coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दिल्ली दोस्रो क्वालिफायर्समा

विशाखापटनम् – पृथ्वी श र ऋषभ पन्तले उत्कृष्ट प्रदर्शन गरेपछि दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई इन्डियन प्रिमियर लिगबाट बहिर्गमनको बाटो देखाउँदै बुधबार दोस्रो क्वालिफायर्समा स्थान बनाएको छ। विसाखापटनम्मा भएको निकै रोमाञ्चक खेलमा पन्त र शको प्रदर्शनप्रेरित दिल्लीले हैदराबादलाई २ विकेटले स्तब्ध बनाउँदै फाइनलनजिक स्थान बनाएको हो।

शले ५६ रन र पन्तले २१ बलमा ४९ रन बनाउँदा दिल्लीले १ सय ६३ रनको लक्ष्य १९.५ ओभरमा पूरा ग-यो। १९औं ओभरको अन्तिम बलमा पन्त आउट भएपछि खेलले रोमाञ्चक मोड लिएको थियो। सात विकेट पतन हुँदा दिल्लीलाई अन्तिम ओभरमा ५ रन आवश्यक थियो।

सुरुआती तीन बलमा दिल्लीले तीन रन लिए पनि चौथो बलमा अमित मिश्रा आउट भएपछि खेलमा थप रोमाञ्चकता बढेका थियो। मिश्रा रन लिने क्रममा पिचमा बाधा पु-याएका कारण आउट भएका थिए। त्यससँगै अन्तिम दुई बलमा दिल्लीलाई दुई रन आवश्यक हुँदा किमो पउलले चौका प्रहार गर्दै एक बलअगावै नतिजा आफ्नो बनाए। आठौं नम्बरमा आएका पउलले ब्याटिङमा उत्कृष्ट भूमिका निर्वाह गर्दा बलिङमा सोही किसिमको प्रदर्शन गरेका थिए।

त्यसअघि पउलले चार ओभरमा ३२ रन खर्चिंदै तीन विकेटसमेत लिएका थिए। सोही प्रदर्शनकै कारण दिल्लीले आइपिएलमा पहिलो पटक प्लेअफमा जित निकालेको थियो। दिल्लीको सफलतामा शको प्रदर्शन पनि सराहनीय रह्यो। ‘म निकै दबाबमा थिएँ। तर पनि प्रशिक्षक रिक्की पोन्टिङ र सौरभ गांगुलीले मप्रति विश्वास गरेर जिम्मेवारी दिनुभएको थियो,’ दिल्लीका शले भने,‘यद्यपि मैदानमा गएपछि मैले आफ्नो खेल्ने शैलीलाई सहज रूपमा अगाडि बढाउँदै सफलता हात पारें।’

‘ऋषभले पनि निकै उत्कृष्ट ब्याटिङ गरे। हामीले योजनाअनुरूप नै खेल्न सकेका कारण एकदम खुसी छौं। चेन्नईविरुद्धको चुनौतीपूर्ण खेल अभैm बाँकी छ। त्यसका लागि हामी निकै मिहिनत गर्नेछौं,’ शले भने। महान् क्रिकेटर सचिन तेन्दुलकरसँग तुलना गरिएका १९ वर्षे शले ३८ बल खेल्दा ६ चौका र दुई छक्का प्रहार गरेका थिए। उनी ११औं ओभरमा तीव्र गतिका बलर खलिल अहमदको बलद्वारा आउट भए।

सोही ओभरमा कप्तान श्रेयस ऐयर ८ रनमा आउट भएका थिए। अफगानिस्तानका स्टार रसिद खानले दिल्लीको इनिङलाई कमजोर पार्ने क्रममा एक ओभरमा कोलिन मुनरोलाई १५ रनमा  र अक्षर पटेललाई शून्यमै पवेलियनको बाटो देखाएका थिए। त्यससँगै १५औं ओभरको समाप्तिमा दिल्लीको पाँच विकेट पतन हुँदा खातामा १ सय ११ रन थियो। भारतको विश्वकप टोलीमा स्थान बनाउन असफल पन्तले आइपिएलमा भने हैदराबादको बलिङलाई सहजै खेलेका थिए।

‘जब विकेटमा सेट भइसकेपछि सबै खेलाडीको जिम्मेवारी नतिजा आफ्नो बनाउनु हुन्छ,’ पन्तले भने,‘मेरा लागि पनि आज विशेष रह्यो। बिग हिट प्रहार गर्ने प्रयास गरिनँ। बलिको गतिलाई ध्यान दिएर खेल्दा क्रिजमा टिकिरहन मद्दत पुग्यो।’ त्यसअघि दिल्लीका बलरले पनि हैदराबादका केन विलियम्सनलगायत ब्याट्सम्यानलाई रोक्न सफल भए।

दिल्लीका बलरले लयमा बलिङ गर्दा हैदराबादले निकै आक्रामक सुरुआतका बावजुद ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो। ईशान्त शर्माले २ विकेट लिँदा विलियम्सनलाई २८ रनमा आउट गरे। मार्टिन गुप्टिलले ३६ रन र मनीष पाण्डेले ३० रन बनाएका थिए। अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न नसक्दा हैदराबादले मध्यम स्कोर बनाएको थियो। 

प्रकाशित: २७ वैशाख २०७६ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App