coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भीआइपी उड्दा पनि सास्ती, गुड्दा पनि सास्ती

भियतनाम र कम्वोडिया भ्रमणको लागि त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओली। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ ब्यक्तिहरु सडकमा निस्कनै हुँदैन। घण्टौं सडक जाम, सवारी आवागमन ठप्प। सर्वसाधारणलाई सडकमा घण्टौं जाममा पारेर भीआइपीहरु अगुवा पछुवा गाडीसहित हुइकिन्छन्।

यो समस्या आज वा केही दिनदेखिको होइन। राजाका पालादेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा समेत जारी छ। यो समस्या सडकमा मात्र होइन आकासमा पनि छ। भीआइपीको विदेश 'सवारी' को समय जहाज समेत डाइभर्ट गरिन्छ।

भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको समय र आज मात्र प्रधानमन्त्रीको भियतनाम र कम्वोडिया भ्रमणको 'सवारी' मा सडक र आकास दुवैका यात्रुले सास्ती भोग्न बाधय भए। जनताले पाएको यो सास्तीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको भियतनाम भ्रमणले फेरि सम्झाएको छ।

गणतन्त्रमा जनताका प्रतिनिधिको सवारी हुँदा समेत सास्ती उस्तै छ। प्रधानमन्त्री ओली दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडिया भ्रमणमा जाँदा आधा घण्टा बढी उडान ठप्पै भए। सडकमा जाम हुने कुरा त अब स्वभाविकनै बन्न थालिस्क्यो।

आधा घण्टासम्म आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द भए। केही विमानले आकासमै होल्ड हुनुपर्यो। भीभीआइपी सवारी हुँदा आन्तरिक तथा बाह्य उडान ठप्प हुनुलाई विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने सामान्य रुपमा लिनुपर्ने बताए।

 पहिलेभन्दा कम समयमात्रै उडान प्रभावित भएको दावी गर्दै उनले भने, “भीभीआइपी सवारी हुँदा केही समय उडान र अवतरण प्रभावित हुनुलाई सामान्य रुपमा नै लिनुपर्छ। यो नेपालमा मात्रै होइन सबै देशमा हुन्छ। भारतमा त झन धेरै नै हुन्छ। हामीले बरु क्रमिक रुपमा सुधार गर्दै गएका छौं। जस्तो आज पनि २०/ २२ मिनेट मात्रै प्रभावित भयो। अब सुधार गर्दै जान्छौं।” सुरक्षा संवेदनशीलतालाई हेरेर यस्तो गर्नुपरेको क्षत्रीको भनाई छ।

यस्तो सास्ती यस पटक मात्रै होइन पटक पटक सर्वसाधारणले खेप्दै आएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमन हुँदा झन सास्ती हुन्छ। सडक होस वा आकास भीभीआइपी हिड्नै हुँदैन सवारी आवागमन ठप्प हुन्छ। आकासका विमान आकासमै होल्ड हुन्छन्। सडकका सवारी ठप्प।

सर्वसाधारणमा यतिसम्मको आक्रोस छ कि एक पटक राष्ट्रपतिको सवारी हुँदा गरिएको सवारी जामलाई उनीहरुले तोडिनै दिए। प्रहरीले रोक्नै सकेन।

 

गत फागुनमा राष्ट्रपति शीतल निवासबाट भद्रकालीको आर्मी हेडक्वार्टरमा रात्रिभोजमा सवारी हुने कार्यक्रम थियो। राष्ट्रपति उपत्यकाका कुनै पनि ठाउँमा सवारी हुँदा एकतर्फी बाटो बन्द गर्ने गरिन्छ।

काठमाडौं लैनचौरमा  उक्त बन्दको अवज्ञा भयो। सुरुमा हर्न बजाएर विरोध गरेका उनीहरुलाई ट्रफिकले धेरै बेर रोक्न सकेनन्। पछि सार्वजनिक भएको भिडियोमा रोकिएका सवारी साधनको भिडमा एक जना मानिसले आजित हुँदै भने, “यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौं।” यतीभनेपछि एक हुल सवारी अगाडि बढे। ट्राफिक प्रहरीले समेत रोक्न सकेनन्।

सुरक्षा संवेदनशीलता कत्तिको छ ?

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ ब्यक्तिहरु आवतजावत गर्दा सुरक्षा खतरा भएकोले यस्तो गर्नु परेको सुरक्षा निकायको ठहर छ। सर्वहारा वर्गको मुक्तिका लागि लामो समय संघर्ष गरेका ब्यक्ति नै अहिले नेपालको उच्च पदमा छन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली। ट्राफिक प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक केशव अधिकारी भने सुरक्षा खतरा भन्दै सवारी आवागमन ठप्प पार्ने काम सरासर गलत भएको बताउँछन्। लामो समयदेखि सुरक्षा खतरा मुल्यांकन नै नभएको भन्दै सुरक्षा निकायले अनावश्यक रुपमा सुरक्षा खतराको ट्याग लाउने गरेको उनले बताए। “तीन तीन महिनामा सुरक्षा खतरा मूल्यांकन गर्नुपर्छ। बढीमा छ महिनामा गर्ने हो। यहाँ वर्षैदेखि मुल्यांकन भएको छैन। केन्द्रदेखि जिल्लासम्म सुरक्षा समन्व्य समिति छन्। उनीहरुले कसलाई कति सुरक्षा खतरा छ भन्ने मूल्यांकन गर्छ। तर भएकै छैन।”

उच्च पदस्थको आवागमन हुँदा घण्टौं जाम नगरेर पनि ब्यबस्थापन गर्न सकिने पूर्व डिआइजी अधिकारीको जिकिर छ।

“राजस्व बढी उठ्ने भएर सरकारले सवारी आयातमा खुकुलो नीति लिएको छ। वर्षेनी सडकले थेग्न नसक्ने गरी सवारी आयात भइरहेको छ। सडक मर्मत छैन। चौडा छैन। साँघुरा सडकमा भीभीआइपीको सवारी हुन्छ। सार्वजनिक भन्दा निजी सवारी बढी छन्। त्यसैमाथि राष्ट्रपति वा प्रधानमन्त्री आउने भनेपछि प्रहरीले एक घण्टा अघिदेखि नै खडक खाली गर्छ। 

सडक चौडा बनाउने र सवारी साधानको चाप मात्रै कम गर्ने हो भने पनि सवारी आवागमन ब्यबस्थापनमा सहज हन्छ।”

त्यसबाहेक समयसमयमा सुरक्षा खतरा मूल्यांकन गर्ने र त्यसअनुरुप ब्यबस्था गर्ने हो भने सर्वसाधारणमा पर्ने सास्ती कम गर्दै लैजान सकिने उनको विश्वास छ। तर त्यसका लागि सुरक्षा निकायले विशेष पहल गनुपर्नेमा उनको जोड छ।

प्रकाशित: २६ वैशाख २०७६ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App