coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

समाज सुधार दिवसमा लिम्बुभाषा कविता

दिवसका अवसरमा आयोजित लिम्बुभाषा कविता प्रतियोगितामा कविता वाचन गर्दै योगिता। तस्बिरः भगिश्वर लिम्बू/नागरिक

तेह्रथुम– जिल्लाको म्याङलुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले धार्मिक विषयलाई लिएर मनमुटाव र दोषारोपण गर्न नहुने बताएका छन्। तेह्रथुमको म्याङलुङमा आयोजित जिल्लास्तरीय खुला लिम्बुभाषा कविता प्रतियोगिताको उद्घाटन गर्दै मेयर तुम्बाहाङफेले धर्म भनेको समाजलाई नीति नियममा बाँध्ने कडी रहेको उल्लेख गरे।

८९ आैं सत्य धर्म मुचुल्का दिवसको अवसरमा आयोजना गरिएको कविता प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर तुम्बाहाङफेले किरात लिम्बु जाति सत्यहाङमा र हत्याहाङमा भन्दै दुई समूहमा विभाजित हुनु आफैंमा नकारात्मक भएको तर्क राख्दै सबै जाति मिलेर अगाडि बढे मात्र समाज र मुलुक समृद्धि हुने बताए। सोही सन्दर्भमा म्याङलुङमा निर्माण हुने भनिएको महागुरु फाल्गुनन्दको सालिक निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कविता प्रतियोगितामा लालीगुराँस नगरपालिका–५ दागपाका कवि सविन लिम्बु छथरेसा प्रथम भए। प्रतियोगीमध्येबाट म्याङलुङ नगरपालिका–५ जिरिखिम्तीका टिआर सेनेहाङ द्वितीय र मेन्छ्यायेम गाउँपालिका मोराहाङका कवि नरेन्द्र खापुङ तृतीय भए भने म्याङलुङ–७ आम्बुङका योगिता चोङबाङ र म्याङलुङ–९ साक्लाका खेसेहाङमा सावदेन सान्त्वना भए।

म्याङलुङ बसपार्क नजिकै रहेको किरात धर्म तथा साहित्य उत्थान संघको हलमा आयोजना भएको प्रतियोगितामा १० जना कविहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेको सहआयोजक संस्था किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङले जानकारी दिए। प्रतियोगिताको कवि दिल साक्सावाँ, साम थाम्देन र पाँचथरे कवि डिल्लीश्वर मुसाहाङले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए। प्रतियोगिताको विजेतामध्ये प्रथमले नगद २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १ हजार ५ सयको साथमा प्रमाण पत्र प्राप्त गरेका छन्। साथै सान्त्वना स्वरुप दुई जनालाई एक÷एक हजार नगदको साथमा प्रमाण पत्र प्रदान गरिएको छ।

जिल्लामा भाषिक कविहरूलाई प्रोत्साहन र आत्मसम्मानका लागि लिम्बुभाषा कविता प्रतियोगिताको आयोजना गरेको आयोजक समितिका अध्यक्ष साम थाम्देन थाङबेनले जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०७६ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App