coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अव्यवस्थित विजुली तारः जताततै दुर्घटनाको डर, स्थानीयमा त्रास

भक्तपुर– नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र दूधपाटीबाटै देखिन्छ, भक्तपुरको सल्लाघारीस्थित नेपालकै ठूलो उद्योगमध्येमा पर्ने यति कार्पेट इन्डष्ट्रिज। कार्यालयबाट पाँंच मिनेटको हिडाइमा पुगिने उद्योगमा गतवर्षको वैशाखको अन्तिम हप्तामा ठूलो आगलागी भयो।

भक्तपुर विद्युत कार्यालयको तार व्यवस्थापनको वेवास्ताका कारण विद्युत सर्ट भई कारखानामा रातभरि आगलागी भयो। भक्तपुर नगरपालिका वडा नं २ सल्लाघारीस्थित कारखानामा राति ११ बजदेखि लागेको आगो विहान सात बजेसम्म पनि नियन्त्रणमा ल्याउन सकिएको थिएन। काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुरका जुद्ध वारुण यन्त्र कार्यालयहरुका दर्जनौ दमकलहरु आगो निभाउन रातभर अनवरत प्रयासरत रहे तर आठ घण्टा बढी समय लाग्यो आगलागी नियन्त्रणमा लागि। नेपाल प्रहरी, नेपाली सेना, शशश्त्र प्रहरी, स्थानीयबासी, उद्धारकर्मीलगायतका सयौं मानिसले रातभरि प्रयास गरे आगो निभाउन तर राति सकेनन्। उद्योगपति अनिल केडियाद्धारा सञ्चालित उद्योगमा लागेको आगोका कारण करौडौं नोक्सानी भयो।

भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ हनुमानचास्थित गोर्खा इको प्यानलमा पनि यसरी नै राति आगलागी भयो यही वर्षको वैशाख २३ गते सोमबार राति। आगलागीका कारण कारखानाका ५० लाखभन्दा बढीका मेशिन तथा अन्य सामानहरु जलेर नष्ट भए।

यसरी नै भक्तपुरकै अति व्यस्त कमलविनायकको सडकमा आगलागी भयो सडकको तार जलेर। कमलविनायकदेखि देकोचासम्म पुग्ने सडकका तारहरु जलेर ठूलो आगलागी भयो। आगलागीबाट ठूलो धनजनको क्षति नभए पनि आसपासका हजारौं मान्छेहरु त्रास फैलियो।

यी त उदाहरण मात्रै हुन्, भक्तपुरमा हप्तैपिच्छे यस्ता सानाठूला आगलागीका घटना भइरहेकै छन्, अव्यवस्थित तारकै कारण। नगर, गल्ली सबैतिर विद्युतका अव्यवस्थित तारका कारण कहिले ठूलो दुर्घटना भइ पूरै टोल नै आगलागीबाट समाप्त हुने हो स्थानीय त्रासमा छन्। तर पनि भक्तपुर विद्युत कार्यालयको ध्यान अझैसम्म जान सकेको छैन। ‘यो एउटा टोलको मात्रै समस्या होइन, सबैतिरको समस्या हो, एकजना सहप्राध्यापक विश्वमोहन श्रेष्ठ भन्छन्, ‘आज हो कि भोलि आगलागी भई टोल नै समाप्त हुने त्रास सबैतिर भए पनि सरोकारवाला विद्युत कार्यालयको ध्यान जान नसक्नु विडम्वनापूर्ण छ।’ हप्तैपिच्छे सानाठूला आगलागी भएर करोडौंको धनमाल नष्ट भइरहे पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको भन्दै उनले आक्रोस पोखे। ‘धेरै निर्दाेष मानिस मरिसकेपछि मात्रै ध्यान जाने हो कि?’ उनले प्रश्न गरे।

अव्यवस्थित तारका कारण दुर्घटनाको डर बढेको मात्रै होइन, विशेष गरी सुन्दर भक्तपुर नगरलाई कुरुप बनाइदिएको छ। कलात्मक सुन्दर घरहरुलाई नै कुरुप बनाउने गरी सबैतिर माकुरोको जालो जस्तै रहेका तारहरुले आकर्षक घरलाई मात्रै होइन, सिंगो नगरलाई नै कुरुप बनाइदिएको छ। यही कारण भक्तपुर नगरभित्रका तारहरुलाई भूमिगत बनाउने योजना रहेको बताइएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सुन्दर नगरलाई कुरुप बनाउने काम विद्युतका तारहरुले गरेका कारण तारलाई भूमिगत बनाउने योजना रहेको सुनाउँंछन्। विद्युतका साथै टेलिफोन, इन्टरनेट, केवल टेलिभिजनलगायतका तारहरु पनि भूमिगत हुने उनले बताए।

लाखौं जनताको जीउज्यानसँंग प्रत्यक्ष सम्बन्ध राख्ने यस्तो संवदेनशील विषयमा ध्यान नदिने भक्तपुर विद्युतको कार्यशैलिप्रति स्थानीय जनता रुष्ट छन्। ‘एउटा कामका लागि निवदेन हाल्यो भने हप्तौपछि पनि आउँंदैनन्, उनीहरुको सामूहिक भनाई छ, आएर काम गराएपछि पनि फिल्डमा आउने कर्मचारीलाई पैसा नदिई कामै गराउन नसकिने।’

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र दूधपाटी भक्तपुरका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले सबैतिर तार अस्तव्यस्त भएको स्वीकार गरे। तर पनि जनशक्ति परिचालन गर्न नसकिने उनले बताए। ‘आवश्यक पर्यो भने मात्रै कर्मचारी पठाउने गर्छाै, उनले नागरिकसँग भने, ‘तार जल्यो, चुड्यो भनेमात्रै कर्मचारी जान सक्छन्, नभए जाँंदैनन्।’

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App