coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

उवासंघमा दलीय ‘लडाइँ’

इलाम उद्योग वाणिय संघको नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासीद्वय देवेन्द्र शंकर र ईश्वर चिपालु।

इलाम– इलाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि जिल्लाका व्यवसायीबीच राजनीतिक दलीय ‘लडाइँ’ हुने भएको छ। संघको १६ सदस्यीय जिल्ला कार्यसमितिका सबै पदमा छिटफुट सदस्यबाहेक सबै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसनिकट व्यवसायीका बेग्लाबेग्लै दुई प्यानल चुनावी मैदानमा उत्रिँदैछन्।

आउँदो २८ गते हुने अधिवेशनबाट नेतृत्व चुनिन वर्तमान प्रथम उपाध्यक्ष ईश्वर चिपालुको अध्यक्षतामा कांग्रेसनिकट व्यवसायीको प्यानल घोषणा भएको छ। वर्तमान कोषाध्यक्ष देवेन्द्र शंकरको अध्यक्षतामा नेकपानिकट व्यवसायीको अर्काे प्यानल पनि मंगलबार नै घोषणा गरिएको छ।

चिपालु नेतृत्व प्यानलको वरिष्ठ उपाध्यक्षमा चेतनाथ (कृष्ण) पौडेल, वाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा दुर्गा (मदन) श्रेष्ठ, महिला उपाध्यक्षमा अनुजा गजुरेल (सुवेदी), महासचिवमा हेमन्त गौतम (अत्री), सचिवमा श्रीबहादुर विष्ट र कोषाध्यक्षमा सन्तोष भक्तराज छन्। सदस्यमा कर्ण साङपाङ राई, बालकुमार श्रेष्ठ, देवीप्रसाद पौडेल, सुमन दास, धर्मेन्द्र सुवेदी (सुमन), महिला सदस्यहरूमा खिनमाया बस्नेत, देवीकला पोख्रेल र दीपा गुरुङले उम्मेदवारी दिने भएका छन्।

शंकर अध्यक्ष रहेको प्यानलको वाणिज्य उपाध्यक्षमा भक्तबहादुर लुंगेली, वाणिज्य उपाध्यक्षमा भगिरथ कट्टेल, उद्योग उपाध्यक्षमा प्रवीण श्रेष्ठ, महिला उपाध्यक्षमा कमला बाँस्कोटा, महासचिवमा प्रकाश चापागाईं, सचिवमा केशव खनाल र कोषाध्यक्षमा दिव्या भट्टराईले उम्मेदवारी दिँदैछन्। सदस्यमा रेशम बराइली, लालबहादुर लिम्बू, नेत्रप्रसाद पोख्रेल, ठाकुरप्रसाद कट्टेल, चन्द्रबहादुर निरौला (मदन), महिला सदस्यहरूमा कौशिला राई, गंगा उप्रेती, र रमादेवी थापा (पराजुली)ले उम्मेदवारी तय भएको छ। प्रत्यासी दुवै प्यानल आफ्नो पक्षमा सहयोग–समर्थन जुटाउन मंगलबारदेखि नै सदरमुकामबाहिरका बजार पुगिसकेका छन्।

अध्यक्षका प्रत्यासी शंकरले जिल्लाका ८० प्रतिशतभन्दा बढी मध्यमवर्गीय व्यवसायीको हितमा काम गर्न आफू अध्यक्षको उम्मेदवार भएको बताए। ‘सहमतिका लागि धेरैपटक प्रयास भयो तर हुन सकेन,’ उनले भने, ‘अब मध्यमवर्गीय ८० प्रतिशत व्यवसायीले १० प्रतिशत उच्च वर्ग मानिने व्यवसायीको मात्रै शासन खेप्नु नपरोस् भनेर साथीहरूले मलाई अघि सार्नुभएको हो।’ उनले आफूले संघमा रहेर लगातार २ कार्यकाल काम गरेको अनुभव अब अध्यक्ष हुँदालाई आवश्यक भएको बताए। उनी २०७२ साल चैतमा गठित वर्तमान कार्य समितिको कोषाध्यक्ष छन्। त्यसअघिको कार्यकालमा शंकर सदस्य पदमा थिए।

अध्यक्षकै अर्का प्रत्यासी चिपालुले जिल्लाका सम्पूर्ण व्यवसायीको हितमा काम गर्न आफू अध्यक्षको दाबेदार भएको बताए। ‘हामीले जिल्लाको उद्योग–व्यवसाय क्षेत्रमा गर्न बाँकी काम अत्यन्त धेरै छन्, अहिलेसम्म ६ वर्ष संघको नेतृत्वमा रहेर गरेको अनुभवले काममा सहयोग गर्नेछ,’ उनले भने, ‘इलामको ऐतिहासिक चिया उद्योगदेखि सबैखाले व्यवसायको उन्नति हाम्रो मुख्य लक्ष्य हुनेछ।’ संघको वर्तमान प्रथम उपाध्यक्ष चिपालु त्यसअघि द्वितीय उपाध्यक्ष थिए। उनले संघको नेतृत्वका लागि दलका आधारमा भन्दा पनि सदस्यहरूको चाहनाका आधारमा आफूले नयाँ नेतृत्व समूह तयार पारेको बताए। ‘हाम्रो प्यानल व्यवसायीहरूको हो, कुनै दलको आधारमा बनाएको चाहिँ होइन,’ उनले भने।

२८ गते हुने अधिवेशनमा जिल्लाका १ हजार २ सय ८९ प्रतिनिधि सहभागी हुने संघ अध्यक्ष आनन्द कट्टेलले बताए। ‘सदरमुकाममा ११ सय ६०, देउमाई नगरपालिकामा ५९ र माई नगरपालिकाको दानाबारीका ७० प्रतिनिधिले मतदान गर्नेछन्,’ उनले भने, ‘संघको साधारणसभा चाहिँ गत ७ गते नै सम्पन्न भइसकेको छ।’

प्रकाशित: २६ वैशाख २०७६ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App