८ वैशाख २०८१ शनिबार
राजनीति

टीकापुर घटनाका अभियुक्तको मुद्धा फिर्ता लिन माग

धनगढी– कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको हिंसात्मक घटनाका अभियुक्तका आफन्तले कतिपय निर्दोषलाई झुठा मुद्धा लगाइएको भन्दै मुद्धा फिर्ता लिन माग गरेका छन् । उनीहरुले मुद्धा फिर्ता दिन दवाव दिन संघर्ष गर्नेसमेत बताएका छन्।

धनगढीमा आईतबार पत्रकार सम्मेलन गरेर मुद्धा फिर्ता लिन माग गरेका छन्। उनीहरुले  सरकारलाई दवाव दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको उनीहरुले जनाएका छन्। थापापुर गाविस–६, नवलपुरकी गोकर्णी चौधरीले आन्दोलमा नगएका आफ्ना श्रीमानलाई प्रहरीले पक्राउ गरेर मुद्वा चलाएको बताइन्।

‘श्रीमान आन्दोलनमै जानु भएको थिएन । घटना भएको एक हप्तापछि राति १२ बजे आएर प्रहरीले पक्राउ गरेर लग्यो,’ उनले भनिन्, ‘आन्दोलनमै सहभागि नभएका व्यक्तिलाई मुद्धा चलाइएको छ ।’ घरमा कमाउने व्यक्ति थुनामा पर्दा बिचल्ली भएको उनले बताइन्।

‘निर्दोष आफन्तलाई मुद्धा चलाएर दुःख दिएको छ, ’ उनले भनिन्, ‘पुर्पक्षका लागि थुनामा राखिएकालाई रिहा गरिनुपर्छ।’
गत भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा ८ जना प्रहरी र एक नाबालक मारिएका थिए। विभत्स रुपमा हत्या गरिएको उक्त घटनामा सरकारले ५६ जना विरुद्ध मुद्धा चलाएको छ। अभियुक्तमध्ये ३६ जना फरारको सूचिमा छन् भने अन्य पुरपक्षका लागि कारागारमा छन्। घटनाको निश्पक्ष छानविन गरी निर्दोषलाई तत्काल रिहा गर्नुपर्ने आफन्तको माग छ। केहीका आफन्तले भने टीकापुर घटना राजनीतिक घटना भएकाले मुद्धा फिर्ता लिनुपर्ने माग गरे। भदौ ८ गते थारु समुदायका घर जलाउने, तोडफोड गर्नेजस्ताका घटना भए पनि सरकारले भदौ ७ गतेको घटनालाई मात्र हेरेको जोशीपुर–४, की प्रेमादेवी चौधरीले बताइन्। भदौ ७ गतेको घटनामा मुद्वा चलाउने तर ८ गतेको घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याएर सरकारले विभेद गरेको उनले बताइन्। मुनुवा गाविस–१, कञ्चनपुरकी सरस्वती चँैधरीले कमाई गर्ने घरमुली कारागार चलान भएपछि परिवारको विचल्ली भएको दुखेसो गरिन्। ‘छोरा र म मात्रै छौं खान जग्गा छैन, अन्य आम्दानीको श्रोत पनि छैन,’ उनले भनिन्, ‘श्रीमानलाई पक्राउ गरेपछि गुजारा चलाउन समस्या भएको छ।’

हाल पुरपक्षका लागि जिल्ला कारागारमा रहेका उनका श्रीमान रामकुमार कठरिया मिस्त्रीको काम गर्थे। मुद्धा फिर्ता लिन दवाव दिन कात्तिक २० गते धनगढीमा र्याली र कात्तिक २३ गतेदेखी जिल्ला प्रशासनमा धर्ना दिने उनीहरुले बताएका छन्।
 

प्रकाशित: ७ कार्तिक २०७३ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App