८ वैशाख २०८१ शनिबार
समाज

कुवेतको अस्पतालमा छट्पटाउँदै गंगाबहादुर

सडक दुर्घटनामा होस गुमेपछि कुवेतको जहारा अस्पतालमा उपचार गराइरहेका गंगाबहादुर गुर्मछाने मगर।

खोटाङ – सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङ बराहपोखरी गाउँपालिका–२ सुन्तलेका गंगाबहादुर गुर्मछाने मगर सात महिनादेखि कुवेतको जहारा अस्पतालको शड्ढयामा छटपटाइरहेका छन्।

रोजगारीका सिलसिलामा कुवेत पुगेको तीन महिना नबित्दै गुर्मछाने मगर सडक दुर्घटनामा परेका थिए। २०७५ असार ३ गते कुवेत पुगेका मगर गत भदौ ३१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएको कुवेतमा रहेका आफन्त केदार आले मगरले बताए। होस गुमेको र उठबस गर्न नसक्ने अवस्था भएपछि मगरको दिसापिसाब ओछ्यानमै हुने गरेको छ। दुर्घटनाको गहिरो असर मष्तिष्कमा परेकाले दिमाग सामान्य अवस्थामा आउन समय लाग्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाइ उद्धृत गर्दै आलेले बताए। होस गुमेका कारण घाइतेले हालसम्म आफन्तलाई समेत चिन्न सकेका छैनन्। उनी आफू कहाँ छुु भन्ने पनि थाहा नपाउने अवस्थामा छन्। उनले घरीघरी बेहोसीमा मनपरी बोल्ने गरेका छन्।

‘स्वास्थ्यमा केही सुधार आएको छ तर दिमाग ठीकमा छैन, के–के बोल्छन्, बोल्छन्,’ आलेले भने, ‘डाक्टर र नर्सले दिमागमा असर परेकाले सुधार हुन निकै समय लाग्ने बताएका छन्।’

उपचार खर्च जुटाउन अभियान
आर्थिक अवस्था नाजुक भएका गंगाबहादुर गुर्मछाने मगरलाई स्वदेश फर्काएर थप उपचार गर्ने व्यवस्थाका लागि कुवेत, मलेसिया, कतार, दुबई, साउदी अरबलगायत देशमा सहयोग रकम संकलन अभियान चलाइएको छ। नेपाली दूतावास र कम्पनीको पहलमा उनलाई नेपाल फिर्ता ल्याउने तयारी भइरहे पनि थप उपचारमा आर्थिक समस्या हुने भएकाले विभिन्न देशमा ‘गंगाबहादुर गुर्मछाने मगर उपचार सहयोग संकलन अभियान’ थालिएको हो।

घाइते मगरलाई नेपाल फर्काइए पनि उनले कानुनी रूपमा पाउनुपर्ने रकम प्राप्त हुन समय लाग्ने भएकाले उपचारलाई निरन्तरता दिन सहयोगको याचना गरिएको आफन्त आलेले बताए। ‘गंगाबहादुरलाई नेपाल फर्काउन कागजी प्रक्रिया अघि बढाइसकिएको दूतावासले जानकारी दिएको छ,’ मगरले भने, ‘नेपाल फर्काएर मात्र भएन, उपचारलाई निरन्तरता दिनुपर्‍यो। घरको आर्थिक अवस्था नाजुक भएकाले सहयोगका लागि देशविदेशमा रहेका नेपालीलाई आग्रह गरेका छौं।’

मगरको उपचारका लागि उनकी पत्नी दिलकुमारी मगरको नाममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गाईघाट शाखामा खोलिएको खाता २०९००९३७६१० सहयोग रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ। यस्तै कुवेतमा केदार आले मगर, दिपेन दाहाल, जगत् मगर र अर्जुन मगर, कतारमा चुडामणि दाहाल र राम मगर, मलेसियामा चन्द्र गुर्मछान मगर र पुकल श्रेष्ठ, दुबईमा राजेन डिसी, चन्द्र बुर्जा मगर र बम मगर तथा साउदी अरबमा कविराज मगर, नवीन खपांगी र मनोज खपांगीमार्फत सहयोग संकलन गर्ने व्यवस्था गरिएको उनले बताए।

प्रकाशित: २७ वैशाख २०७६ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App