coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्यालको टोकाइबाट शिक्षकको मृत्यु भएपछि जिल्लाका सबै विद्यालय बन्द

गौर(रौतहट)– स्यालले टोकेर शिक्षकको मृत्यु भएपछि शोकमा आइतबार जिल्लाका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द भएका छन् । गत असोज १८ गते गरुडा नगरपालिका वार्ड नम्बर ३ का शिक्षक वसन्तकुमार यादव बिहानी भ्रमण(मर्निङ वाक)मा निस्केका वेला बहुला स्यालले टोकेको थियो। स्यालले टोकेपछि निरन्तर उपचारको क्रममा रहेका शिक्षक यादवको शनिबार निधन भएको हो।

शिक्षक यादवसहित दुई दर्जनभन्दा बढी बटुवा तथा स्थानीयलाई टोकेको स्याललाई केहीले सोही दिन मारेका थिए। स्यालले १७ जनालाई घाँटीभन्दा माथि टोकेको थियो। स्याल वा कुकुरले घाँटीभन्दा माथि टोकेकोलाई जटिल मान्ने गरिएको छ।
शिक्षक यादवसहित १७ जनाले टेकुस्थित सरुवा रोग नियन्त्रण गर्ने अस्पतालमा उपचार गराएका थिए। दाहिने आँखामा टोकेर घाइते शिक्षक यादवको आँखाको शल्यक्रिया समेत गरिएको थियो । दुई दिन पहिले अचानक पेटमा ग्याँस भएकोमा उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना हुँदा काठमाडौँ रेफर भएका थिए।

काठमाडौँको वीर अस्पतालमा अन्तिम अवस्थामा पुगेका शिक्षक यादवलाई रेबिज अन्तिम अवस्थामा पुगेको बताइएको थियो। शिक्षक यादवलाई अन्तिम अवस्थामा वीर अस्पतालले भर्ना गर्न अस्वीकार गरेपछि नर्भिक अस्पताल लगिएको आफन्तले बताएका छन्। नर्भिकमा शिक्षक यादवलाई मृत घोषित गरिएको थियो।

गत असोज १७ र १८ गते गरुडा, बसबिटी जिंगडिया, महम्मदपुर, झाँझपुल गरी करिब चार दर्जनलाई बहुला कुकुरले टोकेको थियो । अधिकांशको सामान्य उपचार गरिएको थियो। तर झाँझपुलस्थित माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहका अस्थायी शिक्षक यादवको स्यालकै टोकाइकै कारण मृत्यु भएपछि शिक्षक महासंघमा आबद्ध सम्पूर्ण शिक्षक संगठनहरुको आह्वान र समर्थनमा आइतबार जिल्लाका सम्पूर्ण विद्यालय बन्द छन्।

शिक्षक यादवको मृत्यु भएपछि स्यालले टोकेका सबैको घरमा सन्त्रास फैलिएको छ। एकै दिनमा महम्मदपुरका एक दर्जनभन्दा बढीले गौर, चन्द्रपुर तथा हेटौँडामा रेबिज विरुद्धको खोप लिएका छन्। स्यालको टोकाइबाट एक स्थानीय शिक्षकको ज्यान गएपछि राजधानीबाट सोमवार स्पेशल चिकित्सकहरुको टोलि रौतहट आइरहेको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताए।

गरुडा नगरपालिकामा कुकुरको आतंक रहेको भए पनि नियन्त्रणमा नगरपालिकाको ध्यान जान सकेको छैन। बजारमा तीन दर्जनभन्दा बढी छाडा कुकुरले बिहान र बेलुकी सर्वसाधारणलाई यात्रा गर्न असजिलो बनाइरहेको भए पनि नगरपालिकाको ध्यान जान नसक्नु दुर्भाग्यपूर्ण भएको रौतहट उद्योग वाणिज्य संघका महासचिव वृज किशोर यादवले गुनासो गरे।

प्रकाशित: ७ कार्तिक २०७३ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App