७ वैशाख २०८१ शुक्रबार
समाज

भरतपुरमा अनलाइनबाटै खानेपानी महसुल

भरतपुर खानेपानी व्यवस्थापन बोर्डद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलन। तस्विर : सविता/नागरिक

चितवन - भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पानीको महसुल बुझाउने व्यवस्था गरेको छ। यही वैशाख १५ गतेदेखि नै ई–सेवामार्फत महसुल तिर्न सकिने सुविधा सुरु गरिएको बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएका हुन्।

भरतपुरमा २०३३ सालदेखि खानेपानी वितरण गर्न थालिएको थियो भने बोर्डको स्थापना २०६४ सालमा मात्र भएको थियो। बोर्डले अहिले महानगरपालिकामा २७ हजार धारा वितरण गरिसकेको कार्यकारी निर्देशक दाहालले बताए। बोर्डमार्फत महानगरपालिकावासीमध्ये करीब एक लाख ५२ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध गराइएको छ। भरतपुर महानगरपालिका–१ देखि १६ सम्मका उपभोक्तालाई खानेपानी वितरण गरिँदै आए पनि वडा नम्बर ६, १४, १५ र १६ का सबैै घरधुरीलाई खानेपानी सुविधा नपुगेको स्थानीयको गुनासो छ।

बोर्डबाहेक महानगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरूमार्फत आयोजना निर्माण गरी उपभोक्ता समितिलाई हस्तान्तरित आयोजनाहरूले पनि खानेपानी वितरण गर्दै आएका छन्। अरू आयोजनाले उपलब्ध गराएको खानेपानी महानगरपालिकाको करीब २५ प्रतिशत अर्थात् ८८ हजार घरधुरीले उपयोग गर्दै आएका छन्। बाँकी घरधुरीले भने ट्युबवेल, इनार, मुहानलगायत स्रोतबाट प्रयोग गर्ने गरेका छन्।

बोर्डमार्फत महानगरवासीमध्ये करीब एक लाख ५२ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध गराइएको छ।

‘खानेपानी सुविधा पुगेकाबाहेक बाँकी अधिकांशले इनार, ट्युबवेलकै पानी प्रयोग गर्ने गरेका छन्,’ उनले भने, ‘महानगरपालिकामा पानीको धेरै अभाव भनेको पहाडी क्षेत्र वडा नम्बर २९ को कविलाश क्षेत्रमा रहेको छ।’ कविलाशमा मात्रै पनि थोरै घरधुरी समेट्ने स–साना २० वटा योजनाबाट खानेपानी वितरण गरिएको छ। बोर्डले अहिले वडा नम्बर २२ मा खानेपानी वितरण सुविधा विस्तार गर्ने तयारी गरेको छ। बोर्डमा हरेक वर्ष करीब तीन हजारको संख्यामा उपभोक्ता थपिने गरेका छन्। बोर्डले दैनिक दुई करोड पाँच लाख लिटर पानी वितरण गर्दै आइरहेको कार्यकारी निर्देशक दाहाल बताउँछन्। मासिक ७० लाखदेखि ८० लाख रुपैयाँ पानी बिक्रीबापत महसुल उठ्ने गरेको छ।
बोर्डले आठ सय १२ किलोमिटरमा पाइप बिच्छ्याएर खानेपानी वितरण गर्दै आएको छ। पानीको माग बढेकाले पानी उत्पादन वृद्धि गर्न बोरिङ गर्ने उपयुक्त जग्गाको खोजी भइरहेको दाहालले जानकारी दिए। गतवर्ष बोर्डले तीनवटा बोरिङ थप गरेको थियो। जसमा दुईवटा सञ्चालन हुने क्रममा छन्। एउटा निर्माणाधीन रहेको छ।

ई–सेवाका प्रतिनिधि आशिष प्रसाईंले भरतपुर खानेपानी बोर्डको सिस्टम, मिटर र पेमेन्टलाई प्रविधिमैत्री बनाइएको जानकारी दिए। उपभोक्ताले सहज रूपमा पैसा तिर्नसक्ने सुविधा उपलब्ध भएको र बोर्डको काम पनि व्यवस्थित हुने उनले बताए। मिटर रिडिङ गर्दा एप्लिकेसनबाटै अपडेट हुने भएकाले पहिले जस्तो घरघरमा पुगेपछि कागजमा लेख्ने र कार्यालयमा पुगेर कम्प्युटरमा इन्ट्री गरिराख्नुपर्ने दोहोरो काम नहुने उनी बताउँछन्। मिटर रिडिङ गर्ने बेलामै एप्लिकेसनमा राखिएको जानकारी इन्टरनेटको पहुँचमा पुग्नासाथ सिस्टममा अपडेट हुने उनले बताए। ई–सेवामा अहिले देशभरका ५० खानेपानी संस्थाको महसुल अनलाइनमार्फत तिर्न सकिने सुविधा रहेको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App