coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चीनमा नेपाल पर्यटन प्रवर्द्धन

बेइजिङ - नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चीनमा नेपाली पर्यटन प्रवद्र्धन सुरु गरिएको छ। नेपाल पर्यटन बोर्ड र चीनका लागि नेपाली दूतावासले संयुक्त रुपमा चीनका विभिन्न सहरमा नेपाली पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेका छन्। नेपाल पर्यटन बोर्ड र चीनका लागि नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमको स्थानीय प्रवद्र्धन कार्य मकाउ पर्यटन पत्रिका लक्स टुरिजमले गर्ने भएको छ।

नेपाली पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत सोमबार चीनको सान्तोङ प्रान्तको चिनान सहरमा एक कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रममा नेपालका मुख्य पर्यकीय स्थलको चिनियाँ भाषामा जानकारी समेटिएको श्रव्यदृश्य सामग्री प्रदर्शन गर्नुका साथै स्थानीय पर्यटन व्यवसायीलाई नेपालमा चिनियाँ पर्यटक पठाउन आग्रह गरिएको छ।

त्यसैगरी बुधबार चीनको च्याङ्सु प्रान्तको नानचिङमा र आगामी शुक्रबार चीनको दक्षिण–पूर्वमा पर्ने चच्याङ प्रान्तको हाङ्चौमा यस्तै किसिमको कार्यक्रम आयोजना हुँदैछ। यसबाहेक बेइजिङस्थित नेपाली दूतावासले आगामी बिहीबार साँझ बेइजिङमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेर नेपाली पर्यटन प्रवद्र्धन गर्दैछ। चीन विश्वशान्ति फाउन्डेसनसँग मिलेर दूतावासले नेपाली सांस्कृतिक कार्यक्रमसहितको पर्यटन प्रवद्र्धन गरिने चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले बताए।

सो कार्यक्रमको प्रायोजक विदेशीमैत्री संस्थाहरुको बेइजिन जनसंघ, अन्तर्राष्ट्रिय आदानप्रदानका लागि बेइजिङ गैरसरकारी संस्था संजाल, बेइजिङ अन्तर्राष्ट्रिय शान्ति संस्कृति फाउन्डेसनलगायत संस्था रहेका छन्। सो कार्यक्रममा बेइजिङ र आसपासका विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले नेपालका विभिन्न संस्कृति झल्किने नृत्यहरु प्रस्तुत गर्नेछन् भने नेपाली खाना महोत्वस पनि गरिने राजदूत पौड्यालले बताए।

विश्व पर्यटन बजारमा चीन महत्वपूर्ण स्रोत मानिन्छ। चीनबाट विदेश भ्रमण गर्ने पर्यटकले ठूलो मात्रामा खर्च गर्दछन्। विश्वमै चिनियाँ सबैभन्दा खर्चिला पर्यटकका रुपमा चिनिन्छन्। नेपाल भ्रमण वर्षलाई सफल बनाउन चिनियाँ पर्यटककै महत्वपूर्ण भूमिका रहने बताइन्छ। चीनको स्वायत्त प्रदेश तिब्बतमा हरेक वर्ष तीन करोड चिनियाँ भ्रमण गर्न जाने गर्छन्। तिब्बतको ल्हासाबाट काठमाडौं उडान समय एक घण्टा मात्र रहेको छ। तिब्बत पुगेका चिनियाँ पर्यटकमध्ये १० प्रतिशत मात्र नेपाल भिœयाउँदा पनि वार्षिक ३० लाख चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्ने सम्भावना रहन्छ।

चीनले नेपाललाई सन् २००२ देखि मात्र औपचारिक रुपमा गन्तव्य सूचिमा समावेश गरेको हो। त्यसभन्दा अगाडिदेखि नै चिनियाँले नेपाल भ्रमण गर्ने गर्थे। चीन सरकारले गन्तव्य सूचिमा राखेपछि हरेक वर्ष नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या उल्लेख्य वृद्धि हुँदै आएको छ। चिनियाँ सञ्चार माध्यमका अनुसार सन् २००० मा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या पाँच हजार एक सय ६० थियो। यो संख्या वृद्धि हुँदै गएर सन् २०१८ मा एक लाख ५३ हजार ६ सय दुई पुगेको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App