८ वैशाख २०८१ शनिबार
विचार

‘मेरो सरकार’ : ठीक कि बेठीक ?

दधि अधिकारी
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा २३ ठाउँमा प्रयोग गरिएको शब्दावली ‘मेरो सरकार’ ले अहिले पत्रपत्रिका र सामाजिक सञ्जाल भरिएका छन्। ‘मेरो सरकार’ ले राजतन्त्रको झझल्को दियो, त्यसैले राष्ट्रपतिले यो शब्दावली प्रयोग गर्नु हुँदैन थियो भन्ने एक थरीको भनाइ छ भने भारतमा पनि राष्ट्रपतिले ‘मेरो सरकार’ नै भन्छन् त्यसैले यहाँ पनि यसको प्रयोग गर्दा केही फरक पर्दैन भन्ने तर्क अर्को थरीको छ। कतिपयले भने यो विरोधलाई सरकारको नीति तथा कार्यक्रममा कुनै खोट नभेट्टाएपछि झिकिएको अनावश्यक बखेडा पनि भनेका छन्। चेतनशील नागरिकका यी दुई विपरीत धारका विचारले आम सर्वधारणमा भने विभिन्न जिज्ञासा उत्पन्न भएका छन्। यो वाक्यांश प्रयोग गर्नु नै हुँदैन थियो त ? यस विषयमा राष्ट्रिय स्तरका नेताहरू नै वादविवादमा उत्रनु आवश्यक थियो ? अथवा राष्ट्रपतिले जानीजानी विवाद सिर्जनाकै लागि यो शब्दावली प्रयोग गरेकी हुन् ?

२०४६ सालभन्दा अघि नेपाल प्रहरीको बर्दी खाकी (मट्याइलो खैरो) रङको हुन्थ्यो। जनआन्दोलनको सफलतापश्चात् यो नीलो रङको भयो। यसरी बर्दीको रङ परिवर्तन गर्नाको कारण खाकी रङप्रति आम नागरिकमा एक प्रकारको त्रास र अविश्वास थियो। पञ्चायतका बेला शासकले प्रहरीलाई जनदमनका लागि प्रयोग गरेको र त्यसबेला प्रहरीले देखाएको बर्बरताका कारण जनमानसमा प्रहरीप्रति नकारात्मक धारणा निर्माण भएको थियो। त्यसैले प्रहरीको प्रतीक बनेको खाकी रङको बर्दी परिवर्तन गरी नीलो बनाइएको थियो। यसले प्रहरीप्रति नागरिकमा रहेको नकारात्मक सोच सकारात्मक बन्ला र आपसी सम्बन्ध सुमधुर भई  प्रहरी–जनता सहकार्य बढ्ला भन्ने सोचेर। भारतमा अझै प्रहरीको बर्दी खाकी रङकै छ।

नेपालमा गणतन्त्र स्थापनापछि हामीले ‘प्रजातन्त्र’ को साटो ‘लोकतन्त्र’ शब्द प्रयोग गर्न थालेका छौँ। ‘प्रजा’ शब्दले राजाद्वारा शासित भन्ने जनाउने भएकाले यसो गरिएको हो। अहिले त कसैले प्रजातन्त्र शब्द प्रयोग ग-यो भने पनि त्यो व्यक्ति राजतन्त्रपक्षधर हो कि भन्ने शंका गरिन्छ। यति मात्र होइन, राजमार्गलाई हामी लोकमार्ग भन्न थालेका छौँ। हुँदाहुँदा अब ‘राजधानी’लाई ‘लोकधानी’ भन्नुपर्ने दिन पनि नआउला भन्न सकिन्न। स्मरण रहोस्, भारतमा प्रजातन्त्र र लोकतन्त्र शब्द समान रूपमा प्रयोग गरिन्छन् भने हामीले लोकमार्ग भन्ने हाई वेलाई त्यहाँ राजमार्ग नै भनिन्छ।

रुसमा भएको विश्वकप फुटबल प्रतियोगिताको एउटा खेलमा स्विट्जरल्यान्डका तीन खेलाडीलाई फिफाले जरिवाना गरेको थियो। जरिवाना गर्नाको कारण थियो– उनीहरूले सर्बियाविरुद्ध गोल गरेपछि हातले चील (पन्छी) को आकृति बनाएर खुसी मनाएका थिए। स्मरण रहोस्, अल्बानियाको झन्डामा चीलको चित्र छ र ती तीनमध्ये दुई खेलाडी अल्बानियाली मूलका हुन् जसको परिवार सर्बियाबाट कोसोभो युद्धका दौरान स्विट्जरल्यान्डमा बसाइँसराइ गरेका थिए। उनीहरूले चीलको आकृति बनाउनुको अर्थ सर्बियाले कोसोभोमा रहेका अल्बानियाली मूलका मानिसलाई सन् १९९० को दशकमा गरिएको दमनविरुद्ध ऐक्यबद्धता जनाउनु थियो। अर्को एउटा उदाहरणः हामी हिन्दु स्वस्तिक चिह्न समृद्धिको प्रतीक मान्छौँ। हामीले घर–घरमा यो चिह्न बनाएका हुन्छौँ। तर पश्चिमी देशहरूमा नाजी पार्टीले जर्मन राष्ट्रवादको प्रतीकका रूपमा यो चिह्न प्रयोग गरेकाले यहुदी र नाजीविरोधीहरूले यसलाई असामाजिकता, आतंकको प्रतीक मान्छन्। नश्लीय वर्चस्ववाद र धम्कीको प्रतीक ठान्छन्।

माथिका उदाहरणले के देखाउँछन् भने कतिपय अवस्थामा शब्द, चिह्न, रङ र इशारामा भावना र इतिहास जोडिएका हुन्छन्। कुनै शब्द र चिह्नले आम रूपमा जुन अर्थ दिन्छन् कुनै स्थान वा मानिसका लागि तिनले फरक अर्थ दिन सक्छन्। भारतमा खाकी रङकै चलिरहेको छ तर किन हामीलाई बर्दीको रङ नीलो बनाउनुपरेको ? ठूलो लोकतान्त्रिक देश भारतमा प्रजातन्त्र शब्दै चलिरहेको छ तर किन हामी लोकतन्त्र भन्छौँ ? भारतमा गर्वका साथ राजमार्ग नै भनिन्छ तर हामीलाई किन लोकमार्ग भन्नुपरेको ? सारा विश्व चील संरक्षणमा जुटेको छ तर चीलको चिह्न बनाउँदा किन कारबाहीमा परे ती खेलाडी ? हाम्रो पवित्र स्वस्तिक चिह्नमा पश्चिमाहरूको टाउको दुखाइ किन ? यी सबै प्रश्नको जवाफ हो– किनभने केही शब्द र चिह्नमा भावना र इतिहास जोडिएका हुन्छन्।

ठीक त्यसैगरी नेपालमा पनि ‘मेरो सरकार’ र ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ वाक्यांशमा राजतन्त्रका संस्कार र आडम्बर जोडिएका छन्। किनकि राजाले भाषण गर्दा यी वाक्यांश प्रयोग गर्ने गरेका थिए। नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले पनि ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भनेको भए हामीलाई कुनै असहज महसुस हुन्थेन त ? पक्कै हुन्थ्यो। किनकि यो वाक्य प्रयोग  भाषिक रूपमा त कुनै त्रुटि ठहरिन्थेन तर राजनीतिक तथा सामाजिक दृष्टिले त्यो एउटा गम्भीर त्रुटि हुने थियो। यस्तै प्रकारले ‘मेरो सरकार’ शब्दावली प्रयोग पनि राजनीतिक र सामाजिक हिसाबले गलत हो किनभने यसले नेपालको सन्दर्भमा निर्मूल भइसकेको राजतन्त्रको भावना बोकेको छ। तर भारतमा यो शब्दालीले हामीकोमा जस्तो भावना बोकेको छैन त्यसैले त्यहाँ राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु सामान्य मानिएको हुनसक्छ।

अब प्रश्न उठ्छ– यो शब्दावली राष्ट्रपतिले पढ्ने नीति तथा कार्यक्रममा किन राखियो त ? यो विवादमा पर्नसक्छ भन्ने कुरा त्यत्रा पढेलेखेका र अनुभवी राजनीतिज्ञ तथा कर्मचारीले अनुमान गर्न सकेनन् होला भनेर मान्ने सकिँदैन। अतः यो शब्दावली प्रयोग गर्नाका पछाडि दुई सम्भावना हुनसक्छन्ः पहिलो, नीति तथा कार्यक्रम धेरै गम्भीर र उत्साहप्रद नभएकाले त्यसमा धेरै विवाद आउन सक्छ भनेर ध्यान अन्तै मोड्न, दुईतिहाइ बहुमतले नीति तथा कार्यक्रम पास भइहाल्छ। त्यसपछि झन्झट नै खतम। नेकाका विश्वप्रकाश शर्मा, गगन थापा अनि नेकपाकी रामकुमारी झाँक्रीहरू पनि ‘मेरो सरकार’मा केन्द्रित भएको देख्दा यहि नै कारण हो कि जस्तो पनि लाग्छ।

दोस्राे कारण, वास्तवमै प्रधानमन्त्रीले आफूलाई नरेशका रूपमा देख्नुभएको हुनसक्छ। तर राष्ट्रपतिको आफ्नै चाहनामा यो राखिएको हुनसक्छ तर नीति तथा कार्यक्रममा यो शब्दावली राख्नुमा राष्ट्रपतिलाई सोझै दोष दिन मिल्दैन। राष्ट्रपतिले त सरकारले जे दियो त्यही पढ्ने हो। त्यसैले के भन्न सकिन्छ भने प्रधानमन्त्रीले आफूलाई अहिले राजाजस्तो ठान्नुहुन्छ र आमना गरिकलाई रैती। उहाँमा म जतिको शक्तिशाली अब कोही छैन भन्ने भान परेको हुनसक्छ। प्रधानमन्त्रीले गम्भीर भएर बोल्नुपर्ने विषयमा पनि गरेका ठट्यौली, सरकारका नजिक भएकाहरूको परिवर्तित जीवनशैली, उत्तरदायित्व र जवाफदेहिता अभाव, मनपरीतन्त्र, बढ्दो भ्रष्टाचार र यसलाई प्राप्त संरक्षणजस्ता कारणले सरकार राजतन्त्रजस्तै निरंकुशतातर्फ अघिबढेको महसुस हुन्छ। त्यसैले प्रधानमन्त्रीज्यूले राष्ट्रपतिमार्फत म राजा सरह हुँ भन्ने भावना प्रकट गराउनुभयो। यदि यसै हो भने बेलैमा सचेत भएर निरंकुशतातर्फका पाइला रोक्नु आवश्यक छ।

राजा र राजपरिवारको जीवनशैलीप्रति आकर्षण नेपाली समाजका लागि नौलो होइन। जानेर वा नजानेर नेपाली जनता त्यहाँ देखिने सामन्ती संस्कार सिको गर्न चाहन्छन्। ठालु प्रवृत्ति, नियम उल्लंघन गर्दा गर्व गर्ने, काम नगर्ने, अरूलाई हेप्ने र दबाउने, जिम्मेवारीबोध गर्न तथा जवाफदेही हुननपर्ने कुराले हामीलाई आनन्द दिन्छन्। हामीले यो पहिलेका राजा र तिनको जीवनशैलीबाट सिकेका हौँ र यो प्रवृत्ति नै देश विकासका लागि सबैभन्दा ठूलो बाधक हो। यो प्रवृत्ति यही समाजमा हुर्केका हाम्रा नेता, कर्मचारी र नागरिक अगुवामा पनि छ। अझ भन्ने हो भने यो प्रवृत्ति माथिबाट तल प्रवाह हुन्छ। ‘मेरो सरकार’ त्यही प्रवृत्तिको प्रतिनिधि हो जुन खतरनाक छ।

प्रकाशित: २६ वैशाख २०७६ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App