पको आरोप

फ्लोरिडाको पानामा सिटी तटमा बुधबार आयोजित ¥यालीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर: एजेन्सी

वासिङ्टन – व्यापार वार्तामा चीनले ‘सम्झौता तोडेको’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन्। लामो समयदेखि जारी अमेरिका–चीन व्यापार विवाद सुल्झाउनका लागि दुई पक्षबीच हुन लागेको वार्ताअघि ट्रम्पको यस्तो आरोप बाहिरिएको बिबिसीले जनाएको छ।

ट्रम्पको यस्तो आरोपले दुई देशबीचको तनाव थप चर्किएको बताइएको छ। चिनियाँ उत्पादनमा अमेरिकाले कर बढाए आवश्यक जबाफी कदमबाट बदला दिने बेइजिङले बताएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो टिप्पणी आएको हो। ट्रम्पले शुक्रबार दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा कर दोब्बर बनाउने बताएका थिए। यति हुँदा हुँदै पनि यी दुई देशबीचको बिहीबार वासिङ्टनमा दुई देशबीच व्यापार वार्ता हुँदैछ।

वासिङ्टन वार्ताका लागि चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चिनियाँ उपप्रधानमन्त्री लिउ हीले गरिरहेका छन्। उनी चीनको शक्तिशाली अधिकारीमध्ये एक हुन्। चीनको अर्थतन्त्र हेर्ने उपप्रधानमन्त्री लिउले हार्भड विश्वविद्यायबाट औपचारिक शिक्षा लिएका हुन् र उनी अंग्रेजीमा राम्रो दख्खल भएका चिनियाँ नागरिक समेत हुन्।

एकअर्काका सामानमा कर वृद्धि गरेका अमेरिका र चीनबीच लामो समयदेखि चरणबद्ध व्यापार वार्ता भइरहेको छ। दुई देशबीच स्थानीय समयअनुसार बिहीबार हुने बैठकअघि ट्रम्पले चिनियाँ नेताहरुले व्यापारबारे अमेरिकाले गरिरहेको वार्ताको सम्झौता तोडेको आरोप लगाएका हुन्।

‘उनीहरुले सम्झौता तोडे। उनीहरुले त्यस्तो गर्न हुन्न थियो। अब यसको मूल्य उनीहरुले चुकाउनुपर्छ,’ फ्लोरिडामा आयोजित ¥यालीमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकहरुसमक्ष बताए। यदि दुवै पक्षले सम्झौता गर्न नसके ‘वर्षको १ सय अर्ब डलर लिनु कुनै गलत नहुने’ पनि ट्रम्पले बताएका छन्।

बेइजिङस्थित वाणिज्यमन्त्रीले चीनले हस्ताक्षर हुने प्रक्रियामा रहेको सम्झौता तोडेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीको खण्डन गरेको बिबिसीले उल्लेख गरेको छ। चिनियाँ पक्षले सम्झौताको मस्यौदामा महत्वपूर्ण परिवर्तन गरेको समाचार पनि बाहिरिएको छ। राष्ट्रपति ट्रम्पले चीनले सम्झौता तोडेको बताए पनि चिनियाँ  वाणिज्यमन्त्रीले भने उनको भनाइको खण्डन गरेका छन्। उनले चिनियाँ नागरिक आफ्नै भनाइमै टिकेको र त्यो कहिले पनि परिवर्तन नभएको उनले बताए।

वासिङ्टनले आफ्नो योजना अनुसार १ सय ५० प्रतिशत कर बढाए त्यसको बदला लिन चीन पूर्ण रूपमा तयार रहेको पनि उनले बताए। विद्यमान व्यापार युद्ध अन्त्य गर्नका लागि हालैमात्रै अमेरिका र चीनबीच सम्झौता हुनै लागेको जस्तो देखिएको थियो। तर आइतबार अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्विट गर्दै अमेरिकाले दुई सय अर्ब अमेरिकी डलरबराबर चिनियाँ सामानमा यसै साता कर वृद्धि हुने र अन्य सामानमा पनि नयाँ कर वृद्धि हुनसक्ने बताएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पकै भनाइलाई थप बल पु-याउँदै चीनसँगको व्यापार वार्ताका लागि अमेरिकी प्रतिनिधि रोबर्ट लाइटथाइजरले पनि चीनले वार्तामा गरिएका प्रतिबद्धता तोडेको बताएका छन्। यद्यपि उनले बेइजिङसँग सम्झौताको सम्भावना अझै जीवित नै रहेको पनि बताएका छन्।

ट्रम्पको आरोप र चीनको प्रत्यारोप बाहिरिएलगत्तै विश्वभरका बजार प्रभावित बनेका छन्। ट्रम्पले चिनियाँ सामानमा उच्च कर लगाउने घोषणा गरेलगत्तै यसै साताको सुरुवातमा विश्व सेयर बजारमा गिरावट आएको थियो। एकअर्काका सामानमा थप कर वृद्धि गर्ने घोषणा गर्दै व्यापार वार्तामार्फत समस्याको समाधानमा जुटेका चीन र अमेरिकाले यसअघि पनि अर्बौं डलरबराबरका सामानमा कर लगाइसकेका छन्।

प्रकाशित: २७ वैशाख २०७६ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App