coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गान्धी परिवारले बिदा मनाउन युद्धक विमान प्रयोग गरेको आरोप

राजधानी नयाँ दिल्लीको चुनावी सभामा बुधबार आफ्ना समर्थकलाई हात हल्लाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिर: एजेन्सी

नयाँ दिल्ली – भारतमा लोकसभा निर्वाचनका लागि मतदान चलिरहेका छन्। विभिन्न सात चरणमा सम्पन्न हुने विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासमा विशेषतः प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख विपक्षी कंग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

भाजपा र कंग्रेस दुवैले आक्रमक चुनावी अभियान पनि सञ्चालन गरिरहेका छन्। यसैबीच प्रधानमन्त्री मोदीले कंग्रेस अध्यक्ष राहुल गान्धी र उनको परिवारप्रति कटाक्षयुक्त चुनावी सम्बोधन गरिरहेकै परिवेशमा पुनः एउटा सम्बोधन आएको छ।

मोदीले पुनः एकपटक राहुल गान्धीका पिता एवं पूर्वप्रधानमन्त्री राजिव गान्धीलाई एउटा आरोप लगाएका छन्। राजिव गान्धी र उनको परिवारले ‘पारिवारिक बिदा मनाउनका लागि एउटा टापुमा नौसेनाको युद्धक विमान लगेको’ आरोप लगाएका छन्।

उनले सन् १९८० को दशकमा राजिव गान्धीले देशको सामुद्रिक सीमा सुरक्षामा तयारी अवस्थामा रहेको विमानलाई आफू र आफ्नो परिवार बोक्न प्रयोग गरेको र बिदा मनाउन १० दिनसम्म टापुमा बसेको आरोप लगाएका छन्। राजिव गान्धीले त्यसबखत आफ्नो व्यक्तिगत सुरक्षाका लागि देशको नौसेनालाई प्रयोग गरेको आरोपसमेत लगाएको बिबिसीले जनाएको छ।

गान्धी परिवारप्रति मोदीले यस्तो अरोप बुधबार राजधानी नयाँ दिल्लीमा आयोजित चुनावी अभियानका क्रममा लगाएको बिबिसीले उल्लेख गरेको छ। उनले राजिव गान्धीप्रति आरोप पुष्टि हुने खालको सन् १९८८ मा प्रकाशित अखबारको एक रचनासहित एउटा ट्विट पनि गरेका छन्।

प्रधानमन्त्रीको यस्तो आरोपबारे गान्धी परिवारले भने हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।कंग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धीका पिता राजिव गान्धीमाथि एक साताभित्र मोदीले लगाएको यो दोस्रो आरोप हो। यसै साताको सुरुतिर मोदीले मर्ने बेलामा राजिव गान्धी ‘एक नम्बरको भ्रष्टाचारी रहेको’ आरोप लगाएका थिए।

राजिव गान्धीको सन् १९९१ मा चुनावी अभियानकै क्रममा आत्मघाती आक्रमणकारीले हत्या गरेका थिए। दिवंगत पूर्वप्रधानमन्त्रीबारे मोदीले दिएको अभिव्यक्तिलाई लिएर विपक्षीहरुले कडा शब्दमा आलोचना गरिरहेका छन्। यद्यपि मोदीले भने आफ्नो भनाइ फिर्ता लिन अस्वीकार गरिरहेका छन्।

आफ्ना पिताबारे प्रधानमन्त्री मोदीले लगाएको आरोपबारे राहुल गान्धीले एउटा ट्विट मात्रै गरेका छन्। राहुलले ट्विटमा मोदीलाई कडा शब्दमा चेतावनी दिँदै उनको कर्मले उनलाई पर्खिरहेको बताएका छन्। राहुल गान्धी मोदीको आरोपबारे मौनजस्तै देखिए पनि उनकी बहिनी एवं कंग्रेस महासचिव प्रियंका भने अलि आक्रामक देखिएकी छन्।

‘सहिदका नाममा भोट माग्ने प्रधानमन्त्रीले सहिदकै अपमान गरिरहेका छन्। उनलाई राजिव गान्धीले ज्यान दिएको अमेठी (राहुल गान्धीले प्रतिस्पर्धा गरिरहेको क्षेत्र)का जनताले गतिलो जबाफ दिने छन्,’ प्रियंका गान्धीले गरेको ट्विट उद्धृत गर्दै बिबिसीले जनाएको छ। उनले देशलाई ठग्नेलाई कदापी माफी नमिल्ने भन्दै मोदीको आलोचनासमेत गरेकी छन्।

अप्रिल ११ बाट सुरु भएको लोकसभा निर्वाचन प्रक्रिया १९ मेसम्म चल्ने छ र मे २३ का दिन अन्तिम मत परिणाम सार्वजनिक गरिने छ।

प्रकाशित: २७ वैशाख २०७६ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App