एक्लै सगरमाथा बेस क्याम्प पुग्दा

बिहिबार, २६ बैशाख २०७६, १५ : ४४ नागरिक

पूजा रिजाल

‘एक्लै घुम्न पाएँ’ सानैदेखि मलाई यस्तै लागिरहन्थ्यो। एक्लै हिँड्दाको अनुभव सँगाल्न मन थियो तर जुरिरहेको थिएन। ग्रुपमै पहिले नै अन्नपूर्ण बेस क्याम्प पुगिसकेकी थिएँ। एक्लै हिँड्ने भूतले भने मलाई छाडेको थिएन। मलाई जसैगरी जानुथियो। मौका पनि जु-यो अनि लागेँ कुम्लोकाम्लो कँस्न। १३ किलोको झोला तयार भयो।

नेपाली ट्राभलरमा छनोट भएपछि भने मेरो एक्लै हिँड्ने चाहना पूरा भयो। मनमनै सोचेँ सगरमाथा बेस क्याम्प पुगेको दिन कस्तो होला? कताकता डर पनि लाग्यो हल्का नरमाइलो फिल पनि भयो। एक्लै हिँड्नुथियो। कति दिन लाग्छ के लाग्छ भन्ने कुराको अत्तोपत्तो भने थिएन। तर म मा आत्मविश्वास भने टन्नै थियो। मान्छेहरुको कुरा सुन्न अति उत्साहित हुने मेरो बानीले यात्रामा सहयोगी हुन्छ कि भन्ने पनि लागिरहेको थियो।

९ दिनमा जिरी
नोभेम्बर १९, २०१८ मा बिहान ५ बजे जुरुक्क उठेँ। रातभरि यात्रा कसरी गर्ने भनेर झस्किरहेकी थिएँ। बेलुकी नै मिलाएको झोलालाई पुलुक्क हेरेँ। राति जसरी राखेकी थिएँ त्यसरी नै थियो। लाग्यो झोलाले कतिबेला मलाई बोक्छे भनेर कुरेर बसेको छ। छिट्टै तयार भएँ। बे्रेकफास्ट गरेर घरमा बिदा मागेँ। मन गह्रौँ भयो। सायद सबैलाई हुन्छ केही दिनलाई भए पनि छुट्टिँदा मन भारी। घरबाट छेलिँदै गर्दा मेरो मन हलुगोँ भइसकेको थियो। सायद केही बेर अघि हल्का निचोरीएको मेरो मन यात्राको पल सम्झेर खुसी भएको थियो। त्यो दिन मौसम खुला थियो। पेप्सीकोलाबाटै हिँडेर बेस क्याम्प जाने योजना दुबईमा रहेका बुबाआमालाई भनेकी थिइनँ।

१३ किलोको झोला, एक्लै यात्रा गर्दाको रमाइलो वातावरण त्यसैमा घुलिँदै मिसिँदै हिँडिरहेकी थिएँ। जिरीसम्म गाडीमा जाने योजना पनि नबनेको हैन। तर मलाई लामो यात्रा गर्नु थियो। त्यही भएर त अलि छोटो दूरी रहेको लुक्लाको बाटो छाडेर जिरीको बाटो रोजेकी थिएँ। पहिलो दिननै बाटोमा हिँड्दै गर्दा कोहीकोहीले त फरेनर सम्झिएँ। कसैले बहिनी कता जान लाको हो गाडी लाग्छ नि भनेर सल्लाह नदिएका हैनन्। तर मलाई यो सल्लाहले छोएन म  हिँडिरहेँ।

त्यो दिन म धुलीखेल पुगेर बास बस्ने योजना बनाएकी थिएँ। त्यही मुताविक म धुलीखेल लजमा गएर बसेँ। नेपाली ट्राभलरले कहाँ गएर बस्यो भनेर इन्फर्म पठाउनु भनेको थियो। इनर्फम गरेँ। फ्रेस हुन भनेर बाहिर बरण्डामा बसिरहेकी थिएँ। भित्र कोठामा फोन बज्यो। कसको होला फोन? मनमा कौतुहलता लाग्यो। दौडिँदै रुम गएँ फोन ल्याएँ। मामुको कल आएको रहेछ। मामुले सुरुमा नै सोध्नुभयो, ‘जिरी पुगिस्?’ म झसङ्ग भएँ। ‘ला मैले त दुबईमा रहेका बाबा मामुलाई जिरीसम्म पनि हिँडेर जाने हो भनेर भनेकै थिइनँ। मलाई डर थियो के को हिँडेर जाने?’ भन्नुहुन्छ कि भन्ने। हल्का धकाएर भनेँ मामु म त जिरीसम्म नै हिँडेर जान लाएको। हँ हो र? मामुले प्रतिप्रश्न गर्नुभयो। अघिसम्म हल्का धकाएकी म पूरा आत्मविश्वासका साथ हो भनेँ। भन्न त भनेँ तर यो रोडको बाटो हिँड्न यति गाह्रो हुन्छ भन्ने मलाई थाहा थिएन। घुँडा यति दुखेको थियो कि फर्किनुपर्छ कि क्या हो?भन्ने पनि नलागेको हैन।

भोलिपल्ट उठ्दा त जिउ चंङ्गा महसुस गरेँ। हिजो बेलुकी धरमराएको मेरो आत्मविश्वासले सगरमाथाको चुली छोयो। फेरि बोकेँ झोला अनि सुरु भयो दोस्रो दिनको यात्रा।

दोस्रो दिन हिँडिरहेकी थिएँ। बास बस्ने बेला भयो। खोज्न थालेँ लज। खोज्दै थिएँ। एकजना बहिनी नजिकै आइन्। उनले मेरो सोध खबर गरिन्। यो बिरानो ठाउँमा मेरो खोजीनीति गर्ने को होला? उनले आफूहरुको घरमा बस्न आग्रह गरिन्। उनी र आमा बस्ने रहेछन्। मलाई त ठूलै आदर सत्कार पो गरे।

दही मही घ्यू वाह! कम्ती त रमाइलो भएन। मज्जाले खाएँ। भोलिपल्ट निस्कने बेलामा उहाँहरुको फोटो खिचेर दिएँ। बहुत खुसी हुनु भयो। ३३ दिनको यात्रामा म ६ दिन परिवारको घरमा बसेँ।

भोलिपल्ट घरि जंगलको बाटो घरि हाइ वेको बाटो हिड्दै थिएँ। दोलालघाटबाट सुकुटे पुग्दा जंगलको बाटो प्रयोग गरेँ। ला म हराएँछु। सम्झिए जगंलमा बाटो हराउँछ। बाटो हरायो। कस्लाई सोध्ने? हिडिरहेँ बलबल्ल बाटो भेटेँ। ट्रेकिङ पोलको पो प्रयोग गर्नुप-यो। खुट्टा यति दुख्यो की साँधी भएन। यसरी नै ९ दिनको दिन जिरी पुगेँ। असाध्यै खुसी थिएँ कारण अब हाइवे हैन पुरै ट्रेकिङको बाटो हिँड्न पाइन्थ्यो।

बिहान ८ बजे हिड्थेँ। ४/५ घण्टा लगातार हिँडेपछि बास बस्ने थलो खोज्थेँ। बाटोमा हिँड्दा पानी खाँदै चराचुरुङ्गी कराएको आवाज सुन्दा बडो रमाइलो लाग्थ्यो  तर कहिलेकाहीँ त एकतमासको घरि घरि के भुत चल्यो होला भनेर आफैँदेखि अचम्म पनि लाग्थ्यो।

देउरालीबाट सेते पुग्नुपर्ने हिँडिरहेको थिएँ। पछाडिबाट आवाज आयो। बहिनी? सुरुमा त मलाई हैन होला भन्ने सोचेँ। मलाई नै हो रहेछ? मैले उहाँको मुखमा पुलुक्क हेरेँ। उहाँको घरमा बोलाउनुभयो। बहिनी पिँडालु खानुस्। ला प-यो फसाद। मलाई जिन्दगीमा मन नपर्ने पिँडालु। खाएँ जबरजस्ती। वाह त्यसपछि त उहाँका छोरीहरुले नाचेर पो देखाए  खुबै रमाएँ म त्यहाँ। यसो घडी हेरेँ ४ बजिसके छ। अझै हिँड्नुथियो २ घण्टा अनि कुँदेँ।

मनसँग मन बोलेपछि
सेतेबाट जुनुबेशीँ गएँ। म त छक्कै परेँ। नेपालमा यस्तो ठाउँ पनि छ वाह। त्यहाँ साना ठूला नयाँ पुराना गरेर ८ वटा गुम्बा पनि रहेछन्। त्यो ठाउँमा मैले ३ दिन बिताइदिएँ। आखिर यात्रामा रमाइलो न गर्नुथियो। सोचेँ यो ठाउँको उति साह्रो प्रचार भा छैन र नि क्या विधि राम्रो। अर्काे अझ रोचक कुरा। जुन जस्तो भएर पो त्यो ठाउँको नाउँ नै जुनुबेशी भएको रहेछ। माथिको गुम्बामा ठूलो संख्यामा आनीहरुसहित धेरै जना बस्नुहुँदोरहेछ।

मलाई अंग्रेजी र नेपालीबाहेक अरु भाषा नआउने उहाँहरुलाई तिब्बतिएन बाहेक अरु नआउने। तर भाषाले कहाँ फरक अप्ठ्यारो पा-यो र? आँखा आँखा मन मन बोलेपछि। उहाँहरुको आत्मीयता व्यवहारले मलाई खुबै रत्यायो। सायद गौतम बुद्धको सबैलाई समभाव गर भन्ने भावबाट उहाँहरु प्रेरित हुनुहुन्थ्यो कि।

म नाम्चे पुगेँ। नाम्चे त पुगेँ। कता कता मिनी काठमाडौँ पो हो कि भनेर पनि झुक्किए। होटल बार रेष्टुरेन्ट खाना त्यस्तै मान्छे त्यस्तै कमर्सियल ओहो।

भगवान् हिउँ पारिदेऊ
त्यति धेरै दिन हिँडेँ हिउँ पर्दैन त। मलाई त कता कता रिस पनि उठ्यो। किन हिउँ नपरेको होला र ए भगवान् हिउँ पनि पर्दैन। मर्छेमुबाट गोकियो लेकमा गएँ। त्यहाँबाट पूरै भ्यु देख्छ। जोङला पुगेको थिएँ। साह्रै थकाइ लाग्यो। लोबुचेमा पुगेँ हिउँ परे हुन्थ्यो। बिहान ३ बजेतिर ब्युँझिएँ। यसो झ्याल खोलेर हेर्छु त पूरै हिउँ परेको म त जुरुक्कै उफ्रिएँ। चौँरीको सिङ मात्रै देखिएको। घुँडाघुँडासम्मको हिउँ परेको। मज्जा लाग्यो।

मलाई मज्जा त लाग्यो तर धेरैको सल्लाह आयो अब यहाँभन्दा माथि नजाँदा राम्रो फर्किनु। जम्मा ३ घण्टाको बाटो के फर्किनु? मेरो मनले मानेन। आज यहीँ बस्छु।

३ बजे हिउँ पर्न बन्द भो। अनि हिँड्न थालेँ म। हिँड्नै आँटेकी थिएँ। तेन्जिगङ दाइले बहिनी ग्लेसियरमा क्याम्पोज खोइ? के हो त्यो भन्या उहाँ मज्जाले हाँस्नुभयो। लौ यो जुत्ता लगाएर जानु। उहाँप्रति म आभारी भएँ। त्यो जुत्ता नभई त हिउँमा हिँड्न नसिकिने पो रहेछ।

सबैलाई बिर्सँदा
बाटो सुनसान। आफैँ हिँडेको आवाज बाहेक केही नसुनिने। सबैभन्दा गाह्रो भनेको चोलापास भन्ने हुँदो रहेछ। त्यो ठाडो उकालो। ब्लु आइस हुने। दायाँबायाँ खुट्टा चिप्ल्यो भने सिधै चैट् भइने। तर अहँ डर लागेन। बिस्तारै होसियारीपूर्वक हिडेँ। थ्याकं गड ५ बजे बेस क्याम्प पुगेँ। १० मिनेट बिताएँ। एक छिन त कसैलाई सम्झिनँ। पूरै शून्य भएँ। मेरो डेस्टिनेसन। त्यो आँटले मलाई सगरमाथामा पनि चड्छु कि भन्ने लाग्यो। केही बेर फोटो खिचेर तल झरेँ। क्यानेडियन जोडी आइरहेको देखेँ। त्यो अनकन्टार ठाउँमा मान्छे देख्नु पनि रमाइलो हुने रहेछ। मलाई यहाँसम्म ल्याउने बाटोमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएँ।

धन्न बाँचियो
नाम्चे त म ३ दिनमा पो आइपुगेँ। १५ दिन पछि नुहाउनु पनि बडो गज्जब अनुभव भयो। घर आउने हतारले लुक्लाबाट प्लेनमा आएँ। एक ठाउँमा असाध्यै हल्लाउने रहेछ। पूरै झोलुँगोमा जस्तो। काठमाडौँ उत्रिएपछि त हाइफाइ पो गर्ने रहेछन् पाइलटले बाँचियो भनेर।

नबिर्सिने तीन पात्र
मुडे जाँदै थिएँ। सर्टकट बाटोका लागि गाउँको बाटो गएँ। भोक लाग्यो। पसल खोजेँ भेटिनँ। बाटोमा रुखभरि फलेको अम्बाको बोट देखेँ। हेरेर बसिरहेँ। त्यहाँ बाख्रा चराइरहेका एकजना बाजे थिए। उनी एक्कासि रुख चढेँ। अम्बा झारे। प्लास्टिकमा भरेर मलाई दिएँ। एक शब्द बोलेनन् म त छक्क परेँ। मैले उहाँको फोटो खिचेर दिएँ। फोटो पाउने बित्तिकै उहाँ खुसी हुनुभयो। उहाँको आवाज नआउने रहेछ। पेटभरि अम्बा खाएर म पनि बाटो लागेँ। मनमनै धन्यवाद दिएर।

अनि अर्काे बेलायतका दुईजना टुरिष्टका एकजना गाइड दाइले डोले बाठ हिँड्दै गर्दा बहिनीसँगै जाउँ भन्नुभयो। कुराकानी पनि गर्दै हिँडिरहेका थियाैं। पछि त ती बेलायतीहरु मसँग तैले हायर गरेको हो उसलाई भनेर पो जंगिए। त्यही आधा घण्टापछि म उनीहरुसँग हिँडें। अनि कम्पेयर गरेँ हाम्रो संस्कार र उनीहरुको संस्कारको। आफूले हायर गरेको भन्दैमा उनीहरुसँगबाहेक अरूसँग बोल्नै नहुनी कस्तो संस्कार रहेछ।

अनि अर्काे रमाइलो कुरा आलडाँडामा एकजना अंकलजस्तो मान्छेले कहाँ जान लागेको भनेर सोध्नुभयो । मैले बेस क्याम्प भने। उहाँले तलदेखि माथिसम्म हेर्दै कति वर्षकी भयौ भन्नुभयो। मैले २३ भनेँ। उहाँले त लौ मेरा छोरा इन्जिनियर पढ्दैछन् उसैसँग विवाह गर्नु अनि सँगै जानु पो भन्नुभयो। मैले हासेँर टारिदिएँ।

यात्रा गर्दा भुल्न नहुने कुरा
केटी मान्छे भएर एक्लै हिँडेको?
कस्ता होलान् बाबुआमा पनि?
घरमा को–को छन्?
के कारणले हिँडेको होला?
यस्ता प्रश्न मेरा लागि सामान्य भए ।यस्ता प्रश्न केटी मान्छेलाई अलि ज्यादा गरिनेरहेछ। यात्रा गर्दा पहिलो कुरा कहाँ जादैँ छु, के गर्दै छु, कहाँ बस्ने भन्ने कुराको एकदमैै ध्यान दिनुपर्छ। खानाको पनि उस्तै ध्यान दिनुपर्छ।

खासमा त्यहाँ जाँदा म ४० हजार पुगेँ। खर्चको कुरा त आफूमा भर पर्ने भयो। सबैसँग घुलमिल हुने, आत्मविश्वास दरो बनाउने।

मिस नेपाल ट्राभलर २०१९ की विजेता पूजा रिजालसँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित








यसमा तपाईको मत

अन्य समाचार

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले...

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

Ncell Footer Ad