८ वैशाख २०८१ शनिबार
अन्य

जुत्ता

एकाबिहानै, बाबु र छोराबीच वाक–द्वन्द्वको बिजारोपण भयो। अनायासै, एक्कासि। यस्तो होला भन्ने अनुमान थिएन, रत्तिभर। आखिरमा भयो, भई छाड्यो।

गर्मीका पट्यारलाग्दा दिन आरम्भ भइसकेका छन्। गर्मी होस् वा जाडो मौसम, भोला दाइको निद्रा सखारै खुल्छ। घरभन्दा पर्तिरको दरिद्र बाँस झ्याङ, लप्सीको सिकुटे–सिकुटे रुख, बाटो छेउछाउका असुरो र भीमसेनपातीका बुट्यानहरुमा आरुढ पक्षीहरुले उज्यालो खस्ने–खस्ने बेला कलरव स्वर प्रसारित गर्न थालेपछि उनी निद्रासँगको सम्बन्ध टुटाउँछन्। त्यतिबेलै, टोलभरिका भद्रजनहरु मर्निङ वाकका लागि निस्कन्छन्। तर, उनी भने आँगननजिकैको चोक र बाटोलाई चम्काउन हातमा झाडु लिएर तम्तयार हुन्छन्। प्रायः उनको बिहानीको कार्यसूचीभित्र यही र यस्तै सन्दर्भहरु पर्दछन्।

‘प्रशान्त।’ प्राचीन स्तरको झाडु हातमा समात्ने बित्तिकै घरको छततिर मुन्टो बटारेर उनले बोलाए। स्वरमा रवाफिलोपन व्याप्त थियो।

‘सुतिरा’छ, प्रशान्त त।’ पत्नीले झ्यालबाट बाहिर टाउको निकाल्दै जवाफ दिइन्।

‘हेर, हेर, यति सद्दे जुत्ता।’ उनमा आवेशका मसिना तरंगहरु पलाए, एक्कासि। उनी दुर्वासाको लहरमा राखेर हेरिहाल्नु पर्ने मानिस त होइनन् तर रिसाए आज बिहानै। र, हरेक दिन फोहोर संकलन गर्ने प्लास्टिकको भाँडाबाट एकजोर जुत्ता निकाल्दै उनी बर्बराए, ‘यति राम्रो, लाउन मिल्ने जुत्ता फ्याँकेर के गर्न खोजेको हो, त्यल्ले? किनेको तीन महिना पनि भएको छैन, थोत्रो बनाएर फ्याँकिसक्यो। यस्तै गर्ने हो भने कसरी पु-याउन सकिन्छ?’

‘हिजै जुत्ता फाट्यो भन्दैथ्यो। मसित नयाँ जुत्ता किनिदिन कर गर्दैथ्यो। मैले बुबासित भन्न भनेकी थिएँ।’ पत्नी तल झरिसकेकी थिइन् र उद्धार गरिएको जुत्तातिर आँखा पु-याउँदै प्रतिक्रियास्वरुप भनिन्।

घर बाहिर पिता र माताजीबीच सघन संवाद चुलिएरै हुनुपर्छ, प्रशान्त ब्युँझिसकेका थिए र बरन्डामा बसेर बाउ र आमाबीच तन्किरहेको संवादलाई सौहार्द्रपूर्ण रुपले ग्रहण गरिरहेका थिए। तर, छोरालाई देख्ने बित्तिकै भोला दाइमा उम्रिरहेको रिस झनै झ्याँगिन थाल्यो र रिसाउँदै भने, ‘याँ, तल ओर्ली। यो जुत्ता किन फ्याँकिस्?’
‘थोत्रो भइसकेको जुत्ता नफ्याँकेर के गर्नु त?’ छोरा चाहिँले लाचारीपन देखाउँदै भने।

‘यल्लाई थोत्रो भन्छ? हँ, यस्तो जुत्तालाई थोत्रो भन्छ कहीँ?’ जुत्तालाई हातमा लिएर प्रदर्शन गर्दैै उनी झनै कड्किए, ‘के भएको छ यो जुत्तालाई? यही अलिकति उध्रिएको त रहेछ नि। यसलाई वनस्थली चोकमा लगेर सार्कीलाई सिलाउन दिए हुँदैनथ्यो? फ्याँकिहाल्नु पर्छ?’

‘थोत्रो जुत्तालाई सिलाएर के हुन्छ? त्यस्तो सिलाएको जुत्ता कसले लगाउँछ?’ प्रशान्तले अनुहार खुम्च्याउँदै भने।

‘अझ थोत्रो–थोत्रो भन्छस्, बज्या?’ भोला दाइ छोरालाई सघन रुपमै केरकार गर्न तम्सिए, ‘किनेको तीन महिना पनि भएको छैन, अलिकति उध्रिएको मात्रै हो, सिलाउँदा भइहाल्थ्यो। तँलाई तीन तीन महिनैपिच्छे जुत्ता किनेर साध्य चल्छ? हामीले एउटै जुत्ता वर्षौं लगाउँछौं। तँ मुला भने..।’

‘बरु किन्दिन भने भै हाल्यो नि। किन बिहान बिहानै मुड खराब गराउनु हुन्छ, भन्या।’ छोरा पनि रिसाए।

‘ए, तेरो मुड खराब भयो? यति राम्रो जुत्ता फ्याँकिएको देख्दा मेरो चाहिँ मुड राम्रो भयो होला, हैन? कहाँको असत्ती बज्या। कहाँको साहु। कुन जुनीमा हामीले यस्को रिन खाएका रहेछौं।’ भोला दाइ नमज्जाले रिसाए। उनमा रिसको ग्राफ बढ्दै गएको थियो। त्यति नरिसाउने मान्छे, आज भने बिहानै उनको रिसले नयाँ रेकर्ड नै कायम राख्यो।

‘अरुको कुरा बुझ्नु छैन, आफ्नै कुरा लाद्यो।’ छोरा पनि बड्बडाउँदै घरभित्र छिरे।

भोला दाइको हातमा झाडु यथावत नै थियो। आँगन सफा गरुँ कि नगरुँको द्विविधामा केही क्षण अल्झिए र जुत्तालाई टक्टकाएर एक छेउमा राखेर सफाइमा जुटे, निरन्तर।

००

घाम डुब्यो। घाम डुबेको एकाध घण्टापछि नै भोला दाइको घरमा खाना पाकिसक्छ। यो नित्य दैनिकीकै एक अंश हो। मीठो–मसिनो त त्यस्तै हो, तर गुन्द्रुकको झोलसँग खाना भने उनलाई असाध्यै रुच्छ। भान्सामा अरु तरकारी पाकेका बेलाभन्दा गुन्द्रुक पाकेको बेला उनलाई दुई चार गाँस बढी नै रुच्छ।

‘आज प्रशान्त खाना नै नखाई सुत्यो।’ पत्नीले थालमा खाना पस्किँदै भनिन्।

‘नखाओस्। एक छाक नखाएर कोही पनि मर्दैन। त्यल्ले हाम्लाई घुक्र्याको हो।’ खाना मुछ्दै उनले भने, ‘त्यत्रो लाठे भइसक्यो। अब त घरपरिवारको अप्ठेरो बुझ्नु पर्दैन? त्यस्को उमेरमा त मैले घरव्यवहार धान्न थालिसकेको थिएँ। एकचोटि सम्झा, खाना खान उठ्छ कि।’

‘प्रशान्त, खाना खान उठ।’ पतिको आदेश शिरोधार्य गर्दै पत्नीले छोरालाई बोलाइन्।

प्रशान्त बोलेन। केही चालचुल नै सुनिएन। केही समय सून्यता हाबी रह्यो। सून्यतालाई चिर्दै पत्नीले भनिन्, ‘तपाईं पनि छोरालाई असाध्यै गाली गर्नु हुन्छ, भन्या। अचेलका केटाकेटीलाई गाली गरेर ठीक ठाउँमा आउँछन् त? उनीहरुलाई सम्झाउनु पो पर्छ। सम्झिएन भने मात्र उनीहरुलाई कराउने हो।’

‘हैन, म पनि अचेल चकित हुन थालेको छु। त्यस्को खुट्टामा त जुत्ता टिक्दै, टिक्दैन। के भएको हो, त्यस्तो?’ शान्त मुद्रामा प्रस्तुत हुँदै उनले भने र घट्घटी पानी पिए।

मधुरो बत्ती बलिरहेको थियो, भान्साको सिंगो वृत्तभरि। बत्तीतिर संकेत गर्दै उनले भने, ‘कति मधुरो बलेको हो, यो बत्ती पनि। एक चोटि बत्ती मर्मत गर्नका लागि त्यो भुजेल भाइलाई बोलाएको थिएँ, आउँदै आएन। ट्युबलाइट फेरे त हुन्थ्यो कि?’

पत्नी मौन रहिन्। मौनतालाई चिर्दै भनिन्, ‘यो बत्तीभन्दा पनि पानीको चिन्ता पो लाग्न थालेको छ मलाई त। हिजोदेखि इनार सुक्यो। यत्रो वर्ष नसुकेको इनार ठ्याप्पै सुक्यो। अब कहाँबाट पानी ल्याउनु? आफ्नै इनार हुँदा कति सजिलो भएको थियो। अब तीन धारा नै पुग्नुपर्ने भो।’

‘किन नसुकोस् त इनार?’ भोला दाइले अन्तिम–अन्तिम गाँस च्याप्दै भने, ‘सबैतिर घरै घर बन्यो। पहिला पो एक–दुई घर थियो, इनारमा राम्ररी पानी आउँथ्यो। अहिले यो फाँटैभरि घर नै घर ठडिए। जताततै घर बनाएपछि इनार नसुकी के सुक्छ र? जमिनमुनि पानीको स्रोत पनि त हुनुप-यो नि।’

‘के विधि बनेको हो, यो फाँटमा घर पनि?’ पत्नीले पनि आश्चर्य मिसिएको स्वरमा भनिन्, ‘सप्पै मानिस यही ओइरिए। दुई चार वर्षअघि पनि केही थिएन। त्यो वनदेवीभन्दा पर्तिरको फाँटमा श्याल कुद्थ्यो। तर अहिले भने जताततै घर। के भन्ने?’

पत्नीको गनगन यथावत चलिरहेको थियो। भोला दाइ भने उठे र उठ्दा–उठ्दै भने, ‘एकचोटि त्यल्लाई बोला। बोलाएर खान्दे। सन्किनुको पनि हद हुन्छ नि। भोक हड्ताल नै गर्ने सुर छ कि क्या हो। खानै नखाने पनि कहीँ हुन्छ?’

भोला दाइले नजिकैको चोकतिर नियाले। चोक शान्त र सुनसानमा रुपान्तरित भइसकेको थियो। केही समयअघिसम्मको कोलाहलले बिट मारिसकेको थियो। परको बाँस झ्याङनिर भने पक्षीहरुको कल्याङमल्याङ सुनिन्थ्यो।

भोला दाइसँग एउटा साइकल छ। पूरै प्राचीन। उनले किनेको नै एक दशक नाघिसक्यो होला। तर, त्यो साइकलले उनको दैनिकीलाई भने सहज बनाएको छ, सघाएको छ उत्तिकै। बिजुलीको बिल तिर्न जान परे त्यही साइकल, तरकारी किन्न जानु परे त्यही साइकल, जागिरमा जानुप-यो भने त्यही साइकल। अर्थात् उनको घरबाहिरको गतिविधिलाई सघाउन त्यो साइकलले अथाह भूमिका निर्वाह गर्दै आएको छ।

अतः त्यो साइकल देख्दा उनी प्रफुल्ल हुन्छन्।

‘यति सद्दे जुत्ता।’ प्रशान्तले हिजो फ्याँकेको त्यही जुत्तालाई साइकलको पछाडिको भागमा कस्दै उनले भने, ‘सार्कीले सिलाइदिए पछि त काम चलिहाल्छ नि। चिटिक्क पारेर ल्याइदिएपछि त्यल्ले लगाउलान् नि।’

साइकलको पछिल्लो भागमा जुत्ता राखेर भोला दाइ वनस्थलि चोकतिर लागे। केही पर पुगेपछि उनी कराए, ‘ए, हे हे।’ जुत्ता एकाएक साइकलबाट चिप्लिएर भुइँमा पछारिन पुगेको थियो। उबडखाबड बाटोमा साइकल उफ्रिँदा साइकलबाट जुत्ता खुस्किन पुगेको थियो र भुइँको दर्शन गर्न पुगेको थियो। र, उनको मुखबाट यस्तो शब्द निस्किन पुगेको थियो। उनले जुत्तालाई राम्ररी साइकलमा कँसे र फेरि यात्रारत रहन थाले।

‘सोल फेर्नुपर्छ यस्को। सोल फेरेपछि एक–दुई वर्ष राम्ररी टिक्छ।’ साने सार्कीले भन्यो। उनी प्रायः सानेकहाँ नै जुत्ता, चप्पल मर्मत गर्न जान्छन्। चोकमा अरु पनि जुत्ता सिलाउनेहरु छन् तर उनको पुरानो चिनजानको मानिस भएको हुँदा सानेलाई नै पत्याउँछन्।

‘सोल फेर्दा एक–दुई वर्ष नै टिक्छ?’ उनले सोधे ।
‘हो, टिक्छ। अरु केही भएको छैन।’ सानेले भन्यो।

‘हेर, झन्नै फ्याँकेको। सिलाए त एक दुई वर्ष टिक्ने रै’छ नि।’ भोला दाइ भित्रभित्रै मुर्मुरिए।

जुत्ताले नयाँ अवतार पायो। अझ, पोलिस लगाएपछि त करिब–करिब नयाँजस्तै देखियो। टल्कियो पनि टलक्क। उनले कल्पिए, ‘त्यल्ले लगाए ठीकै छ। नलगाए म आफैं लगाउँछु। हेर, यति राम्रो जुत्ता।’ उनको मन उद्धार गरिएर टलक्क टल्किएको जुत्ता देखेर लोभियो।

घर फर्किदा छोरा कतै हिँडिसकेको थियो। उनकी पत्नी भने घर पछाडिको सानो बारीमा तरकारी गोड्दै थिइन्।
००
प्रशान्तसँग दुई जोर जुत्ता थियो। तर, दुईटै पुराना। तिनैमध्ये केही पुरानो र अलिअलि फाटेको जुत्तालाई उनले परित्याग गर्ने सोचाइ बनाएर फोहोर संकलन गर्ने भाँडामा हठात् रुपमा फ्याँकिदिएका थिए। र, त्यही कारण नै बाबु र छोराबीच अन्तरविरोध चर्किने अवसर जुटेको थियो, एकाएक।

‘आमा, एउटा जुत्ता किन्नुप-यो। पैसा दिनुस् न।’ एकदिन बाउ नभएको समयमा प्रशान्तले आमालाई कर गर्न थाले।

‘मसित कहाँ पैसा छ र? बाउसित माग्न।’ आमा टक्टकिन खोजिन्।

‘दिन्छ बाउले।’ प्रशान्तले ओंठ लेप्य्राउँदै भने र आमालाई करकर गर्न थाले, ‘दिनुस् न तपाईंले। त्यत्रो कुखुरा बेचेको पैसा तपाईंले त राख्नुभएको छ नि।’ आमाको अनुहारतिर हेर्दै प्रशान्त हाँसे।

‘अँ, दिन्छु म त्यो कुखुरा बेचेको पैसा? मलाई चाहिँदैन? तँलाई दिएँ भने मैले कहाँबाट आफ्नो खर्च चलाउनु।’ आमाले भनिन्, ‘तेरो पनि बानी ठीक छैन। बुवासँग मुखमुखै नलाग भनेको कति भइसक्यो। जहिल्यै पनि मुखमुखै लागेको छ। काम बिराएपछि त बाउले अलिअलि गाली त गरिहाल्छ नि। त्यसरी मुख लाग्नु हुन्छ त?’

‘हाम्रा बाउ पनि त्यस्तै छन् भन्या। मेरो त कुरै बुझ्नु हुन्न। कुरै सुन्नु हुन्न। जहिल्यै पनि आफ्नै कुरा माथि पार्न खोज्छन्। मलाई त बाउको व्यवहार देखेर झोक नै चलेर आउँछ भन्या। अरुका बाउले आफ्ना छोराछोरीलाई कत्ति माया गर्छन्, कत्ति सम्झाउँछन्। तर हाम्रा बाउ भने...।’ प्रशान्त बाउको व्यवहारप्रति केही क्रुद्ध देखिए।

‘तिमेरु बाउ छोराको झगडा सुन्दा त मलाई कहिलेकाहीँ यो घर नै छाडेर हिँडु–हिँडुजस्तो लाग्छ। न बाउले कराउन छाड्छन्, न छोराले टेर्न नै छाड्छन्। दुवै उस्तै छन्। तौलने हो भने दुवै बराबर देखिन्छन् होला।’ आमाले भनिन्।

‘अँ, टेरेको छैन मैले? नचाहिँदो कुरामा किचकिच गरेपछि जसलाई पनि रिस त उठि हाल्छ नि।’ प्रशान्तले आफ्नो पीडा बिसाउँदै भने।

‘म तँलाई जुत्ता किन्ने पैसा त दिउँला तर बाउलाई भने नभन नि।’ प्रशान्तको मागप्रति आमा केही गलिसकेकी थिइन् र छोरालाई जुत्ता किन्नका लागि पैसा दिने कुरामा सहमतिको छेउछाउ पुगेकी थिइन्।

प्रशान्तको अनुहारमा एकाएक खुसी र उल्लासका रेखाहरु सल्बलाए।

००
प्रशान्तले नयाँ जुत्ता किने। तर, नयाँ जुत्ता किन्दा उनी जति खुसी देखिनु पथ्र्यो, त्यति नै तनाव र विपतको संघारमा उभिन पुगेका थिए। उनलाई तनाव एउटै कुरामा थियो कि, नयाँ जुत्ता केही समयसम्म बाउको नजरबाट कसरी टाढा राख्ने होला? उनले बुझिसकेको थियो, बाउले नयाँ जुत्ता देखे भने त्यही विषयलाई लिएर नौलो बखेडा उत्पन्न हुन्छ। तसर्थ, उनी बाउले कुनै पनि हालतमा जुत्ता नदेखोस् भन्ने पक्षमा थिए।

प्रशान्तले सोचे, ‘केही दिनका लागि जुत्ता लुकाएरै राख्नुप-यो। केही दिन लगाएपछि जुत्ता पुरानो भइहाल्छ र त्यसपछि बाउले वास्ता गर्दैनन्।’ भुइँ तलानिर नै जुत्ता राख्ने -याक थियो। त्यो -याकमा नराखी कुनै गोप्य ठाउँमा जुत्ता राख्ने सोचे, प्रशान्तले। अझ उनले आफ्नै कोठाको खाटमुनि केही दिनसम्म जुत्तालाई भूमिगत तुल्याउने विचार सँगाले। किनभने, त्यो धेरै नै सुरक्षित र गोप्य तरिका सावित हुन्थ्यो। दस–बाह्र दिनसम्म उनले त्यही अभ्यास गरे। त्यति दिनसम्म जुत्ता लगाइसक्दा केही मैलो र पुरानोसमेत भइसकेको थियो। त्यसपछि भने उनले साविकको -याकमा जुत्ता राख्न थाले।

‘ए, यो कसको जुत्ता हो?’ भोला दाइले -याकमा बेग्लै रङको, केही दिन लगाएको जुत्ता देखेपछि चासो प्रकट गरिहाले। पुराना जुत्ताहरुको भीडमा नयाँ जुत्ता छुट्टिनु स्वाभाविकै थियो र त्यो जुत्तामा जोकोहीको आँखा पर्नु झन् स्वाभाविक थियो।

‘यो कसको जुत्ता हो?’ भोला दाइले अनुसन्धानको दायरालाई झन् फराकिलो पार्दै पत्नीलाई सोधे, ‘प्रशान्तको नयाँ जुत्ता हो कि, क्या हो?’

‘प्रशान्तकै त हो नि । अरु कसको हुनसक्छ।’ यस पटक भने पत्नीले पनि कुरा लुकाउन उपयुक्त देखिनन्, स्पष्टसँगले भनिन्। र, थपिन्, ‘जुत्ता नकिनी दिउन्जेलसम्म मलाई बस्न, खानै दे’को हैन, त्यल्ले। मैले नै पैसा दिएर किनिदिएँ।’

‘छोरालाई बिगार्ने यही हो।’ भोला दाइले रिसाएजस्तो गरी भने, ‘त्यल्ले जेजे भन्छ, त्यही त्यही पूरा गर्ने हो भने एकदिन हामीलाई कंगाल बनाउँछ। जेजे भन्छ, त्यही त्यही किनिदिने हो त?’

‘तपाईं पनि कुरै बुझ्नु हुन्न। तपाईंको जमाना जस्तो छ र अहिले? तपाईं र छोराको समय अर्कै छ। आफ्नो जमानाको जस्तो सोचेर हुन्छ, कहीँ?’ पत्नीले पनि उनलाई झाट्दै भनिन् र घरभित्र छिरिन्, हतारहतार।

‘म पनि हेर्छु, कतिञ्जेलसम्म पुल्पुल्याएर राख्दी रहिछ, यल्ले।’ भोला दाइले लामो सास ताने र केही दिनअघि मर्मत गरेर ल्याएको त्यही पुरानो जुत्तातिर नजर लगाए। मर्मत गरेर ल्याएको त्यो जुत्ता न छोराले लगाएका थिए, न त उनले नै लगाउने आँट देखाएका थिए। बरु, जुत्ता सर्वथा धुलैधुलोले पुरिएको थियो। उनले धुलैधुलोले सजिएको जुत्तातिर आँखा पु-याउँदै मनमनै भने, ‘अहिलेका केटाकेटीसँग नसकिने भै’यो।’

त्यही बेला भोला दाइले पर्तिरको लप्सीको बोटतिर नजर पु-याए। लप्सीको बोटमा एक हुल पक्षीहरु आएर क्रमबद्ध रुपमा बसे।
सुरु भयो फेरि– पक्षहरुको झर्को लाग्दो कल्याङमल्याङ।

प्रकाशित: २६ वैशाख २०७६ ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App