coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदूषित हुँदै, पुरिँदै फोक्सुण्डो ताल

फोक्सुण्डो, रिग्मो (डोल्पा)– झ्वाट्ट हेर्दा गाढा नीलो देखिन्छ, फोक्सुण्डोको पानी। यहाँ आइपुग्ने आगन्तुकलाई आफ्नो स्कूले जीवनमा ‘फाउन्टेन पेन҆ मा भरेको नीलो मसीको याद आउँछ। हुन पनि त्यत्तिकै नीलो छ, फोक्सुण्डो ताल।

ताल किनारको पानीको रंग भने हरियो देखिन्छ। हरियो कपडा ओछ्याए जस्तै। पानी भित्रका ढुङ्गा त्यत्तिकै टल्किन्छन्। मुखबाट फ्याट आइहाल्छ, वाह ! कति सफा। वास्तविकता भने अर्कै छ।

जब तपाई विस्तारै तालको वरिपरि घुम्नु हुन्छ वा पूरै ताललाई आँखामा कैद गर्न ४ हजार मिटरभन्दा माथि तीन घण्टा उक्लिएर उत्तरपश्चिमतर्फको भ्यू प्वाइन्ट पुग्नु हुन्छ। यही यात्रामा तपाइँलाई थाहा हुन्छ, ताल कसरी प्रदूषित हुँदैछ र पुरिँदैछ। तालबाट निस्किएको पानी फोक्सुण्डो झरनामार्फत खोलामा परिणत

तीन हजार ६ सय ३५ मिटर उचाइमा रहेको फोक्सुण्डो तालमा जम्मा हुने पानीको आधार क्षेत्र भनेको त्यस वरपरका उच्च पहाड र हिमश्रृङ्खला हुन्। उपल्लो डोल्पाका उच्च पहाडहरू यार्सागुम्बा सङ्कलन गर्ने क्षेत्र हुन्। ‘किरा टिप्न आउनेहरूले गर्दा ताल हरेक वर्ष फोहोर हुँदै गइरहेको छ҆, ताल किनारकै पूर्वमा अवस्थित थासुङ छोर्लिङ गुम्बाका उपप्रमुख लोटोई लामाले भने।

उनका अनुसार यार्सागुम्बा सङ्कलकहरूले आफूसँगै माथि लगेका फोहोरहरू फिर्ता लिएर जाँदैनन्। त्यहीँ पुर्छन्। दुई महिनासम्म बसेर गरेको सबै फोहोर वर्षायाममा बगेर तालमै आउँछ। दिसापिसाब, जङ्क फुडका खोलहरू, पुराना र थोत्रा कपडा र जुत्ताहरू, रक्सीका बोतल र क्यानहरू समेत तालमै आइपुग्छन्। केही फोहोर वस्तुहरू अहिले पनि तालभित्र देख्न सकिन्छ। ‘ती सबै तालमै आउँछन्҆, लामाले भने। उनका अनुसार असार साउनमा ठूलो वर्षा हुन्छ। यससँगै वरपरको क्षेत्रमा पहिरो जान्छ  र पहिरोसँगै सबै फोहोर तालमा आउँछ।

पानी परियोजनाका फोक्सुण्डो–सुलिगाँढ जलाधार क्षेत्र व्यवस्थापन विज्ञ आङबहादुर लामाका अनुसार तालको जलाधार क्षेत्रमा पनि यार्सा सङ्कलन गर्नेहरूको मेला लाग्छ। ‘उनीहरूले गरेको सबै फोहोर फोक्सुण्डो, गाँगर र सागर खोला हुँदै तालमा आउइरहेको हुन्छ ҆, उनले भने। लामाका अनुसार फोहोरको समस्या बढ्दो छ। प्राकृतिक कारणहरूले गर्दा ताल पुरिने समस्या पनि हरेक वर्ष बढिरहेको छ।

‘फोक्सुण्डो ताललाई सबैभन्दा खतरा पश्चिमबाट त्यसमा मिसिने फोक्सुण्डो खोलाको छ। यसले हरेक वर्ष वर्षायाममा ठूलठूला ढुङ्गा, गेगर, लेदोमाटो र काठहरू बगाएर ल्याउँछ। गाँगर खोलाबाट पनि तिनै वस्तुहरू तालमा आउँछन्҆, उनले भने। लामाका अनुसार उत्तरपूर्वबाट मिसिने सागर खोलाबाट ठूला वस्तुहरू त्यति आउँदैनन्। माटो पानीसँगै मिसिएर आउँछ।

यी खोला तालको पानीको मुख्य स्रोत हुन्। त्यसो त ताल वरिपरिका पहाडमा जमेको हिउँ पनि यही तालमा खस्छ। फोक्सुण्डो तालको जलाधार क्षेत्रमा ताल वरपर र उपल्लो डोल्पाका पेरिकपुवा, छुसाङ, मेदोक्ती, पेलुङ्ग, नाओरिपा, सागर जस्ता उच्च पहाडी क्षेत्र पर्छन्। यी यार्सागुम्बा सङ्कलन गर्ने क्षेत्र हुन्। यार्सागुम्बा सङ्कलकहरूले गरेको सबै फोहोर तालमै आउँछ। निकुञ्जले यसवर्ष जेठ १४ गतेदेखि यार्सागुम्बाको सङ्कलन खुला गरेको छ। लामाको अनुभवमा तालको गहिराइ हरेक वर्ष केही न केही घटिरहेको छ। ‘तर कति घटिरहेको छ भन्ने कुरा अध्ययन अनुसन्धानबाट मात्र थाहा हुन्छ҆, उनले थपे।

जल तथा मौसम विज्ञान विभागको २००४ को अध्ययनले पानी प्रदूषण हुनुका प्रमुख कारण र चुनौतीमा ताल वरिपरिको भू–क्षयीकरण र बढ्दो होटल निर्माणलाई लिएको छ। तालको गहिराइलाई लिएर स्थानीय बासी र सरकारबीच ठूलो मतान्तर छ। विभागले यसलाई मुलुकको दोस्रो गहिरो ताल भन्छ। सन् २००४ को मापनमा विभागले यसको गहिराइ १४५ मिटर मात्र उल्लेख गरेको छ।

स्थानीय बासीले सुरुदेखि भनिएको ६५० मिटर गहिराइलाई नै आधिकारिक मान्नुपर्ने अडान राखेका छन्। ‘६५० बाट एकैचोटी कसरी १४५ मिटर भयो ? हामीलाई कारण चाहियो ҆, फोक्सुण्डो ताल संरक्षण समितिका अध्यक्ष रिग्जिन आङग्याल बुढाले भने। त्यसैले सरकारले यही महिनाफेरि तालको गहिराइ नाप्दैछ।  विज्ञ लामा भन्छन्, ‘ताल पुरै फोहोर भो भन्न त नमिल्ला तर संरक्षण, पर्यटन र फोहोर व्यवस्थापनको योजना नबनाइ यसैगरी अघि बढ्ने हो भने यो पनि फेवाताल जस्तै हुन्छ।҆

यार्सागुम्बा सङ्कलकहरू मात्र नभइ यहाँका स्थानीय बासी, होटल व्यवसायी, आन्तरिक र बाह्य पर्यटकका गतिविधिले पनि ताल वरपरको क्षेत्र फोहोर भएको देखिन्छ। तालभित्र र छेउछाउमा फोहोर छरपस्ट देख्न पाइन्छ। रक्सी र टनिक वाटरका क्यानका डब्बा, थोत्रा जुत्ता, कपडाहरू उपल्लो डोल्पा प्रवेश मार्गमा छरपस्ट देखिन्छन्। तालको आँगनमा रहेको शे–फोक्सुण्डो गाँउपालिका ८ को रिग्मो गाँउमा फोहोर व्यवस्थापनको एकीकृत योजना छैन।

तलबाट ल्याइएका रक्सीका बोतल, क्यान, जङ्क फुडका खोलहरू व्यवस्थापन गर्न स्थानीय निकायले गाउँपालिका र वडाले कुनै योजना बनाएको छैन। यहाँ सञ्चालन भइरहेका होटलहरूले काठको डस्विन त राखेका छन्। तर डस्विनमा जम्मा हुने सबै फोहोर खाल्डोमा हाल्छन्। त्यसमा सिसाका बोतल, क्यान, पोलिथिन लगायत सबै हुन्छन।

शे–फोक्सुण्डो गाँउपाकिा वार्ड न. ८ का अध्यक्ष निमा लामा (होटल व्यवसायी पनि हुन्) का अनुसार होटल व्यवसायीहरूले आफूले उत्पादन गरेको सिसा र पोलिथिनजन्य फोहोर खाल्डो खनेर गाड्ने गरेको बताउँछन्।

‘हामी फोहार व्यवस्थापनको दिगो उपाय खोजिरहेका छौँ ҆, उनले भने।     शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त वार्डेन प्रमोदकुमार यादवले स्थानीय व्यवसायी र सर्वसाधारणले माथि लगेर प्रयोग गरेका कुनै पनि वस्तुहरू फिर्ता ल्याएको आफूलाई जानकारी नभएको बताए। ‘त्यो पनि निकुञ्जले गर्ने काम हो ?҆, उनको प्रश्न थियो। त्यसो त निकुञ्ज प्रवेश गरेर माथि उक्लिँदै गर्दा फोक्सुण्डो खोला किनार किनारमा स्थानीय व्यवसायी र सर्वसाधारणले फालेका फोहोरको डङ्गुर प्रसस्त देखिन्छ। ती फोहोर त्यही खोलामा खसेका दृश्यहरू सामान्य छन्। निकुञ्ज प्रशासनले सुलिगाँढदेखि फोक्सुण्डोबीचको बाटोमा कहिँकतै पनि फोहोर फाल्ने भाँडो राखेको पाइँदैन।

यादव भने जनशक्ति अभाव र भौगोलिक विकटताले गर्दा फोहोर व्यवस्थापनमा समस्या आएको दाबी गर्छन्। ‘स्थाीिय व्यवसायीबाहेक यार्सागुम्बा सङ्कलन गर्न बाहिरबाट आउनेहरूलाई रक्सीलगायत वस्तुहरू माथि लैजान अनुमति छैन। आफूले गरेको फोहोर आफैँले व्यवस्थापन गर्नुपर्छ। तर कसैले गरिरहेका छैनन् ҆, उनले भने, ‘हामीले नियन्त्रण गर्न सकिरहेका छैनौं।҆

जाडो महिना सुरु हुनुभन्दा पहिले तल झरेका व्यवसायी र सर्वसाधारण वैशाखको पहिलो सातादेखि माथि उक्लिन थालेका छन्। उनीहरूले खच्चर र चौरीलाई बोकाएर हरेक दिन फोक्सुण्डो हँुदै उपल्डो डोल्पामा पेय पदार्थसहित खाद्यान्न ओसारिरहेका छन्। हरेकदिन सयौँको संख्यामा खच्चर र चौरी सामान बोकेर माथि जान्छन्। यीसँगै आन्तरिक र बाह्य पर्यटक पनि आउन थालेका छन्। बाह्य पर्यटकहरू क्याम्प स्थापना गरेर बाटोमा बास बस्दै माथि उक्लिन्छन्।  क्याम्प राख्नेहरूले पनि फोहोर गर्ने गरेको स्थानीयको गुनासो छ।

               

 

 

                               

 

प्रकाशित: २६ वैशाख २०७६ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App