सोल – उत्तर कोरियाले गत साता गरिएका रकेट परीक्षण आफ्नो देशको आत्मसुरक्षाका लागि गरिएको नियमित प्रक्रिया भएको जनाएको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन आफैं प्रत्यक्ष रूपमा सहभागी भएको गत शनिबारको कार्यक्रममा कैयौं रकेट परीक्षण गरिएको र कम्तीमा पनि एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण भएको अनुमान गरिएको छ।
प्योङयाङले रकेट र ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण ‘नियमित र आत्मसुरक्षाका लागि गरिएको’ बताएको छ। उत्तर कोरियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै कोरियाली समाचार एजेन्सी केसिएनएले यस्तो दाबी गरेको रोयटर्सले उल्लेख गरेको छ। ‘हाम्रो सेनाले पछिल्लो समय परीक्षण गरेको रकेट नियमित सैन्य तालिमको एउटा अंशबाहेक केही हैन। हाम्रो परीक्षणले कसैलाई लक्षित गरेको छैन र यसले समग्र क्षेत्रमा केही असर पार्ने उद्देश्य पनि लिएको छैन,’ विदेश मन्त्रालयका नाम उल्लेख नगरिएका एक प्रवक्तालाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार एजेन्सी केसिएनले उल्लेख गरेको छ।
शनिबारको परीक्षण उत्तर कोरियाले सन् २०१७ को नोभेम्बर महिनामा गरेको लामो दूरीको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछिको पहिलो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच गत फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा भएको दोस्रो शिखर बैठक बिना निष्कर्ष टुंगिएपछि प्योङयाङको पछिल्लो कदम आएको हो।
हनोई शिखर बैठकमा उत्तर कोरियाले आफूमाथि लाग्दै आएको आर्थिक प्रतिबन्ध पूर्ण रूपमा हट्नु पर्ने माग गरेको थियो भने संयुक्त राज्य अमेरिकाले उसको आणविक हतियार कार्यक्रम पूर्ण रूपमा अन्त्य नभएसम्म प्रतिबन्ध कायम नै रहने बताएको थियो। यही कारणले दुई देशबीचको बैठक बिना निष्कर्ष टुंगिएको थियो। बिना निष्कर्ष बैठक टुंगिएपछि दुई देशबीचको सम्बन्ध पुनः समस्यामा पर्न थालेको विश्लेषकहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
उत्तर कोरियाले शनिबार रकेट परीक्षण र ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि छिमेकी दक्षिण कोरियाले उसलाई ‘कोरियाली प्रायद्वीपमा सैन्य तनाब बढ्ने खालको गतिविधि रोक्न’ आग्रह गरेको छ। दक्षिण कोरियाले यस्तो आग्रह गरे पनि उत्तर कोरियाली नेता किमसँग दुई पटक शिखर बैठक गरिसकेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग सम्झौता हुनेमा आफू अझै पनि पूर्ण विश्वस्त रहेको बताएका छन्।
शनिबारको परीक्षणबारे बेनाम आलोचना गर्दै उत्तर कोरियाले आफूमाथि बिनाआधार आरोप नलगाउन र त्यस्तो गरिए कसैले नचाहेको बाटोतर्फ जान सकिने चेतावनी जारी गरेको रोयटर्सले उल्लेख गरेको छ। नाम सार्वजनिक नगरिएका उत्तर कोरियाली विदेश मन्त्रालयका एक प्रवक्ताले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले दुईवटा नीति लिइरहेको आरोप पनि लगाएका छन्। सोल र वासिङ्टनले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गरेर दोहोरो नीति लिइरहेको आरोप लगाएका हुन्।
उत्तर कोरियाली सर्वोच्च नेता किमसँग पहिलो पटक सन् २०१८ को जुनमा सिंगापुरमा भेटेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँग मिलेर अमेरिकाले गर्ने लामो आकारको सैन्य अभ्यास स्थगन गर्ने घोषणा गरेका थिए। यद्यपि दुई देशबीच साना संयुक्त अभ्यास भने जारी नै रहेका कारण प्योङयाङले अमेरिका र दक्षिण कोरियाको आलोचना गर्ने गरेको छ।
उत्तर कोरियाले भने सन् २०१७ देखि नै आफ्नो आणविक र ब्यालेस्टिक परीक्षण कार्यक्रमलाई रोकेको छ। यही आधारलाई अमेरिकी राष्ट्रपति ट्रम्पले महŒवपूर्ण तथ्यका रूपम प्रष्ट्याउँदै प्योङयाङसँगको आफ्नो वार्ताको उपलब्धीका रूपमा लिने गरेका छन्।
ट्रम्प र किमबीचको दोस्रो शिखर बैठक बिना निष्कर्ष अन्त्य भएपछि कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरण प्रक्रिया हाल रोकिएको अवस्थामा रहेको छ। यसैबीच उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टेफन बेइगुन दक्षिण कोरियाली अधिकारीहरुसँगको बैठकका लागि बुधबार सोल पुगेका छन्। उनले दक्षिण कोरिया आउनुका पछाडिको उद्देश्यबारे नबताए पनि सोलमा रहँदा उनले प्योङयाङले शनिबार गरेको रकेट र ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण र उत्तर कोरियालाई प्रदान गरिने मानवीय सहायतासहित विविध पक्षमा छलफल गर्ने अनुमान गरिएको रोयटर्सले उल्लेख गरेको छ।
पाँच दिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण
एक साताभन्दा कम समयभित्र उत्तर कोरियाले दोस्रो पटक दुईवटा छोटा दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। उत्तर कोरियाको उत्तर–पश्चिमी सहर कुसोङबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्रले चार सय २० किलोमिटर दूरी पार गरेको र उत्तरतर्फ दुई सय ७० किलोमिटर पार गरेको दक्षिण कोरियाली सेनाले उल्लेख गरेको छ।
स्थानीय समयअनुसार चार बजेर ३० मिनेटमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको र ती क्षेप्यास्त्र समुद्रमा खस्नुअघि करिब ५० किलोमिटरको उचाइ लिएको दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसअघि गत शनिबार उत्तर कोरियाले छोटा दूरीका कैयौं क्षेप्यास्त्र परीक्षण गरेको थियो। आणविक सम्झौताबारे अमेरिका र उत्तर कोरियाबीच अड्किएको वार्तालाई कसरी फुकाउने भनेर उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टेफन बेइगुन दक्षिण कोरिया पुगेकै बेला प्योङयाङले क्षेप्यास्त्र प्रक्षेपण गरेको विवरण बाहिरिएको हो। छोटा दूरीका क्षेप्यास्त्रको परीक्षण गरेर उत्तर कोरियाले अमेरिकालाई सहमतिका लागि दबाव सिर्जना गरिरहेको विश्लेषकहरुले बताएका छन्।
प्रकाशित: २७ वैशाख २०७६ ०३:०४ शुक्रबार